परराष्ट्रमन्त्रीको चीन भ्रमण

सडक विस्तार र सुरुङ अध्ययनबारे छलफल हुने

चक्रपथ दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरूङमार्ग र काठमाडौं–केरूङ रेलमार्गका विषय प्राथमिकतामा
विमल खतिवडा

काठमाडौँ — सरकारले चीनसँग सम्झौता भएर पनि अघि बढ्न नसकेका भौतिक परियोजनालाई अघि बढाउने गृहकार्य गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका क्रममा सडक र सुरुङको पूर्वसम्भाव्यता अध्ययनलाई कार्यान्वयनमा लैजानेबारे छलफल हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का मंगलबार चीन प्रस्थान गरेका छन् । 

सडक विस्तार र सुरुङ अध्ययनबारे छलफल हुने

चक्रपथ दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङमार्ग र काठमाडौं–केरुङ रेलमार्गको प्रारम्भिक अध्ययन भएर पनि काम अघि बढेको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले चीन सरकारले धेरै आयोजनामा प्रतिबद्धता जनाएकाले कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘के–के विषयमा छलफल गर्ने भन्ने केही कुरा भएको छैन,’ उनले भने, ‘यसमा परराष्ट्र मन्त्रालयबाटै होला, चीनले प्रतिबद्धता जनाएका आयोजना चाँडो कार्यान्वयनमा लग्नुपर्छ ।’

०७६ माघमा टोखा–छहरे सुरुङमार्गको प्रारम्भिक अध्ययन सकिएपछि अहिलेसम्म खासै प्रगति भएको छैन । चिनियाँ टोलीले काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको एक महिना लगाएर प्रारम्भिक अध्ययन गरेको थियो । सडक विभाग स्रोतका अनुसार दुई वर्षअघि पूर्वसम्भाव्यता अध्ययन गर्ने भन्दै समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कोभिडपछि थप काम अघि बढेको छैन । प्रारम्भिक अध्ययनका क्रममा टोलीले साइट अवलोकन, डाटा संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो ।

सुरुमा सुरुङको दूरी ७ किमि हुने भन्ने थियो तर टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । सुरुङ निर्माण भने चीन सरकारबाटै हुने विभागको भनाइ छ । यो खण्डमा सुरुङ निर्माण गर्नुको कारण रसुवागढी सडकको दूरी छोट्याउनु हो । सुरुङ निर्माण भएपछि करिब १२ किमि दूरी घट्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

यता काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको ५ महिना बित्न लाग्दा पनि काम अघि बढ्न सकेको छैन । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसमा दुई देशका उच्च अधिकारी सहमत थिए तर त्यसपछि अध्ययनका लागि चिनियाँ प्राविधिक टोली अहिलेसम्म नआएको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले जनाएको छ ।

चिनियाँ प्राविधिक टोली कोभिडका कारण आउन नसकेको मन्त्रालयको भनाइ छ । जेठ–असारमा चिनियाँ प्राविधिक टोलीसँग नेपालमा बैठक बस्ने भनिए पनि चीनमा कोभिड बढेकाले उताबाट आउन समस्या भएको मन्त्रालयका एक उच्च तहका कर्मचारीले बताए । काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमै भएको थियो ।

०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए । सहमति भएको दुई वर्ष बिते पनि यसमा अहिलेसम्म कुनै प्रगति छैन । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ । जसलाई छेडेर रेलमार्ग बनाइने मन्त्रालयले जनायो । यसको अध्ययन चीन सरकारले नै गर्नेछ ।

नेपाल र चीनबीचको रेलको सम्भाव्यता अध्ययन गर्न ५ देखि ६ वर्ष लाग्न सक्ने जनाइएको छ । यता, चक्रपथको दोस्रो खण्ड (कलंकी–नारायणगोपाल चोक) विस्तारबारे अझै अलमल कायमै छ । काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली गत मंसिरमा साइट भिजिट गर्न नेपाल आएको थियो । दोस्रो खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गरेर फर्किए पनि त्यसपछि यस खण्डको विस्तारमा थप प्रगति केही छैन । कोभिडले चीनबाट टोली आउन नसकेको सडक विभागले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?