कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मौद्रिक नीति ०७९/८०

उद्योग र व्यापारमा फरक ब्याज, किसानलाई सस्तो कर्जा

उत्पादनमूलक उद्योग र व्यापारमा सरकारको फरक–फरक नीति हुनुपर्छ भन्ने बहस चलेको धेरै भयो, यसपटक मौद्रिक नीतिमै यी क्षेत्रमा प्रवाह हुने ऋणको फरक–फरक ब्याजदर कायम गर्नुपर्ने व्यवस्था भयो, पहिले पनि कैयौं सकारात्मक नीति ल्याएर लागू नभइरहेको सन्दर्भमा ‘उद्योग र व्यापारमा फरक ब्याजदर कसरी कार्यान्वयन हुन्छ ?’ प्रश्न कायमै छ
राजु चौधरी

काठमाडौँ — चालु आर्थिक वर्षमा उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरकफरक ब्याजदर कायम हुने भएको छ भने किसानले सस्तोमा कर्जा पाउने भएका छन् । त्यसका लागि राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमार्फत विभिन्न व्यवस्था गरिएको छ ।

उद्योग र व्यापारमा फरक ब्याज, किसानलाई सस्तो कर्जा

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि उत्पादक र अनुत्पादक क्षेत्रबीच प्रवाह हुने कर्जामा फरक ब्याजदर कायम गर्नुपर्ने घोषणा गरेको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै राष्ट्र बैंकले मौद्रिक नीतिमा उद्योग र व्यापारमा फरक ब्याजदर कायम गर्ने बताएको हो । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत विदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थपी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

अर्कोतर्फ किसानले सस्तो ब्याजदरमा कृषि कर्जा पनि पाउने भएका छन् । ‘उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइनेछ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिनेछ,’ मौद्रिक नीति प्रस्तुत गर्दै शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ।

विगतमा बैंकले आधार दरमा ४/५ प्रतिशतसम्म पनि प्रिमियम जोड्दै आएका थिए । यसो गर्दा कृषि कर्जाको ब्याजदर महँगो पर्न गएको थियो । अब राष्ट्र बैंकले तोकेको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्यलगायत कृषि कर्जामा बैंकले आधार दरमा बढीमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम जोड्न पाउनेछन् । यसले किसानलाई ब्याजदरमा सस्तो पर्नेछ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूले कृषि, हस्तकला र सीपमूलक व्यवसाय सञ्चालनका लागि १ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप्न सक्ने व्यवस्था कार्यान्वयनमा आउने जनाएको छ । वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जा कार्यान्वयन गरिने पनि उल्लेख छ ।

बैंकले कृषि कर्जा वितरण गरे पनि पहुँचवाला वर्गले मात्रै त्यसको उपभोग गरिरहेका छन् । यसको ठूलो हिस्सा सहरमा खर्च भइरहेको छ । बैंकका अनुसार वाग्मतीभर चालु आर्थिक वर्षको पुससम्म कुल १ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कृषि कर्जा प्रवाह भएकामा सबैभन्दा धेरै काठमाडौंमा मात्रै ४१ अर्ब ७३ करोड रुपैयाँ गएको छ । काठमाडौंमा प्रवाह भएको कृषि कर्जा सुदूरपश्चिम र गण्डकी प्रदेशको कुल कृषि कर्जाभन्दा बढी छ । कृषि कर्जा सहरमा केन्द्रित हुँदा लक्ष्यअनुसार उत्पादन बढाउन नसकिएको जानकारहरू बताउँछन् । कृषि कर्जा पहुँचवालाको पकडमा हुँदा उत्पादनमा सुधार नभई आयातमा भर पर्नु परिरहेको उनीहरूको भनाइ छ ।

मौद्रिक नीतिले महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जा र ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ‘०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा सापटको ७.८८ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी छ,’ गभर्नर अधिकारीले भने ।

नीतिले कृषिलगायत उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनर्कर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता दिएको छ । पुनर्कर्जा सुविधालाई क्रमशः कम गर्दै ०८१ असार मसान्तसम्ममा सम्बन्धित कोषको मौज्दात बराबर हुने गरी उपलब्ध गराइने उल्लेख छ । आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यअनुसार कृषि कर्जामा सहज पहुँच पुर्‍याउने उद्देश्यले स्थापना हुने लघुवित्त कोषको कानुनी, संस्थागत र कार्य सञ्चालन ढाँचाअनुसार कार्यान्वयनमा सहजीकरण गरिने उल्लेख छ ।

प्रकाशित : श्रावण ७, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?