सिद्धबाबा सुरुङमार्गको निर्माण असोजबाट थालिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि डिजाइनको काम जारी छ । ९ महिनाभित्र डिजाइन सक्ने गरी काम अघि बढाइएको सडक विभागले जनाएको छ । ५ वर्षको ठेक्का अवधिमा ९ महिना डिजाइनका लागि छुट्याइएको हो ।

सिद्धबाबा सुरुङमार्गको निर्माण असोजबाट थालिने

विभागका उपमहानिर्देशक एवं प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार माघमा सुरु भएको डिजाइनको काम असोजभित्र सक्नुपर्ने छ । डिजाइनको काम सकिएपछि असोजबाटै निर्माणको काम अघि बढ्ने विभागको भनाइ छ । यसको ठेक्का इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा भएको हो । जसअनुसार डिजाइनको काम निर्माण व्यवसायीले नै प्राविधिकमार्फत गरेर सडक विभागलाई बुझाउनु पर्छ । विभागले डिजाइन स्विकृत गरेपछि मात्र निर्माणको काम अघि बढ्ने प्रवक्ता अधिकारीले बताए ।

‘बुटवलमा यसको योजना कार्यालय राख्ने र त्यसैले निर्माणको काम हेर्ने छ,’ प्रवक्ता अधिकारीले भने, ‘डिजाइनसहित ठेक्काको समयावधि पाँच वर्ष हो ।’ सुरुङसम्बन्धी मापदण्ड बनेकाले त्योअनुसार डिजाइनको काम भए/नभएको हेरेर मात्र निर्माणको काम अघि बढाउन दिइने विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार सुरुङ निर्माण गरेको ५ वर्षसम्म त्यसको मर्मतसम्भारको काम ठेक्का लिने निर्माण व्यवसायीले नै गर्नुपर्ने छ ।

यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । सुरुङमार्गको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले समयमै काम नगर्ने कर्पोरेसनलाई गत फागुनमा सुरुङमार्ग निर्माण गर्न दिनेगरी छनोट गरेको हो । ठेक्का अनुुसार ३ सय मिटर आपतकालीन सुरुङमार्ग पनि निर्माण गर्नुपर्नेछ । मुख्य सुरुङको दूरी १.१ किलोमिटर रहनेछ ।

प्रकाशित : श्रावण २१, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?