कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मलको पर्खाइले रोपाइँ ढिलो

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि मन्त्रालयका अनुसार गत साउन १२ सम्म मुलुकभर ८६.३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष साउन १२ सम्म ९५.६० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । ‘गर्मीका कारण धान उत्पादन बढ्नुपर्ने हो । तर बिरुवालाई पानी पुगेको छैन । बिरुवाले सहन नसक्ने गर्मी छ,’ कृषिविज्ञ कृष्ण पौडेलले भने, ‘रोपाइँ ढिला हुँदा बीउ बूढो भई उत्पादन क्षमता घट्छ ।’

मलको पर्खाइले रोपाइँ ढिलो

रासायनिक मलको उचित व्यवस्थापन, बीउको अवस्था, रोपाइँ क्षेत्रफलमा बाढी/पहिरोजस्ता कारणले पनि उत्पादनमा असर गर्छ । यसपालि किसानले समयमै रासायनिक मल पाएनन् । तराईका कतिपय ठाउँमा रोपाइँका लागि पानीको समेत अभाव भयो । ‘अहिले पानीको ठेगान छैन, तराईका धेरै ठाउँमा पानी छैन । किसानले रासायनिक मल नपाउँदा सरकारले वैकल्पिक व्यवस्था पनि गर्न सकेन,’ पौडैलले भने ।

जानकारका अनुसार बीउको जातअनुसार २० देखि २५ दिनमा रोप्नुपर्छ । बीउ महिना कट्दा बूढो हुन्छ । त्यसपछि उत्पादन राम्रो हुँदैन । मुलुकभर १५ लाख ४ हजार ४ सय ८६ हेक्टरमा रोपाइँ हुने गरेको मन्त्रालयको तथ्यांक छ । साउन १२ सम्म १२ लाख ९८ हजार ९ सय ३५ हेक्टरमा रोपाइँ भएको छ । सबैभन्दा धेरै सुदूरपश्चिममा ९२.८ प्रतिशत रोपाइँ भएको छ । मुलुकमा २६ लाख ४१ हजार हेक्टर कृषियोग्य भूमिमध्ये १७ लाख ६६ हजार हेक्टर मात्रै सिँचाइयोग्य छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार ०७७/७८ सम्म १५ लाख ९ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । बाँकी अकासे बालीमै निर्भर हुनुपर्ने बाध्यता छ ।

खाद्यका लागि कृषि अभियान संयोजक उद्धव अधिकारीले मुख्यतः सिँचाइ र मलकै कारण समयमै रोपाइँ हुन नसकेको बताए । ढिला रोपाइँले धानबालीको उत्पादन त्यति उत्कृष्ट नहुने उनको दाबी छ । ‘मनसुनमा आधारित रोपाइँ भए पनि सामान्यतया असारको सुरुदेखि साउन पहिलो साता उपयुक्त समय हो । त्यसपछि लगाइएको धानबालीको उत्पादन राम्रो हुँदैन,’ उनले भने ।

कुल जीडीपीमा कृषि क्षेत्रको योगदान २५ प्रतिशत छ । कृषि जीडीपीमा धान र परालको योगदान १५ प्रतिशत छ । कुल जीडीपीमा धानको योगदान भने ३.०३ प्रतिशत छ । ढिला रोपाइँकै कारण अहिले नै कति प्रतिशत उत्पादन घट्छ भनेर अनुमान गर्न नसकिने कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए । अबको एक महिनामा अनुमान गर्न सकिने उनको भनाइ छ । ‘धानको रोपाइँबाहेक अन्य कारक पनि हुन्छन् । गत वर्ष समयमै मनसुन सक्रिय र उत्पादन राम्रो भए पनि असोज ३१ र कात्तिक १/२ को बेमौसमी वर्षाले झन्डै ५ लाख टन क्षति गर्‍यो । बजारमा मल अभाव देखिए पनि अनौपचारिक रूपमा भित्रिएको सुनिन्छ । कतिपय किसानले मल पाएका छन्,’ रेग्मीले भने ।

भारतमा पनि खेती घट्यो

विश्वको सबैभन्दा ठूलो धान–चामल निर्यातकर्ता भारतमा यस वर्ष तीन वर्षयताकै न्यून धान खेती भएको छ । मनसुनी वर्षा पर्याप्त नहुँदा यस वर्ष जुलाई अन्तिमसम्ममा रोपाइँ पोहोरको तुलनामा १३.२७ प्रतिशतले कमी आएको भारतको कृषि एवं किसान कल्याण मन्त्रालयले जनाएको छ ।

धान उत्पादन घट्दा भारतको आन्तरिक बजारमा त असर पर्छ नै, उसमाथि आश्रित अरू देश पनि समस्यामा पर्नेछन् । भारतले १ सयभन्दा बढी देशमा धान–चामल निर्यात गर्छ । विश्वभर हुने धान तथा चामलको कारोबारमा भारतको मात्रै करिब ४० प्रतिशत हिस्सा छ । नेपाल, बंगलादेश, चीन र मध्यपूर्वी देश उसमाथि बढी निर्भर छन् ।

भारतमा खासगरी बंगाल र उत्तरप्रदेशमा पर्याप्त वर्षा नहुँदा धान खेती न्यून भएको हो । यी दुई राज्यले मात्र भारतभर उत्पादन हुने धानको करिब एक चौथाइ हिस्सा ओगट्छन् । ‘आजतक’ का अनुसार उत्तरप्रदेशमा सबैभन्दा धेरै ३५.२९ प्रतिशतले कमी आएको छ । त्यस्तै छत्तिसगढमा १९.६९, मध्यप्रदेशमा ९.६३ र बिहारमा ८.७७ प्रतिशतले धानखेती घटेको छ । नेपालमा जस्तै भारतमा पनि धानखेती मनसुनी वर्षामा निर्भर छ । अगस्ट र सेप्टेम्बरमा पनि रोपाइँ हुने भएकाले खेती केही बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?