१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाेधिचित्तले भाउ नपाउँदा किसान चिन्तित

टीकाप्रसाद भटट

रामेछाप — केही वर्षअघिसम्म महँगो मूल्यका कारण बोधिचित्तको दाना बिक्री वितरण कार्यमा आपराधिक गतिविधि समेत हुने गर्थे । युवाहरु परिचालन गरी बोधिचित्तको दाना लुटपाट गर्ने, बिचौलियाबीच नै झगडा हुनेजस्ता घटना बढेपछि रुख कुर्नका लागि २४ सै घण्टा पाले राख्ने गरिन्थ्यो । किसानलाई चोरीको चिन्ता हुन्थ्यो ।

बाेधिचित्तले भाउ नपाउँदा किसान चिन्तित

तर आजकाल भाउ घटेपछि किसानमा अर्को चिन्ता थपिएको छ । केही वर्ष अघिसम्म वार्षिक लाखौं आर्जन हुने बोधिचित्त (बुद्ध माला) दानाको भाउ लगातार ओरालो लाग्दा खेती गरेका किसान मर्कामा परेका छन् । अरु खाद्यबाली मासेर बोधिचित्त लगाएकाहरु भाउ घटेपछि फेरि वैकल्पिक खेतीबारे सोच्न थालेका छन् । किसानलाई बोधिचित्तको वास्तविक भाउ समेत थाहा छैन । बिचौलियाले दिने रकममै उनीहरुले चित्त बुझाउने गरेका छन् ।

‘बोधिचित्तको भाउ कति हो भन्ने नै थाहा भएन’ खाँडादेवी २ मझुवाका किसान हिरा लामा भन्छन् ‘बिचौलियाले दिएको भाउमा चित्त बुझाउनु परेको छ । ५ वर्ष अघिसम्म एकै रुखमा फलेका दानाको ४८ लाख रुपैयाँसम्म भाउ पाएका किसानले यो वर्ष सबै रुखको बिक्री गर्दा ३ लाखमै चित्त बुझाउनुपर्यो ।’ दाना खरिद गर्ने चिनियाँ व्यवसायीलाई नै सिधै बिक्री गर्न सकेमा मात्रै वास्तविक भाउ थाहा पाइने लामा बताउँछन् । उनका अनुसार बिचौलिया दुई तीन तहमा रहेकाले पनि भाउ घटेको हो । बोधिचित्तको मुख्य बजार चीन रहेको र त्यहाँसम्म बिचौलियाले लैजाने गरेको उनले बताए ।

बोधिचित्तको दानाबाट बनाइएको माला बुद्धको ध्यान वा तपस्या गर्दा हातमा लिएर जप्ने गरिन्छ । दाना जति सानो भयो त्यति धेरै मूल्य पर्ने किसान बताउँछन् । ८ एमएम साइजको दाना सबैभन्दा बढी मोलमा जाने लामाले बताए । ‘मेरोमा ८ एमएमको फलेन, बल्ल ९ एमएम साइजसम्मको पाइयो’ लामाले भने, ‘अरु ठूलो फल्यो । ठूलो दानाको भाउ आउँदैन ।’

२३ रोपनी पाखो जग्गामध्ये करिब १८ रोपनीमा २ सय ५० बोट बोधिचित्त लगाएका लामा मझुवामा यस बर्ष सबैभन्दा बढी पैसा लिने किसानमा पर्छन् । उनले करिब ३ लाखको दाना बिक्री गरे । गत वर्ष उनले तिनै रुखको दाना बेचेर करिव ७ लाख कमाएका थिए । मझुवामै दाना बेचेर सरदर १ लाख कमाउने किसान १० जना रहेको स्थानीय प्रकाश प्रधानले बताए । प्रधान बोधिचित्तको विरुवा उत्पादक किसान हुन् । उनले गाउँभर बोधिचित्त लगाउने अभियान चलाएका थिए । अभियानअन्तर्गत नै तत्कालीन भिरपानी गाविसले किसानलाई बिरुवा उपलब्ध गराएको थियो ।

मझुवाका पूर्व प्रधानपञ्च स्व. धनबहादुर लामाले एउटा रुखमा फलेको एक सिजनको दाना बिक्री गर्दा २०६४ सालमा १२ लाख कमाएका थिए । त्यसपछि जिल्लामा बोधिचित्तका बिरुवा धेरै रोपिएका थिए । लामाले एकै वर्ष ४८ लाख रुपैयाँसम्म दाना बिक्री गरेर कमाएका थिए । अहिले उक्त रुख सुक्यो ।

बोधिचित्तको दानाको ब्यापारमा काभ्रेका युवा बढी सक्रिय छन् । काठमाडौंको जोरपाटी, बौद्धतिर बोधिचित्त बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । गाउँमा आउने ब्यापारीलेभन्दा बढी भाउ दिने नभेटेको लामाले बताए । ‘हामी किसानको मेहेनत बिचौलियाले लिइरहेको छ’ लामा भन्छन् ‘सरकारले नै बजारसम्म लैजानका लागि सहयोग गरिदिएमा किसानले वास्तविक मोल पाउँथे ।’ असारको पहिलो सातासम्म टिपेर बजारमा लाने बोधिचित्तको दानालाई उमालेर बोक्रा फालिन्छ र मेसिनले छेडेर माला बनाइन्छ । १ सय ८ दानाको माला मुठ्ठीभित्र अटायो भने त्यसलाई धेरैभन्दा धेरै मोलमा बिक्री हुने गरेको किसानले बताए ।


प्रकाशित : श्रावण १०, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?