इकोनोमिक्स ओलम्पियाडमा नेपालका तीन विद्यार्थीले जिते कांस्य

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचौँ इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाडमा नेपालका तीन विद्यार्थीले कांस्य पदक जितेका छन् । चीनको साङ्घाईमा जुलाई २६ देखि अगस्ट १ सम्म आयोजना भएको प्रतियोगितामा व्यक्तिगत विधातर्फ लिटिल एन्जल्स स्कुलका आशिष श्रेष्ठ र अंकित सुवेदी तथा रातो बंगला स्कुलका आदित सुवेदीले कांस्य पदक पाएको नेपाल इकोनोमिक्स ओलम्पियाड (एनइओ) का अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए ।

इकोनोमिक्स ओलम्पियाडमा नेपालका तीन विद्यार्थीले जिते कांस्य

विभिन्न ४२ देशका २ सय १ जना विद्यार्थी सहभागी ओलम्पियाडमा नेपालका ५ जना विद्यार्थीले भाग लिएका थिए । इकोनोमिक्स ओलम्पियाडले अर्थशास्त्र, व्यवसाय र वित्तीय साक्षारतामा रुची राख्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउँदै आएको छ । राष्ट्रिय प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड र वर्ल्ड इकोनोमिक्स कपमा सहभागिता जनाउँदै आएका छन् । एनईओका अनुसार सेप्टेम्बरमा हुने अर्को ‘वर्ल्ड इकोनोमिक्स कप–२०२२’ मा भने ६ जना सहभागी हुँदैछन् । सेन्ट जेभिएर कलेज माइतीघरका आर्जनमणि कँडेल, विश्व आदर्श कलेजका सागर भट्टराई, बुढानिलकण्ठ विद्यालयकी जिया पोखरेल, सेन्ट जेभिएर कलेजका चैतन्यराज शाह, ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रज्वलविक्रम थापा, ग्लोबल कलेज इन्टरनेसनलका रोयल कटुवाल सहभागी हुँदैछन् ।

सन् २०२२ को प्रतिस्पर्धाका लागि गत पुस २४ गते सातै प्रदेशमा क्षेत्रीय प्रतिस्पर्धा गराइएको थियो । उच्च शिक्षा अध्ययनरत सातै प्रदेशका ११० विद्यालयबाट ७ सय ८९ विद्यार्थीले क्षेत्रीय प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ५ सय १३ जना विद्यार्थी मात्र क्षेत्रीय प्रतिस्पर्धामा सहभागी भएका थिए । अर्थशास्त्र, वित्तीय र वाणिज्य तथा व्यापारमा आधारित रही देशभर १० वटा परीक्षा केन्द्रमार्फत परीक्षा लिई राष्ट्रिय प्रतिस्पर्धाको लागि ७५ जना छनोट गरिएको थियो । छनोट गरिएका विद्यार्थीलाई एकै ठाउँमा राखेर डेढ महिना अर्थशास्त्र, बिजनेस केस एनालाइसिस र वित्तीय साक्षरतामा आधारित मेन्टरसिप दिइन्छ । यो मेन्टरसिपबाट विद्यार्थीलाई राष्ट्रिय प्रतिस्पर्धाको लागि तयार गरिन्छ । राष्ट्रिय प्रतिस्पर्धा फागुन २८ देखि चैत १ गतेसम्म काठमाडौं कलेज अफ म्यानेजमेन्टमा भएको थियो ।

इन्टरनेसनल इकोनोमिक ओलम्पियाड उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि अर्थशास्त्रसँग सम्बन्धित विषयमा प्रतिस्पर्धा गराउने अभियान हो । सन् २००७ का नोबेल पुरस्कार विजेता एरिक मस्किनले सुरु गरेको यो अभियानले हरेक वर्ष विश्वभरबाट विद्यार्थी सहभागी गराएर प्रतिस्पर्धा गराउँदै आएको छ । उत्कृष्ट सहभागीले स्वर्ण, रजत र कांस्य पदक पाउँछन् भने अर्थशास्त्रसम्बन्धी आफ्ना नयाँ सोच तथा सिद्धान्तहरुलाई विद्यार्थीले प्रतिष्ठित शैक्षिक संस्थामा प्रस्तुत गर्ने मौका समेत पाउँछन् । वर्ल्ड इकोनोमिक कपमा विद्यार्थीहरुलाई सहभागी गराउनका लागि नेपाल इकोनोमिक्स ओलम्पियाडले भूमिका खेल्दै आएको छ । यो इन्टरनेसनल इकोनोमिक ओलम्पियाडको नेपाल प्रतिनिधि हो ।

प्रकाशित : श्रावण १८, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?