अब सार्वजनिक बिदाको दिन पनि लाइसेन्सको ट्रायल हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सवारी चालक अनुपत्र (लाइसेन्स) लिनका लागि चाप बढेपछि वाग्मती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुले सार्वजनिक बिदाको दिन पनि ट्रायल परीक्षा सुरु गर्ने भएका छन् । वाग्मती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई परिपत्र गर्दै आवेदकको संख्या बढी भएका कार्यालयमा कार्यालय समयभन्दा अघि बिहान र सार्वजनिक बिदाको दिन पनि ट्रायल गराउन भनेको हो ।

अब सार्वजनिक बिदाको दिन पनि लाइसेन्सको ट्रायल हुने 

मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङले बिहान ७ बजेबाट कार्यालय सञ्चालन गरी ट्रायल सेवा जारी राखेको छ । अन्य कार्यालयहरुले पनि बिहानबाट ट्रायल सुरु गराउने तयारीमा छन् । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङका प्रमुख सञ्जय थापाका अनुसार सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७८, आएपछि बिहानैबाट सेवा दिन थालिएको छ ।

‘बिहानैदेखि सेवाग्राही लाइनमा बसेको देखेपछि समस्या नहोस् भनेर कार्यालयले बिहानैबाट सेवा दिन थालेको हो,’ कार्यालय प्रमुख थापाले भने, ‘पहिला कार्यविधि आउनासाथ डेढ महिनासम्म बिहान सेवा सुरु गरिएको थियो, अब शनिबार पनि बिहान ७ बजेबाटै ट्रायल परीक्षा लिइने छ ।’ अन्य सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको चापलाई मध्यनजर गर्दै ट्रायल परीक्षा गरिने उनको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन र बिहान बेलुका पनि सेवा सञ्चालन गर्न कार्यविधि बनाइएको हो । ‘कार्यविधि अनुसार बिदाको दिन र अतिरिक्त समयमा काम गर्दा कर्मचारीलाई अतिरिक्त सुविधा दिइने छ,’ उनले भने, ‘त्यसैले विदाको दिन पनि ट्रायल सेवा सुरु गर्ने भन्दै वाग्मती प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरिएको छ ।’ उनका अनुसार उपत्यकामा रहेका चारवटा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप अनुसार बिदाको दिन पनि काम सुरु गर्नुपर्ने छ ।

प्रकाशित : श्रावण २४, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?