भिरालो जमिनमा रहरले रोपेको किवीबाट अहिले वार्षिक ७ लाख कमाइ - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिरालो जमिनमा रहरले रोपेको किवीबाट अहिले वार्षिक ७ लाख कमाइ 

चन्द्र कार्की

तेह्रथुम — लालीगुराँस नगरपालिका ९ सोल्मा पुरुन्दिनकी तिला पोखरेलले पाँच वर्षसम्म जनप्रतिनिधिको भूमिका निर्वाह गरिन् । गाउँमै खेती किसानी गर्दागर्दै पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी पोखरेल लालीगुराँस नगरपालिकाको उपमेयरमा निर्वाचित भइन् । 

जनप्रतिनिधि हुनुअघि उनले गाउँको पुर्ख्याैली भिरालो जमिनमा किवी खेती सुरु गरेकी थिइन्, श्रीमान् देवी पोखरेलले साथ दिएका थिए । पोखरेल दम्पत्तिको किवी बगान अहिले जिल्लाकै उत्कृष्ट कहलिएको छ । आठ वर्षअघि टेलिभिजनमा किवी खेतीबारे प्रसारण भएको कार्यक्रम हेरेपछि पोखरेल दम्पत्तिमा बिरुवा लगाउने रहर जाग्यो । उनले आफ्नो भिरालो पाखो बारीमा किवीका बिरुवा लगाउने निर्णय गरिन् । सुरुमा इलामबाट २ सय वटा किवीको बिरुवा ल्याएर भिरालो जमिनमा खेती सुरु गरिन् । अहिले भने उनले नर्सरी नै तयार गरी किवीका सयौं बिरुवा बेच्छिन् ।

किवीको खेती सुरु हुँदै गर्दा जनप्रतिनिधिको पनि भूमिका सम्हाल्न पुगेपछि उनले अन्य किसानलाई पनि यसबारे जानकारी गराइन् । उनले खेती सुरु गर्दा जिल्लामा थोरै किसानले मात्र हात हालेका थिए । विभिन्न कार्यक्रम र संचालित योजनाहरुको अनुगमन निरीक्षणमा पुग्दा जिल्लामा किवी खेती गर्न सकिने धेरै जमिन उनले देखिन् । ‘किवी खेतीबारे मैले जानेको प्रविधि किसानलाई पनि सिकाएँ’ पोखरेलले भनिन् । त्यतिबेला किवी फल जिल्लामा नौलो भए पनि अहिले धेरै किसान लागेका छन् । जिल्लाका लालीगुराँस र म्याङलुङ नगरपालिका, आठराई, फेदाप, मेन्छ्यायाम र छथर गाउँपालिका गरी ६ वटै स्थानीय तहका किसानले किवीको व्यवसायिक खेती थालेका छन् ।

अघिल्लो वर्ष ३ लाख रुपैयाँको किवी फल बिक्री गरेकी पोखरेलले यो वर्ष ७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकी छिन् । हाल प्रतिबोट ७० देखि १ सय केजीसम्म फल फलेको पोखरेलको अनुमान छ । जेठ महिनामा चिचिला लागेको किवी कात्तिकदेखि माघ महिनासम्ममा फल टिपिसक्नु पर्छ । पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा लगाउने उपयुक्त समय हो । श्रीमानको नामबाट दर्ता भएको ‘देवी किवी फर्म २० रोपनी क्षेत्रफलमा फैलिएको छ । बगानमा रेड र ग्रीन जातका किवी रोपिएको छ ।

बगानमा किवीका लहरा स्याहार्दै गरेको अवस्थामा भेटिएकी पोखरेल लटरम्म फलेको फल देखेरै खुसी छिन् । तर किवी कहाँ लगेर बेच्ने भन्ने चिन्ता उनमा छ । सुरुमा रहरले रोपेको किवीको फलबाट अहिले राम्रै आम्दानी हुन थालेको छ । कृषिबाटै करोडपति बन्न सकिन्छ भन्ने आश पोखरेल दम्पत्तिमा पलाएको छ । ‘उत्पादनको सुरु वर्षमा त मूल्य राम्रै थियो, त्यसयता भने राम्रो मूल्य लिएर बेच्न पाएको छैन’ उनले भनिन् । किवी फलको मूल्य कम हुँदा सोचेजस्तो फाइदा लिन नसकेको उनको बुझाइ छ । केही वर्षअघिसम्म प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुने किवी अहिले भने १ सय ५० रुपैयाँमा पनि बिक्री हुन नसकेको उनको गुनासो छ । राम्रो मूल्य नपाउनु र बजारको सुनिश्चितता नहुँदा यो वर्षको फल कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता रहेको उनले बताइन् ।

अहिले जिल्लाका किसान किवी फलका लागि बजार खोज्न लागेका छन् । किवीको रक्सी, वाइन, जुस लगायतका पेय पदार्थ समेत बनाएर बिक्री गर्न सकिने पोखरेलको भनाइ छ । रोग, किरा नलागेको, एउटै बोटमा राम्रो फल्दा २ सय किलोसम्म उत्पादन हुने गरेको कृषि प्राविधिकको भनाइ छ । एक किलोमा १४ देखि २० दाना चढ्छ । वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैत महिनासम्म रहने भएकाले पनि यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुने गरेको व्यापारी बताउँछन् ।

अमेरिका, बेलायत लगायत युरोपका विभिन्न देशमा महँगो मूल्यमा बिक्री हुने किवीको जाइका, इसिमोड लगायतका विदेशी संस्थासँग मिलेर अध्ययन गरेपछि मात्र नेपालमा खेती सुरु गरिएको हो । दक्षिण चीनमा पत्ता लागेर खेती सुरु भएको किवीका लागि हाल न्युजिल्यान्ड प्रख्यात मानिन्छ । न्युजिल्यान्डको राष्ट्रिय चराको नाम नै किवी भएकाले त्यसैबाट फलको नाम पनि किवी हुन गएको विभिन्न सन्दर्भ ग्रन्थमा उल्लेख छ । नेपालमा भने यसलाई ठेकीफलका नामले पनि चिनिन्छ ।

कृषि ज्ञानकेन्द्र धनकुटाका अनुसार फ्रान्स, चिली, इटाली, जापान, क्यानडा, इरान, कम्बोडिया लगायत देशमा किवीको माग उच्च छ । समुन्द्री सतहबाट ८ सय देखि ३ हजार मिटर उचाइसम्म यो फलको खेती गर्न सकिन्छ । सबै प्रकारका पौष्टिक तत्त्व पाइने किवीलाई संयूक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले ‘फलहरूकै राजा’ का रूपमा सुचीकृत गरेको छ । यसको बजार सम्भावना धेरै भए पनि ग्रेडिङ र ट्रेडमार्कमा भने समस्या रहेको किसानको भनाइ छ । जिल्लामा करिव ५ सय किसान किवीको व्यावसायिक खेतीमा लागेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय तेह्रथुमले जनाएको छ । किवीको बजार विश्वभर रहेकाले किसानले बजारीकरणमा चिन्ता लिनु नपर्ने प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आश्वासन दिएको छ । गुणस्तरीय उत्पादन र व्यवसायिकतामा ध्यान दिन सके यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने केन्द्रको भनाइ छ । नेपालमा ८ किसिमका किवीको खेती हुँदै आएको छ । हार्डी, ब्रुण, ऐलिसन, मन्टी, रेड, ग्रीन, गोल्डेन, मिनी र एबोड किवीको खेती नेपालमा हुने गरेको छ ।

प्रकाशित : श्रावण २४, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

‘सकर क्लिनिक’ मा दोस्रो पुस्ताका नेपाली

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाका नौ वर्षीय रोनव पाण्डे, आदि अधिकारी र आर्नब लामिछाने हरेक साता ‘सकर क्लिनिक’ मा व्यस्त भेटिन्छन् । फरक फरक स्थानीय फुटबल क्लबबाट खेल्ने उनीहरुलाई यस क्लिनिकले सीप र ज्ञान मात्रै दिएको छैन, फुटबलमै भविष्य खोज्ने आधार समेत तयार गरिदिँदैछ ।

रोनव, आदि र आर्नबजस्ता ४० बालबालिका अहिले हरेक साता दक्षिण अस्ट्रेलियामा आयोजना हुने फुटबल प्रशिक्षण (सकर क्लिनिक) मा नियमित सहभागी हुन्छन् । जसमध्ये १३ जना मिनिरुज अर्थात् १२ वर्षमुनिका बालबालिकाको टिमबाट राज्यस्तरीय फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेका छन् भने अन्य उक्त टिममा छनोट हुने लक्ष्यका साथ आएका छन् । केही बालबालिका त भर्खर फुटबललाई लात हान्न सक्ने मात्र पनि छन् । उनीहरुलाई दक्ष र तालिमप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने व्यवस्था मिलाइएको छ ।

अस्ट्रेलियामा नेपालीको दोस्रो पुस्ता हुर्किएसँगै उनीहरुलाई फुटबलको क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो प्रशिक्षण सञ्चालन हुँदै आएको छ । यहाँस्थित एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी)ले विगत ४ वर्षदेखि हरेक वर्ष दोस्रो पुस्ताका नेपालीलाई फुटबलको माध्यमबाट अघि बढाउने उद्देश्यका साथ यस फुटबल क्लिनिकको आयोजना गर्दै आएको छ । ५ देखि १० वर्षसम्मका बालबालिका सहभागी यस प्रशिक्षणमा दक्षिण अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका नेपाली बालबालिकाले सहभागिता जनाइरहेका छन् । ८ सातासम्म हुने यस तालिमको मुख्य उद्देश्य नेपाली समुदाय विशेष गरि दोस्रो पुस्तालाई अस्ट्रेलियाली फुटबलमा हुने अवसरका लागि तयार गर्नु र सामाजिक क्रियाकलापमा सक्रिय बनाउनृुु रहेको क्लबले जनाएको छ ।

एकेएफसीद्वारा १० वर्षसम्मका बालबालिका लागि सञ्चालित ‘सकर क्लिनिक’ मा सहभागी नेपाली बालबालिका । तस्बिर : नारायण खड्का

प्रशिक्षणको आयोजना गरिरहेको एकेएफसीका महासचिव राजन लामिछानेले ४० बालबालिकामध्ये १३ जना बालबालिकाले राज्यस्तरीय मिनिरुज फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेको र आउने वर्षमा अर्काे नेपाली मिनिरुज टिम बनाउने लक्ष्य राखेको जानकारी दिए । ‘हाम्रा दोस्रो पुस्ताका बालबालिकाले यहाँको फुटबलमा राम्रो अवसर पाउने देखेरै हामीले उनीहरुलाई अझ अवसर र प्रेरणा दिन यो क्लिनिकको सुरुवात गरेका हौं,’ उनले भने । एकेएफसी आफैं पनि यहाँको राज्यस्तरीय लिग प्रतियोगिता खेलिरहेको क्लब भएकाले समेत बालबालिकालाई प्रोत्साहित गर्न सहज भएको उनको भनाइ छ । उनले आफ्ना बालबालिकाको प्रशिक्षणमा अभिभावकले समेत खुलेर सहयोग गरिरहेको जानकारी दिए ।

अस्ट्रेलियामा पछिल्लो समयमा बालबालिकाले फुटबलमा राम्रो स्थान बनाउँदै गएका छन् । सिड्नी, मेलबर्न लगायतका स्थानमा रहेका दोस्रो पुस्ताका नेपाली किशोरहरु राम्रा फुटबल क्बलमा आबद्ध भएर राज्यस्तरको प्रतियोगिता खेलिरहेका छन् । अध्ययनका साथै फुटबलको माध्यमबाट राज्यस्तरबाट प्रतिनिधित्व गर्दै विदेशसम्म प्रतियोगिता खेल्न जाने गरेका छन् । त्यसका साथै राज्यस्तरमा हुने फुटबल प्रतियोगितामा आफ्नै टिम बनाएर समेत नेपाली युवाले प्रतिस्पर्धा गर्दै आएका छन् ।

फुटबल प्रशिक्षण र प्रतियोगिताको माध्यमबाट खेलका लागि अवसर मात्र सृजना नभएर नेपाली मूलका बालबालिकाबीच भेट तथा छलफल हुने गरेको छ । यसले उनीहरुलाई नेपाली भाषा तथा संस्कृतिका बारेमा जान्ने अवसर सृजना भएको र सामाजिक सद्भावका बारेमा अझ जानकारी हुने भएकाले समेत यो प्रशिक्षण सफल बन्दै गएको हो । नेपाली बालबालिका मात्र सहभागी यस प्रशिक्षणमा अन्य देशका अभिभावकले समेत चासो र इच्छा व्यक्त गरिरहेको लामिछानेले बताए । तर नेपाली बाहेक अन्य मूलका बालबालिकालाई प्रशिक्षणमा समेट्ने तत्काल कुनै लक्ष्य नरहेको उनले सुनाए ।

प्रकाशित : श्रावण २४, २०७९ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×