कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मौद्रिक नीतिले बढाउला सेयर बजार ?

विज्ञ भन्छन्, ‘बजारलाई थप हतोत्साहित नगरे पनि लगानीकर्ताले भने जसरी नीति आएन’
कमल नेपाल

काठमाडौँ — मौद्रिक नीति सार्वजनिक भएपछि कारोबारको पहिलो दिन सेयर बजारमा उत्साह देखिएको छ । सेयर बजारको परिसूचक नेप्से मात्रै नभई उपसमूहका सूचक र कारोबार रकमसमेत आइतबार उल्लेख्य बढ्यो । नेप्से परिसूचक ६१.०५ अंक बढेर ०७८ अंकमा कायम भएको छ । उक्त दिन कुल २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो ।

मौद्रिक नीतिले बढाउला सेयर बजार ?

यसअघि शुक्रबार १ अर्ब ४४ करोडको मात्रै कारोबार भएको थियो । १७९ कम्पनीको मूल्य बढ्यो भने एउटाको मात्रै घट्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ २२, विकास बैंक १७७, फाइनान्स ११७, होटल तथा पर्यटन ७४, जलविद्युत् ८४, जीवन बिमा २०७, उत्पादन १००, माइक्रोफाइनान्स १७५, निर्जीवन बिमा ११७, अन्य १०३ र व्यापार उपसमूह ८८ अंक बढे ।

आइतबारको यो वृद्धिलाई मौद्रिक नीतिसँग जोडेर हेरिएको छ । तर मौद्रिक नीति सेयर बजारका लागि विशेष नभएको जानकार बताउँछन् । नीतिले बजारलाई थप हतोत्साहित नगरे पनि लगानीकर्ताले भने जसरी नआएको उनीहरूको भनाइ छ । बजारका दुई विषयलाई मौद्रिक नीतिले सामान्य सम्बोधन गरेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टले बताए । ‘सेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडको व्यवस्था हटाइनु र २५ लाखमुनिको सेयर ऋणमा जोखिमभार सय प्रतिशत नै कायम गरिनुले थप हतोत्साहित बनाएन,’ उनले भने ।

मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एक लगानीकर्ताले एउटा बैंक वा वित्तीय संस्थाबाट अधिकतम ४ करोड मात्रै ऋण लिन पाउने व्यवस्था हटाइयो । अर्थात् एउटा वा समग्र बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म त्यस्तो ऋण लिन पाइने व्यवस्था गरियो । यसले लगानीकर्तालाई नियामकले केही सकारात्मक सन्देश छाडेको बताइन्छ । सानो लगानीलाई लक्ष्य गर्दै मौद्रिक नीतिमार्फत सेयर धितोमा प्रवाह हुने २५ लाखसम्मको कर्जाको हकमा जोखिमभार १५० बाट घटाएर १ सय प्रतिशत कायम गरियो । यसअघि सबै सेयर धितो कर्जाको जोखिमभार १५० कायम गरिएको थियो ।

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल पनि मौद्रिक नीतिले आफूहरूका माग सम्बोधन नगरे पनि थप हतोत्साहित नबनाएको स्विकार्छन् । ‘मौद्रिक नीति जारी गर्दा बजारलाई प्रत्यक्ष असर नपारियोस्, कर्जामा ४–१२ करोडको सीमा हटाइयोस् भन्ने हाम्रो माग थियो, माग सम्बोधन नगरे पनि नीतिगत रूपमा थप असर पार्ने काम गरिएन,’ उनले भने । यसअघि नै बजार उच्च अंकमा घटिसकेकाले, अहिले केही अंक सुधार हुँदैमा मौद्रिक नीतिलाई नै कारक ठान्न नहुने उनको भनाइ छ । ‘करिब १२ सय अंक घटिसकेको बजार अब घट्ने ठाउँ नै नभएकाले वृद्धितर्फ लागेको हो, त्यसकारण मौद्रिक नीतिले बजार बढाएको होइन,’ उनले भने ।

असहज परिस्थितिका बेला आएको कसिलो मौद्रिक नीतिले ब्याजदर बढ्ने र लगानीयोग्य रकमको असहजता कायमै रहने भएकाले नेप्से धेरै माथि जाने अवस्था देखिँदैन । अझ मौद्रिक नीतिपछि ब्याजदर थप बढ्ने वातावरण बनेको छ भने लगानीयोग्य रकमको चरम अभाव कायमै रहने राष्ट्र बैंकले नै स्विकारेको छ । जसले गर्दा यस आर्थिक वर्ष थप १२.६ प्रतिशत मात्रै कर्जा प्रवाह हुने उसको प्रक्षेपण छ । जब कि गत आर्थिक वर्ष १९ प्रतिशतको लक्ष्य लिएकामा करिब साढे १२ प्रतिशत मात्रै वृद्धि भयो ।

‘बैंकरेट, पोलिसी रेट बढेको छ, यसले ब्याजदर अझै बढ्नेछ, अर्कोतर्फ लगानीयोग्य रकमको समस्या चर्को रहने देखिएको छ,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टले भने, ‘यसले त सेयर बजार बढ्नलाई सपोर्ट गर्दैन, त्यसकारण एक/दुई दिन बजार बढे पनि टिक्ने अवस्था म देख्दिनँ ।’ राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकरेट तथा पोलिसी रेट १.५ प्रतिशतले बढाएर क्रमशः ८.५ प्रतिशत र ७ प्रतिशत कायम गरेको छ । अर्कोतर्फ अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) हालको ३ प्रतिशतलाई बढाएर भदौदेखि ४ प्रतिशत कायम गर्नुपर्ने भएको छ । यसले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अझ कसिलो बनाएको छ । यसले गर्दा केही दिन बढेको बजारलाई नै हेरेर लगानीको निर्णय गर्नु जोखिम हुन सक्छ ।

प्रकाशित : श्रावण ९, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×