नेपाली गाडी भारतीय पेट्रोल पम्पतिर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली गाडी भारतीय पेट्रोल पम्पतिर

भारतमा सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर छुट दिएपछि मूल्य सस्तो हुँदा त्यहाँका पेट्रोल पम्पमा सीमा आसपासका नेपाली सवारी 
माधव ढुंगाना

भैरहवा — गत जेठको मध्यसम्म यहाँका सीमावर्ती नेपाली पेट्रोल पम्पमा भारतीय मालवाहक र अन्य गाडीको लाइन लाग्थ्यो । अहिले अवस्था ठीक उल्टो छ । नेपाली मालवाहक गाडी र अन्य सवारीसाधनको लाइन सीमावर्ती भारतीय पेट्रोल पम्पमा लाग्ने गरेको छ । यहाँका धेरैजसो पेट्रोल पम्प सुनसान छन् ।

बजार क्षेत्रका पेट्रोल पम्पमा सामान्य लाइन देखिन्छ । भारत र नेपालको सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अन्तरले यस्तो परिस्थिति उब्जाएको हो ।

‘पहिला भारतमा भन्दा नेपालमा मूल्य सस्तो थियो । नेपाल आएका भारतीय मालवाहक गाडी र अन्य सवारीसाधन नेपालका पेट्रोल पम्पमा इन्धन भर्न आउँथे,’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका सदस्य तथा स्थानीय पेट्रोल पम्प व्यवसायी हरेराम कसौधनले भने, ‘यति बेला नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि त्यहाँका पेट्रोल पम्पमा नेपाली गाडीको लाइन लाग्ने गरेको छ ।’

गत जेठको मध्यसम्ममा भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २२ र डिजेल २० रुपैयाँ सस्तो थियो । भारतबाट विभिन्न औद्योगिक कच्चा पदार्थ, मेसिनरी सामान र अन्य व्यापारिक सामान ढुवानी गरी नेपाल आएका भारतीय मालवाहक गाडीले नेपालमै इन्धन भर्थे । भारतबाट ती सामानको ढुवानी गरी नेपालको भन्सारसम्म पल्टी गर्न आइपुग्ने भारतीय मालवाहक गाडीले पनि फर्किने बेला नेपालमै इन्धन भर्थे ।

भारतीय मालवाहक गाडीबाहेक जिप, कार, भ्यान, मोटरसाइकलजस्ता साना हलुका सवारीसाधन पनि नेपालको नजिकको सहरसम्म आउन भन्सार सुविधा हुने गरेकाले इन्धन भर्न नेपालमै आउँथे । अहिले नेपालमा भन्दा भारतमा पेट्रोल प्रतिलिटर ३० र डिजेलमा २७ रुपैयाँ सस्तो भएपछि नेपाली गाडी र अन्य सवारी सीमावर्ती भारतीय पेट्रोल पम्पमा पुग्ने गरेका हुन् । नजिकको भारतीय रेलवे स्टेसनसम्म नेपाली नम्बरका हलुका सवारीसाधन लैजान छुट छ ।

नेपाल आयात हुने नुन, फलाम, कोइला, चामललगायत सामान पनि नजिकको भारतीय रेलवे स्टेसनसम्म आउने भएकाले नेपाली मालवाहक गाडी त्यहाँसम्म ढुवानीका लागि जाँदा उतै इन्धन भर्छन् । सुनौली नाकाबाट करिब ४ किमिको दूरी पार गरेपछि भारतमा पेट्रोल पम्प छन् । नेपालतर्फ सिमानादेखि ४ सय मिटर दूरीदेखि नै पेट्रोल पम्प छन् । मूल्य अन्तरका कारण यतिबेला सुनौली नाकाबाट मात्रै प्रतिदिन १ सयभन्दा धेरै मालवाहक नेपाली गाडी इन्धन भर्न भारतीय पेट्रोल पम्पमा पुग्ने गरेको नेपाली पेट्रोलियम व्यवसायीको अनुमान छ ।

भारतीय पेट्रोल पम्पमा अहिले जिप, कार, भ्यान, मोटरसाइकल जस्ता हलुका सवारीसाधनको ताँती नै लाग्ने गर्छ । भन्सारमा भारतीय मालवाहक गाडीले पल्टी गरेको सामान लोड गर्न जाने नेपाली मालवाहक गाडीदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने नेपाली ट्यांकर सबैले भारतमै इन्धन भर्ने गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा भारतमा सस्तो भएपछि नेपालका सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ । रूपन्देहीको भलवारीस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका अनुसार असारदेखि पेट्रोलियम पदार्थको बिक्री आधाभन्दा धेरै परिमाणले घटेको हो । पेट्रोलियम पदार्थको नेपाल र भारतमा भएको मूल्य अन्तरबाहेक नेपालमा सञ्चालित विकास निर्माण निरन्तर सञ्चालन नहुनु र आर्थिक मन्दी पनि बिक्री कमी हुनुको कारण मानिएको छ ।

कार्यालयका अनुसार असारअघिसम्म भालवारीबाट प्रतिदिन ८ सय किलोलिटर (केएल) डिजेल र २ सय ९० किलोलिटर पेट्रोलको बिक्री थियो । अहिले यसको बिक्री प्रतिदिन डिजेल ३ सय किलोलिटर र पेट्रोल १ सय ८० किलोलिटरमा झरेको छ । ‘वर्षायाममा रोपाइँ हुने कारणले पनि अन्य बेलाभन्दा धेरै पेट्रोलियम पदार्थको बिक्री हुनुपर्ने हो,’ निगमका प्रादेशिक कार्यालय प्रमुख नवविनोद पोखरेलले भने, ‘बिक्री घट्नुको मुख्य कारण नेपाल–भारतबीच मूल्यमा परेको अन्तर, मुलुकमा सञ्चालित विकास निर्माण कार्यले निरन्तरता नपाउनु र आर्थिक मन्दी नै हो ।’ निर्माण व्यवसायीले निर्माण अवधि थप पाएको र उद्योगहरू पनि पूर्ण क्षमतामा सञ्चालन नभएकाले ढुवानी कम भएको पोखरेलको तर्क छ । यस कार्यालयमा पहिला दैनिक ६० भन्दा धेरै ट्यांकरले भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने गरेकामा अहिले १२/१५ वटाले मात्रै गर्ने गरेका छन् ।

पेट्रोलियम पदार्थमा बिक्री कम भएसँगै यसबाट सरकारले असुली गर्ने राजस्वमा पनि प्रतिकूल असर पारेको छ । हाल नेपालमा कायम रहेको प्रतिलिटर १ सय ८१ रुपैयाँ पेट्रोलको मूल्यमध्ये ६३ रुपैयाँ ३६ पैसा सरकारले राजस्व लिने गर्छ । १ सय ७२ रुपैयाँ प्रतिलिटर डिजेलमा ४७ रुपैयाँ ३ पैसा राजस्व लाग्ने गर्छ । यसअन्तर्गत भ्याट, भन्सार महसुल, प्रदूषण नियन्त्रण र पूर्वाधार शीर्षकमा कर लाग्ने गर्छ । ‘भारतमा सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर छुट दिएकाले मूल्य सस्तो पर्न गएको हो,’ पोखरेलले भने, ‘नेपालमा पनि कर छुट दिने हो भने स्वतः मूल्य सस्तो पर्न आउँछ ।’

जति धेरै पेट्रोलियम पदार्थको बिक्री बढ्छ, राजस्व पनि उत्तिकै असुली हुने भएकाले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा मूल्य फरक नपर्ने गरी मूल्य कायम गरिनुपर्ने व्यवसायी कसौधनले बताए । पेट्रोलियम पदार्थको बिक्री नेपालभरिमै ५० प्रतिशतभन्दा धेरैले कमी आएको र भारतमा मूल्य सस्तो भएकाले नेपालका सबै मूल भन्सार नाकाबाट दैनिक १ हजारभन्दा धेरै नेपाली मालवाहक गाडी, ३ सयभन्दा धेरै नेपाली ट्यांकर र हजारौं हलुका नेपाली सवारीसाधन इन्धन भर्न सीमावर्ती भारतीय पम्पमा पुग्ने गरेको उनको दाबी छ ।

प्रकाशित : श्रावण २५, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

जावलाखेलको इतिहास फुटबलजत्तिकै पुरानो

नेपालको घरेलु फुटबलमा असाध्यै योगदान रहेका क्लबमध्ये जावलाखेल युथ सबैभन्दा अगाडि आउने गर्छ
कान्तिपुर संवाददाता

काठमाडौँ — फुटबल खेलमात्र होइन, कथाको शृंखला हो । त्रिपुरश्वेर, असन कमलाक्षी र संकटादेखि मंगलबजार र जावलाखेलमा नेपाली फुटबलबारे अनेकन् अनौठा किस्सा सुन्न पाइन्छ । जावलाखेलमा फुटबलको इतिहास त झनै पुरानो, नेपालमा यो खेलको प्रवेशको इतिहास जत्तिकै पुरानो ।

त्यही जावलाखेलमा रहेको चिडियाखानाबाहिर चिया खाँदै पुराना दिनको फुटबल कथा सुन्नुपर्छ, क्या गजब लाग्छ । यस्तै एउटा कथा यो पनि हो धेरैपल्ट मीठो मानेर सुनिएको ।

भएछ केभन्दा एक पटक एउटा डच टिम फुटबल खेल्न भनेर नेपाल घुम्न आएको रहेछ, उसले जावलाखेल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव राखेछ । त्यसलाई नमान्नु पर्ने के नै थियो र ? तर एउटा समस्या भयो, खेलको ठीकअगाडिसम्म पनि जावलाखेलले जर्सी एक जोरको पनि व्यवस्था गर्न सकेन । ती दिन त्यस्तै थिए । डच टिमसँग भने आकर्षक जर्सी थियो नै । तर उनीहरू त्यतिबेला पनि अचम्ममा परे, जतिबेला समकक्षी नेपाली टिमसँग त जर्सी नै रहेनछ ।

तिनको मन पनि ठूलै थियो, आफूले लगाएको जर्सी जावलाखेलका खेलाडीलाई दिएछन् अनि आफू भने बिनाजर्सी खेलेछन् । खाली हाफ पाइन्टको भरमा । अब विपक्षी टिमले ‘टपलेस’ भएर खेलेको खेल कस्तो रह्यो होला ? अहिले कल्पनामात्र गर्न सकिन्छ । अहिले यो प्रसंग किनभन्दा जावलाखेल युथ क्लबले मंगलबार आफ्नो साधारणसभा राखेको थियो । त्यसअगाडि एक स्मारिका पनि विमोचन गरियो । पूरा अवसर भने अझ विशेष थियो । ठ्याक्कै दिनले त होइन, कम्तीमा वर्षले जावलाखेल युथ ५० वर्ष पुगेको थियो ।

अनि भएको के थियोभन्दा जत्तिकै समृद्ध इतिहास भए पनि औपचारिक रूपमा जावलाखेल युथ क्लबको स्थापना ०२९ सालमा भएको थियो । त्यस अर्थमा उसले आफ्नो स्वर्ण महोत्सव मनाउने अवसर पाएको थियो । तर, जावलाखेलमा फुटबलको इतिहास आफैंमा एक सय वर्ष हाराहारीमा पुरानो छ । जतिबेला नेपालमा राणा शासन चलिरहेको थियो, त्यतिबेला नै जावलाखेलमा फुटबल भित्रिइसकेको थियो । जावलाखेलको आफ्नै फुटबल टिम थियो ।

नेपाली फुटबल इतिहासको सबैभन्दा ठूलो र उत्तिकै पुरानो प्रतियोगितामा पर्छ सहिद स्मारक लिग । यो ००७ सालमा सहिद भएकाहरूको स्मृतिमा सुरु भएको प्रतियोगिता हो । त्यसको पहिलो संस्करण ०११ सालमा सुरु भएको थियो । त्यसको प्रतिस्पर्धी टिममध्ये एक थियो, यही जावलाखेल । जावलाखेल ललितपुरको त्यस्तो ऐतिहासिक स्थान हो, जसका आफ्ना धेरै विशेषता छन् । जस्तो कि चिडियाखाना । त्यसभित्रको रानीपोखरी । सूची बनाउँदा निकै लामो हुन्छ ।

सबैभन्दा ठूलो त यही जावलाखेलमा मनाइने रातो मछिन्द्रनाथको जात्रा नै भयो । यही त्यही स्थान हो, जहाँ मछिन्द्रनाथको भोटो देखाइन्छ । केही अगाडिसम्म यहाँ बाघको द्वार थियो, जुन अब रहेन ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अब त्यसको पुनःस्थापना गर्ने योजना सुनाइहाले, जावलाखेलको स्वर्ण जयन्तीको अवसरमा । भनेपछि अब जावलाखेलमा फेरि ठुल्ठूला दुई बाघको मूर्ति पनि देख्न पाइनेछ । यी सबैबीच जावलाखेलको एउटा मुख्य परिचय फुटबल नै हो, जुन आफैंमा किंवदन्ती जत्तिकै सुनिन्छ ।

क्रिकेट र भलिबल पनि

एउटा तथ्य के पनि हो भने जावलाखेल युथ क्लबसँग फुटबलमात्र जोडिन्न । क्रिकेट, भलिबल र टेबलटेनिस पनि जोडिन्छ । उत्तिकै मात्रामा ब्याडमिन्टन पनि । क्लबको स्थापनाको केही वर्षमै भलिबल पनि उत्तिकै जोडतोडले सुरु गरिएको थियो । क्लबको आफ्नै कोर्ट छ अचेल । कुनै समय नेपालको राष्ट्रिय भलिबलमा वाग्मतीको बाहुल्य हुँदा त्यस टिममा जावलाखेलकै खेलाडीको वर्चस्व हुन्थ्यो । जावलाखेलबाट अनेक अब्बल दर्जाका भलिबल खेलाडी निस्किएका छन् ।

जतिबेला नेपाली क्रिकेट अहिलेजस्तो स्वरूपमा थिएन । यो खेललाई नेपालमा हुर्काउने–बढाउने केही क्लबमध्ये एक जावलाखेल थियो । नेपाली क्रिकेटको इतिहासमा टुँडिखेलमा हुने प्रतियोगिताका ठूलो न ठूलो महत्त्व छ । यस्ता प्रतियोगितमा नियमित खेल्ने टिममा एउटा जावलाखेल पनि थियो । विश्वास नहुन सक्छ, सन् ७० को दशकतिर काठमाडौंमा ‘ए’ र ‘बी’ डिभिजन गरेर क्रिकेटका लिग प्रतियोगिता हुन्थे । यिनै प्रतियोगिताले त काठमाडौंमा क्रिकेटको जग बसालेको थियो ।

जावलाखेलले ०३० सालमै ‘बी’ डिभिजनको उपाधि जितेको थियो । सन् ८० को दशकमा जावलाखेलले एकपछि अर्को अनेक क्रिकेटका प्रतियोगिता खेल्यो । त्यो समयमा काठमाडौंमा हुने प्रतियोगिताका लागि भारतबाट रणजी ट्रफी खेल्ने खास–खास खेलाडीलाई झिकाउने पनि गरिन्थ्यो । यसैक्रममा केही भारतीय खेलाडीले जावलाखेलबाट खेले । तर, आजकल जावलाखेल क्रिकेटमा सक्रिय छैन । सायद तत्काल कुनै योजना पनि छैन होला ।

वास्तविक परिचयमा फुटबल

अरू खेलमा जावलाखेलले हात हाले पनि क्लबको मुख्य परिचय भनेको फुटबल नै हो । यसमा अरू खेलले चित्त दुखाउनुपर्दैन । नेपालको घरेलु फुटबलमा असाध्यै योगदान रहेका क्लबमध्ये जावलाखेल सबैभन्दा अगाडि आउने गर्छ । क्लबले अहिलेसम्म फुटबलमा तय गरेको यात्राका अनेक अमूर्त कथाहरू सुन्न पाइन्छ । यी कथाले भन्ने गर्छ, जावलाखेल फुटबललाई असाध्यै माया गर्नेहरूको क्लब हो । यही क्लबका मेघराज केसीको भनाइमा यी ‘फुटबलका पागलहरू’ हुन् ।

पोखरेली जय थापाले जावलाखेलबाट लामै समय फुटबल खेले । उनी भर्खर भर्खर काठमाडौं झर्दा खेलाडी हुन् । जहाँ ‘डाइट’ नपुग्ला भनेर घरको खानासम्म लाने पनि साथीभाइ थिए । जय यस्तै कथा गर्वले सुनाउने गर्छन् । त्यसो किन हो त, जावलाखेलको जत्तिकै लामो इतिहास भए पनि घरेलु फुटबलमा यो उति साह्रो सफल क्लब भने होइन । विश्वास नहुन सक्छ, क्लबले अहिलेसम्म मोफसलमा तीन नकआउट प्रतियोगिता मात्र जितेको छ । काठमाडौंमा केही जितेको छैन । लिग त झन टाढैको कुरा । लिगमै पनि जावलाखेल न उपाधि जित्ने टिम हो, न त झर्ने नै । अधिकांश समय औसत प्रदर्शन । नेपाली राष्ट्रिय टोलीबाट खेलेका खेलाडी पनि जावलाखेलका कमै छन् । बरू त्यस्ता खेलाडी धेरै छन्, जसले भाग्य वा अरू के कारणले हो राष्ट्रिय टोली नजिक पुगेर पनि खेल्न पाएनन् । त्यस अर्थमा जावलाखेल फुटबलमा ‘अन्डर एचिभर्स’ नै हो । तर जावलाखेलसँग मेघराजसँगै किशोर केसी र सुनील श्रेष्ठ जस्ता प्रशिक्षक छन्, जसले नेपाली फुटबलका एकपछि अर्को पुस्ताका खेलाडी हुर्काएका छन्, बढाएका छन् ।

तिनका कुरा सुन्नुपर्छ, तिनका योगदानबारे कुरा हुनुपर्छ, त्यसलाई सुन्न मज्जा आउँछ । उनीहरू जस्ता फरक समयमा अरू पनि धेरै होलान् । उनीहरू खासमा सिनेमाका सह–नायक जस्ता पात्र हुन्, जसले पूरा कथामा महत्त्वपूर्ण भूमिका त खेल्छ, तर अलिकति ओझेलमा पनि पर्छ । जावलाखेलको फुटबल स्वयं यस्तै हो । नत्र जावलाखेलको फुटबलमा त्याग, तपस्या, समर्पणका अनेक कथा सुन्न पाइन्छ । जावलाखेलको फुटबल त्यसै बनेको होइन ।

तर, अचेल कलह, बेमेल, असन्तोष, दिक्दारीका अनेक कथा जावलाखेलभित्र पर्याप्त सुन्न पाइन्छ । फुटैफुट छ भनिन्छ । सायद जहाँ त्याग, तपस्या, समर्पण हुने गर्छ, त्यहाँ कलह, बेमेल, असन्तोष पनि हुने गर्छ कि ? एउटा कल्पना गरौं, मन नमिलेका, मनभित्र दुःख र पीडा लुकाएका सबै जावलाखेलका फुटबललाई माया गर्ने साथीभाइहरू एकजुट हुने हो भने के होला त ? यो प्रश्नमा अर्को प्रश्न जोडिन्छ । के यो सम्भव छ र ?

प्रकाशित : श्रावण २५, २०७९ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×