कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटक नआउँदा सुनसान गाउँ

आश गुरुङ

लमजुङ — पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा २ महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने प्रतिदिन दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । त्यसैले प्रतिदिन पर्यटकको स्वागत गर्दै आएकी कमला घले अहिले फुर्सदिली छन् । उनी मात्रै होइन, ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन् ।

पर्यटक नआउँदा सुनसान गाउँ

‘धान–कोदो रोपेर सकियो । धेरैले रोप्न छाडेका छन् । पर्यटक आएपछि त्यहींबाट निर्वाह हुन्छ,’ घलेले भनिन्, ‘बर्खा भयो । पर्यटक आएका छैनन् । हामी फुर्सदमै छौं । कमाइ शून्य छ ।’ पर्यटक हुँदा कहिलेकाहीं मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेकामा अहिले आम्दानी शून्य रहेको उनको भनाइ छ । कुनै दिन पर्यटक आउँदैनन् । कुनै दिन दुई/चार जना आउँछन् । असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताए । ‘बर्खा भयो । बाटो राम्रो छैन । पानी परेको पर्‍यै छ,’ उनले भने, ‘पर्यटक आउनै गाह्रो भयो ।’ भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घलेगाउँमा ४४ होमस्टे छन् । तिनमा ३ सयभन्दा बढी पर्यटक अटाउँछन् । यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ । पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

‘पर्यटक आउन खोज्छन् । फोन गर्छन् । बाटो राम्रो छैन भनिरहेको छु । केही भने हिँडेरै, मुस्किलले गाडी चढेरै गाउँ आइपुग्छन्,’ उनले भने । कहिलेकाहीं २ सय पर्यटक एकैपटक आउने भुजुङ अहिले सुनसान छ । गाउँले धान र कोदो रोपेर केही दिन फुर्सदमा छन् । केहीको गोडमेल सुरु भएको छ । ‘अब मौसम र बाटो सफा भएपछि भदौबाट पर्यटक आउलान्,’ उनले अपेक्षा गरे । घलेगाउँ, भुजुङसँगै काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् । लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन । खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?