कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

१५ महिनामा डलर कार्डमार्फत बाहिरियो ८८ करोड

३८ हजार ६६ डलर कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर लोड भएको छ, ६१ लाख ३३ हजार अमेरिकी डलर खर्च
यज्ञ बञ्जाडे

काठमाडौँ — अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने प्रिपेड कार्डबाट भएका भुक्तानीमध्ये धेरैजसो सामाजिक सञ्जालमा गरिएको विज्ञापन, विभिन्न स्कुल–कलेजबारे जानकारी तथा सेवा, अन्तर्राष्ट्रिय जर्नल खरिद/अध्ययन, सूचना प्रविधिसम्बन्धी सेवालगायतको भुक्तानी गर्न उपयोग भएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको समयमा डलर कार्डमार्फत पनि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको भन्दै राष्ट्र बैंकको आलोचना हुन थालेपछि गरिएको उक्त अध्ययनले यस्तो देखाएको हो ।

१५ महिनामा डलर कार्डमार्फत बाहिरियो ८८ करोड

राष्ट्र बैंकका अनुसार गत असारसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएका छन् । वाणिज्य बैंक र विकास बैंकले उक्त कार्ड जारी गर्न पाउने व्यवस्था छ । तर हालसम्म २३ वटा वाणिज्य बैंकले मात्र कार्ड जारी गरेका छन् । ती कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर (करिब १ अर्ब १९ करोड १९ लाख रुपैयाँ) भरिएको (लोड गरिएको) छ । भरिएको मध्ये ६१ लाख ३३ हजार अमेरिकी डलर (करिब ७७ करोड ८८ लाख ९१ हजार रुपैयाँ) खर्च भएको राष्ट्र बैंकले जनाएको छ । ०७८ असारसम्म ८ हजार ४ सय ९३ वटा कार्ड जारी भएका थिए । ती कार्डमा १६ लाख ६८ हजार अमेरिकी डलर लोड भएकामा ४ लाख ८९ हजार डलर खर्च भएको थियो । ०७७ चैतदेखि डलर कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यसकारण ०७८ असारसम्म थोरै कार्ड जारी भएको र रकम पनि कम खर्च भएको देखिएको थियो । तर गत असारसम्म आइपुग्दा डलर कार्डबाट मात्र करिब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिएको छ ।

आन्तरिक प्रयोजनका लागि राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले ‘अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने प्रिपेड कार्डबाट भएको कारोबार सम्बन्धमा’ विस्तृत अध्ययन गरेको छ । सर्वसाधारणका लागि सार्वजनिक नगरिएको उक्त अध्ययनमा गत चैतसम्मको तथ्यांक समावेश गरिएको छ । प्रतिवेदनले डलर कार्ड प्रयोगकर्तामध्ये २० देखि ३० वर्ष उमेर समूहका र त्यसपछि ३० देखि ४० वर्ष उमेरका नागरिक धेरै रहेको पनि औंल्याएको छ । कार्डको उपयोग संस्थागतभन्दा पनि व्यक्तिगत धेरै रहेको पनि अध्ययनले औंल्याएको छ ।

०७७ चैतदेखि नेपालबाटै अनलाइनमार्फत अमेरिकी डलरमा प्रिपेड कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको थियो । उक्त व्यवस्था गर्दा कार्डमार्फत विदेशी मुद्रा बाहिरिने मात्र नभई भित्रिने (इनफ्लो) दाबी पनि गरिएको थियो । तर, राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले कार्डको कारोबारमार्फत विदेशी मुद्रा भित्रिएको सम्बन्धमा नहेरिएको स्रोतले बताएको छ । यद्यपि राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रामु पौडेलले केही परिमाणमा विदेशी मुद्रा भित्रिएको दाबी गरे । ‘उक्त अध्ययनमा कार्डमार्फत नेपाल भित्रिएको विदेशी मुद्राबारे हेरिएन । तर तथ्यांक हेर्दा सूचना प्रविधिमार्फत केही विदेशी मुद्रा भित्रिएको देखिन्छ,’ उनले भने, ‘कार्डमार्फतको ठूलो रकम सामाजिक सञ्जालमा गरिएको विज्ञापन, विभिन्न स्कुल–कलेजबारे जानकारी तथा सेवा, अन्तर्राष्ट्रिय जर्नल खरिद/अध्ययन, सूचना प्रविधिसम्बन्धी सेवालगायतको भुक्तानीमा उपयोग भएको देखियो, जुन अपेक्षित थियो ।’ कार्डमार्फत भएका भुक्तानी नेपालमा कानुनले वञ्चित गरेका वस्तु तथा सेवा, क्रिप्टोकरेन्सीलगायत विभिन्न प्रकारका डिजिटल मुद्रालगायत कारोबारमा उपयोग नभएको देखिएको उनले दाबी गरे । ‘अध्ययनमा हामीले निकै सूक्ष्म तरिकाले कारोबारको सबै पक्ष नियालेका छौं,’ उनले भने, ‘कहीँकतै कानुनले वञ्चित गरेका स्थानमा कारोबार भएको देखिएन ।’ कार्डमा ‘लोड’ भएको रकमको कारोबार सम्बन्धित बैंकलाई निकै जिम्मेवार बनाइएकाले ग्राहकले सजिलै गलत प्रयोजनमा उक्त रकम खर्च गर्न नसक्ने पनि पौडेलले बताए ।

विदेशी मुद्रा घट्नुमा एक कारण डलर कार्ड पनि भएको विश्लेषण हुन थालेपछि राष्ट्र बैंकले यो अध्ययन गरेको हो । प्रतिवेदनले कार्डमार्फतको भुक्तानी गलत ठाउँमा प्रयोग भएको नदेखिएपछि हाललाई उक्त नीतिलाई निरन्तरता नै दिने सोचमा राष्ट्र बैंक पुगेको स्रोतले बताएको छ । ‘अध्ययनले कार्डमार्फतको भुक्तानी सही ठाउँमा उपयोग भएको देखाएपछि अहिलेलाई उक्त व्यवस्था कायमै राख्ने निर्णय भएको हो,’ स्रोतले भन्यो, ‘तर, हरेक कारोबार सूक्ष्म रूपमा निगरानी गर्ने, गलत प्रयोग भएको देखिए नीतिगत परिवर्तन गर्ने सम्बन्धमा पनि छलफल गर्ने कुरा भएको छ ।’

कार्डमार्फत केही परिमाणमा विदेशी मुद्रा भित्रिएको दाबी राष्ट्र बैंकले गरे पनि त्यो निकै नगण्य रहेको स्रोतले बताएको छ । ‘राष्ट्र बैंकले विदेशी मुद्रा भित्रिएको तथ्यांक सार्वजनिक गरेको छैन ।

यसले उक्त कार्डमार्फत विदेशी मुद्रा नभित्रिएको प्रस्ट हुन्छ । नत्र विदेशी मुद्रा कमी भएकै कारण मुलुक संकटोन्मुख अवस्थामा रहेको समयमा राष्ट्र बैंकले तथ्यांक किन लुकाउँथ्यो,’ स्रोतले भन्यो, ‘आकलझुकलबाहेक कार्डमार्फत विदेशी मुद्रा आएकै छैन । यही कारण राष्ट्र बैंकले उक्त विवरण सार्वजनिक नगरेको हो ।’ विदेशी मुद्रा नआउने तर बाहिरिने मात्र भएपछि उक्त व्यवस्था पुनर्विचार गर्ने सम्बन्धमा छलफल भएपछि राष्ट्र बैंकले पछिल्लो अध्ययन गरेको पनि स्रोतको दाबी छ । ‘डलर कार्डमार्फत हुने भुक्तानी पहिले अनौपचारिक माध्यमबाट हुन्थ्यो, त्यो रोकिएको छ,’ ती अधिकारीले भने, ‘करिब १५ महिनामा झन्डै ९० करोड रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिए पनि सन्तोष मान्नुपर्ने अवस्था छ ।’

राष्ट्र बैंकले ०७७ चैतमा विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका सर्वसाधारणले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउने व्यवस्था गरेको थियो । यसका लागि सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनुपर्ने व्यवस्था छ । सोही कार्डमार्फत उनीहरूले विदेशबाट खरिद गरेको सामानको भुक्तानी विदेशी मुद्रामा गर्न सक्ने प्रावधान छ ।

यस्तो कारोबारका लागि वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा तोकिएको छ । सर्वसाधारणले एकै पटक वा पटकपटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबरको भुक्तानी मात्र विदेशी मुद्रामा गर्न पाउँछन् । यस्तो कारोबारमा तोकिएको सीमाभित्र रहेर नेपालको कानुनले वञ्चित नगरेका सबै प्रकारका वस्तु तथा सेवा खरिद गर्न सकिने प्रावधान छ । यी कार्डबाट एटीएम कार्डबाट जस्तो नगद निकाल्न भने पाइँदैन । विदेशबाट सामान खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानीका लागि मात्र कार्ड प्रयोग गर्न पाइन्छ । यसअघि नियमित रूपमा डलरको स्रोत भएकाले मात्र बैंकमा अमेरिकी डलर (विदेशी मुद्रा) को खाता खोल्न पाउने व्यवस्था थियो । विद्युतीय कार्डमार्फत वार्षिक ५ सय अमेरिकी डलरसम्म भुक्तानी गर्न सकिने भए पनि सो कारोबारबाट विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिले वार्षिक ५ हजार अमेरिकी डलरसम्मको कारोबार गर्न पाउँछन् ।

तर उनीहरूले डलरमै नगद निकाल्न भने पाउँदैनन् । यस्तो व्यवस्थाले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न सजिलो भएको सरोकारवालाहरू बताउँछन् । राष्ट्र बैंकले ०७६ माघ १७ देखि सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक भुक्तानी रोकेको थियो । त्यसयता राष्ट्र बैंकबाट अनुमति लिएरमात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षको एघार महिनामा मात्र मुलुकको विदेशी मुद्रा सञ्चिति करिब २ खर्ब २३ अर्ब रुपैयाँ घटेको छ । यसअनुसार गत जेठसम्म कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो करिब १६ प्रतिशत घटेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो ।

प्रकाशित : श्रावण २३, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?