तीन महिनामा अपेक्षित मूल्यवृद्धि १४ प्रतिशत

काठमाडौँ — सर्वसाधारणले आउँदा महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने अनुमान गरेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने र एक वर्षमा १३.५ प्रतिशत पुग्ने सर्वसाधारणको अनुमान छ ।  राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो ।

तीन महिनामा अपेक्षित मूल्यवृद्धि १४ प्रतिशत

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू १ हजार १ सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘सर्वेमा सहभागी उपभोक्ताले मूल्यवृद्धि १४ प्रतिशत रहेको महसुस गरेका छन् । निकट भविष्यमा पनि मूल्यवृद्धि समान नै रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा छ,’ सर्वेक्षणमा भनिएको छ, ‘तीन महिनामा १४ प्रतिशत र एक वर्ष पछिको मध्य अपेक्षित मूल्यवृद्धि १३.५ प्रतिशत रहेको छ ।’ सर्वेक्षणले २०७८ चैतको तुलनामा तीन महिना पछिको मूल्यवृद्धि बढ्ने र एक वर्ष पछिको तुलनामा थोरै घटेको अनुमान गरेका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये ९४.७ प्रतिशतले दिएको जवाफअनुसार तीन महिनामा मूल्य वृद्धि उच्च हुने छ । ‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि उच्च हुने अनुमान गर्ने उत्तरदाताहरूको अंश २०७८ चैतको तुलनामा बढेको छ,’ सर्वेक्षणमा भनिएको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश २०७८ चैतको तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : श्रावण ९, २०७९ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?