कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

देश छोड्दै प्रविधि क्षेत्रका हजारौं रुसी जनशक्ति

एजेन्सी

काठमाडौँ — ऊर्जा र धातु उद्योगको तुलनामा प्रविधि क्षेत्र रुसी अर्थतन्त्रको सानो हिस्सा भए पनि युक्रेनसँगको युद्धअघि द्रुत गतिमा परिपक्व हुँदै गएको थियो । युद्धपछि ठूलो संख्यामा युवा, शिक्षित र अग्रगामी सोच राख्ने मानिसहरूको पलायनले आगामी दिनमा रुसलाई आर्थिक प्रभाव पार्न सक्ने अर्थशास्त्रीहरूले औंल्याएका छन् । पश्चिमी प्रतिबन्धको चपेटामा परेपछि राष्ट्रिय मिडियादेखि एरोस्पेस र उड्डयन उद्योगबाट समेत भएको प्रतिभा पलायनले रुसलाई ठूलो असर गर्ने खतरा छ ।

देश छोड्दै प्रविधि क्षेत्रका हजारौं रुसी जनशक्ति

आजभन्दा ६ महिनाअघि रुसले युक्रेनमा आक्रमण गर्नुअघि नै रुसमा सूचना प्रविधि क्षेत्रका जनशक्तिको अभाव थियो । प्रविधि र नवप्रवर्तन (टेक र स्टार्टअप) क्षेत्रमा बढ्दो सरकारी हस्तक्षेप र प्रतिबन्धले यी क्षेत्र ओइलाउँदै गएका थिए । फेब्रुअरी २३ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि र पश्चिमाले विभिन्न किसिमका प्रतिबन्ध लगाएपछि रुसबाट हजारौंको संख्यामा आईटीका कर्मचारी देश छोडेर हिँडेका छन् । प्राविधिक कामदारहरूको यस्तो पलायनले रुसको आर्थिक सम्भावना र साइबर सुरक्षामा ठूलो प्रभाव पार्नसक्ने बताइन्छ ।

युद्धको सुरुवाती दिनमै रुसी संसद्को तल्लो सभामा विद्युतीय सञ्चारका लागि रुसी संघ (द रसियन एसोसिएन फर इलेक्ट्रोनिक कम्युनिकेसन्स) ले ५० हजारदेखि ७० हजार आईटी जनशक्तिले देश छोडेको जानकारी दिएको थियो । थप ७० हजारदेखि १ लाख जनशक्तिले चाँडै देश छोड्ने भन्दै संघले सतर्क गराए पनि उनीहरूको पलायन रोकिएको छैन । प्रविधि क्षेत्रका १० प्रतिशत रुसी जनशक्ति विदेशिने अनुमान गरिएको छ ।

यसपालि शैक्षिक सत्र सकिएपछि आफ्ना बालबालिका र परिवारसहित अझै बढी आईटी विज्ञहरू विदेशिने अड्कल छ । ठूलो दर्जाका कर्मचारीसमेत धमाधम देश छोडिरहेका छन् । उनीहरूमध्ये धेरै अर्मेनिया, टर्की, दुबई, जर्जिया र काजकिस्तान गइरहेका छन् । रुस–युक्रेन युद्ध भड्किँदै गएपछि एकताका अर्मेनियाको राजधानी येरेभानस्थित जभार्टनट्स अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोडेर आउने रुसीहरूको खचाखच भिड देखिन्थ्यो । तीमध्ये धेरै प्रविधि क्षेत्रका जनशक्ति थिए ।‘उडान रद्द होला, देश छोड्न प्रतिबन्ध लगाइएला वा सीमा क्षेत्रमा कडाइ गरिएला भन्ने डरले धेरैले महँगो शुल्क तिरेर प्लेनको टिकेट काटेका थिए,’ प्रविधिसम्बन्धी समाचार समेट्ने रेस्ट अफ वर्ल्डको हालै प्रकाशित समाचारमा भनिएको छ, ‘कति त एउटा सुटकेसमात्रै बोकेर अर्मेनिया पुगेका थिए ।’

सूचना प्रविधि क्षेत्रमा भएको जनशक्ति अभावलाई रोक्न रुसी सरकारले युद्धअघि आईटी–कम्पनीहरूलाई सहुलियतका प्याकेज प्रदान गर्ने घोषणा गरेको थियो । साथै, नियमन खुकुलो पार्ने बताएको थियो । सेनामा भर्ती हुनुपर्ने नियम पनि आईटी कामदारका लागि छुट गरिएको थियो । तर, युक्रेनसँगको विवाद सुरु भएर युद्ध चर्किएपछि उनीहरूले देश छाेड्न थाले । कतिपय कम्प्युटर इन्जिनियर, सफ्टवेयर इन्जिनियरहरूले ‘यो युद्धमा रुसले हारे पनि, जिते पनि अवस्था खराब नै हुने हाे’ भनिरहेका छन् । तसर्थ, रुसमा बस्नुको अर्थ नभएकाले विदेशिएको उनीहरूको भनाइ छ ।

‘युक्रेनमा रुसी आक्रमणको विरोध गर्ने जनशक्तिहरू पुटिनको शासनमा बस्न नचाहेर देश छोडिरहेका छन्,’ न्यू योर्क टाइम्सको समाचार ‘रसियन टेक इन्डस्ट्री फेसेस ब्रेन ड्रेन’ मा भनिएको छ, ‘रुसमा बसिरह्यो भने मनमा लागेको कुरा खुलस्त भन्न सकिँदैन भन्ने डर उनीहरूमा छ । आर्थिक रूपमा आकर्षक प्रविधि क्षेत्रमा आबद्ध जनशक्तिसँग देश छोड्ने पैसा पनि हुन्छ ।’ ल्यापटप र इन्टरनेटको पहुँच भएको विश्वको जुनसुकै स्थानबाट काम गर्न सकिने भएकाले प्रविधि क्षेत्रका जनशक्ति विदेशिएका हुनुपर्ने लेखमा भनिएको छ ।

कतिपय कामदारलाई कम्पनीले कामबाट निकालिदिएपछि ती विदेशिन बाध्य भएका पनि छन् । विभिन्न सरकारले रुसमा प्रतिबन्ध लगाएयता अमेरिकी र युरोपली कम्पनीहरूले रुसमा आफ्ना उत्पादन बेच्न बन्द गरेका छन् तथा बैंकिङ र इन्टरनेट सेवा रोकिदिएका छन् । आईबीएम, इन्टेल, माइक्रोसफ्टजस्ता ठूला प्रविधि कम्पनीले रुसमा सेवा बन्द गरेका छन् । यसले गर्दा रुसका कतिपय सूचना प्रविधि क्षेत्रका जनशक्तिले आफ्नो काम गर्नै पाएका छैनन् । यस्ताेमा उनीहरू ल्यापटप बोकेर अन्य देश उडिरहेका छन् ।

रुसी टेक कम्पनीहरूले पनि विदेशिने जनशक्तिलाई रोक्न सकेका छैनन् । रुसको गुगल भनेर चिनिने यान्डेक्सले जनशक्ति रोक्नुको सट्टा आफ्ना इन्जिनियरहरू गएका अर्मेनिया, जर्जिया र टर्कीजस्ता देशमा शाखा विस्तार गर्ने योजना बनाएको बताइन्छ ।

प्रकाशित : श्रावण ८, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?