कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मौद्रिक नीतिले ब्याजदर बढाउने

काठमाडौँ — गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको मौद्रिक नीतिले ब्याजदर बढाउने लक्ष्य लिएको छ । मौद्रिक नीति सार्वजनिक कार्यक्रमपछि राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठले ब्याजदर वृद्धिमार्फत आयातमा जाने कर्जा प्रवाह कम गर्ने लक्ष्य लिइएको स्पष्ट पारे । उनले भने ‘हाम्रो उद्देश्य भनेको ब्याजदर वृद्धिमार्फत आयाततर्फ प्रवाह हुने कर्जा कम गर्ने हो, विदेशी मुद्रा सञ्चिति थप घट्न नदिनु हो ।’

मौद्रिक नीतिले ब्याजदर बढाउने

समग्रमा मौद्रिक नीतिले ब्याजदर बढाउने उद्देश्यले विभिन्न दरहरु परिवर्तन गरेको छ । ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरिएको छ । यसले समग्र ब्याजदर बढाउन बैंकहरुलाई दवाव पुगेको छ । बैंकहरुले हरेक महिना अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले निक्षेपमा ब्याजदर बढाउन पाउने व्यवस्था छ । मौद्रिक नीतिको पर्खाइमा रहेका बैंकहरुले साउन महिनाका लागि भने निक्षेपमा पुरानै ब्याजदर यथावत राखेका थिए ।

ब्याजदर बढाउन लगानीयोग्य रकमको चरम अभावले पनि अझ दवाव पुग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले आगामी भदौ १ देखि अनिवार्य नगद मौज्दात अनुपात ४ प्रतिशत कायम गर्नुपर्नेछ । हाल राष्ट्र बैंकमा बैंकहरुले ३ प्रतिशत नगद मौज्दात राख्दै आएका थिए । ४ प्रतिशत राख्नुपर्ने व्यवस्थाले लगानीयाेग्य रकममा अझ दवाव पुग्नेछ । त्यस्तै वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्था गरिएको छ । हाल वाणिज्य बैंकहरुका लागि १०, विकास बैंकका लागि ८ र फाइनान्सका लागि ७ प्रतिशतको सीमा थियो । चालु आर्थिक वर्षको सुरुवातमै बैंकहरुमा लगानीयोग्य रकमको अभाव छ । सामान्यत: असारमा पर्याप्त पुँजीगत खर्च हुने भएकाले साउनमा लगानीयोग्य रकम पर्याप्त हुने गरेकोमा यो पटक अवस्था सहज छैन ।

यो आर्थिक वर्ष कर्जा प्रवाह कम हुने राष्ट्र बैंकले नै स्वीकारेको छ । यस आर्थिक वर्ष निजी क्षेत्रमा जाने कर्जा जम्मा १२.६ प्रतिशतले वृद्धि हुने राष्ट्र बैंकको प्रक्षेपण छ । जवकि गत आर्थिक वर्ष १९ प्रतिशतको लक्ष्य लिएको थियो । सो लक्ष्यका बाबजुत पनि १२.३ प्रतिशतले मात्रै बढेको छ । उत्पादन क्षेत्रमा भने ब्याज वृद्धि नियन्त्रण गर्ने प्रयास गरिएको छ । उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने मौद्रिक नीतिमा उल्लेख छ । व्यापारिक क्षेत्रमा जाने कर्जाकाे ब्याज बढाउन र उत्पादन कर्जाको ब्याज नियन्त्रण गर्नकै लागि यो व्यवस्था गरिन लागेको राष्ट्र बैंकले संकेत गरेको छ । मौद्रिक कार्यदिशमा भनिएको छ ‘कर्जा–कुल गार्हस्थ्य उत्पादन अनुपात उच्च रहेको सन्दर्भमा कर्जा वृद्धिभन्दा पनि कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहनेछ ।’

बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने उल्लेख छ ।

प्रकाशित : श्रावण ६, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?