१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘बन्देजकारी नीतिले अर्थतन्त्र सबल हुँदैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — अनुदार तथा बन्देजकारी नीति एवं निर्णय गर्न नसक्ने शासकीय प्रवृत्तिले सबल अर्थतन्त्र निर्माण हुन नसक्ने सरोकारवालाले बताएका छन् । इकोनोमिक डिस्कसन फोरमले शनिबार आयोजना गरेको ‘नेपालको आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ विषयक कार्यक्रमका वक्ताले कुनै नयाँ विषय बहस तथा प्रयोगमा आउँदा नेपालले त्यसलाई सजिलै ग्रहण गर्न नसक्ने गरेको धारणा राखे ।

‘बन्देजकारी नीतिले अर्थतन्त्र सबल हुँदैन’

‘हाम्रो राष्ट्रिय सोच (नेसनल साइकी) नै कमजोर छ । कुनै नयाँ विषय आउनेबित्तिकै हामी डराउँछौं । तर वास्तविकता के हो भने हामी जति साँघुरो र बन्द सोच राखेर बस्छौं, त्यति नै कमजोर हुन्छौं,’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘कमजोर मानसिकता बोकेर गरिने नीतिगत निर्णय प्रभावकारी हुन सक्दैनन् ।’ विश्वव्यापी रूपमा देखिएका नयाँ प्रविधि र आधुनिक सोचको कार्यान्वयनमा नेपाल कमजोर रहेको उनको भनाइ छ ।

अर्थतन्त्रको खराब अवस्थालाई देखाउनुपर्दा विगतका निर्णयलाई देखाएर गाली गर्ने प्रवृत्ति हाबी भइरहेको पनि थापाले बताए । ‘हामी अहिलेको खराब अवस्था देखाउन विगतका कुरालाई देखाउँछौं । कुनै वस्तुमा आत्मनिर्भर हुने कुरा आयो भने विगतमा बाँसबारी छालाजुत्ता कारखानादेखि हरिसिद्धि टायल कारखानाको उदाहरण दिन्छौं । यो राम्रो होइन ।’ नेपालले अवलम्बन गरेको नीति र कार्यान्वयन भइरहेका कार्यक्रमबीच समन्वय हुन नसक्दा समस्या देखिएको एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीको बुझाइ छ ।

‘व्यक्ति फेरिँदा नीति पनि फेरिनु राम्रो होइन । राजनीतिक दल र नेताहरूले सत्तामा हुँदा एउटा र सत्ताबाहिर अर्कै कुरा गर्छन् । यस्तो प्रवृत्तिले विश्वास गर्ने अवस्था नै रहँदैन,’ झाँक्रीले भनिन् । तीव्र रूपमा बढिरहेको अव्यवस्थित सहरीकरण र बसाइँसराइले अर्थतन्त्रमा गम्भीर असर पारिरहेको पनि उनको भनाइ छ । भूमिसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा राष्ट्रिय उत्पादन घटिरहेको पनि झाँक्रीले बताइन् ।

सरकारी संयन्त्रहरूसँगसँगै आर्थिक दायित्व पनि बढिरहेको तर सेवा प्रवाह स्थायित्वमा त्यसको सकारात्मक प्रभाव देखिन नसकेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीको भनाइ छ । ‘संघीयता कार्यान्वयनपछि वित्तीय अनुशासन पनि खस्किँदै गयो । राष्ट्रिय पुँजी निर्माण गर्ने विकास खर्चको अवस्था मात्रै हेर्ने हो भने धेरै कुरा स्पष्ट हुन्छन्,’ क्षत्रीले भने, ‘हामीले संयन्त्रहरू बढाउँदै गयौं, यसले दायित्व मात्रै बढायो । उपलब्धि बढाएन ।’

नेपालको सूचना प्रविधि क्षेत्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेपछि त्यसका बाटा खोल्न नसकिएको इन्भेस्टिङ विथ ग्रेसकी संस्थापक ग्रेसी रौनियारले बताइन् । पुँजीबजारमा नयाँ प्रविधि र उपकरण प्रयोगमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उनको भनाइ छ । वस्तु विनिमय बजार अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्नु दुर्भाग्य रहेको रौनियारको गुनासो छ । लगानी व्यवस्थापकका रूपमा काम गरिरहेका विशेष बज्राचार्यले पनि नेपालमा नवप्रवर्तन तथा सूचना प्रविधिका क्षेत्रमा उदार नीति अवलम्बन गरिनुपर्ने धारणा राखे । ‘प्रविधिमा आधारित नवीनतम् सोच र व्यवसाय आइरहेका छन् । तर नेपालले ती अवसरको उपयोग गर्न सकेको देखिँदैन । हाम्रा नीति नियमनभन्दा पनि बन्देजमा बढी केन्द्रित छन्,’ बज्राचार्यले भने ।

सोही कार्यक्रममा आगामी निर्वाचनपछि नेपाली कांग्रेस सरकारमा रहेको अवस्थामा आफूले त्यसको नेतृत्व लिनेबारे पार्टीभित्र छलफल चलाइरहेको पनि महामन्त्री थापाले बताए । ‘मैले प्रतिनिधिसभा सदस्य र मन्त्रीका रूपमा अनुभव लिएँ । यो अनुभवले मलाई नेतृत्व लिन सघाउँछ भन्ने लागेको छ,’ उनले भने, ‘अब पहिलो तहका नेतालाई सम्मानजनक बहिर्गमन खोज्नुपर्छ भनेर पार्टीभित्र बहस पनि सुरु भएको छ । पछिल्लो पुस्ताले नेतृत्व लिनेबारे पार्टीभित्र एक तहसम्म छलफल पनि गरिसकेको छु ।’ नेपालले पछिल्लो तीन दशकयता उदारवाद र खुलाबजार अर्थतन्त्र अँगालिरहेकामा त्यसलाई थप परिष्कृत र समयसापेक्ष बनाउन नीतिगत सुधारका लागि आफूले काम गरिरहेको पनि थापाको भनाइ छ । ‘निकै कम समय र स्रोतबाट हामीले उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । आर्थिक नीति परिवर्तनका लागि टिमले काम गरिरहेको छ । केही बोल्ड रिफर्मको तयारी गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण २२, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?