कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निक्षेप बढे पनि तरलता समस्या कायमै, बैंकहरूले लिए दुई दिनमै ८१ अर्ब सापटी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी खर्च बढेकाले बैंक तथा वित्तीय प्रणालीमा निक्षेप बढेपनि तरलता समस्या कायमै छ । साउन १ र २ गते दुई दिनमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट करिब ८१ अर्ब अल्पकालीन सापटी लिनुले तरलता समस्या यथावतै रहेको पुष्टि हुन्छ ।

निक्षेप बढे पनि तरलता समस्या कायमै, बैंकहरूले लिए दुई दिनमै ८१ अर्ब सापटी


राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत आइतबार १९ अर्ब १५ करोड र सोमबार ६१ अर्ब ७४ करोड रुपैयाँ गरी कुल ८० अर्ब ८९ करोड रुपैयाँ अल्पकालीन ऋण लिएका छन् । यद्यपि पछिल्ला साताहरुमा बैंक तथा वित्तीय प्रणालीमा निक्षेप बढेको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले असारमा सरकारी खर्च बढ्दा बैंकहरुमा निक्षेप पनि बढेको हो । राष्ट्र बैंकका अनुसार गत असार महिनामा वाणिज्य बैंकहरुमा मात्र करिब १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा प्रवाह करिब १८ अर्बले घटेको छ ।

सरकारले म्याद थप नगरिदिँदा साउन १ देखि वाणिज्य बैंकहरूले स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ५० प्रतिशत मात्र निक्षेपमा गणना गर्न पाएका छन् । जबकि असार ३२ सम्म उक्त खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने सुविधा पाएका थिए । उक्त व्यवस्थाले निरन्तरता नपाउँदा वित्तीय प्रणालीमा करिब ४५ देखि ५० अर्ब निक्षेप घटेको बैंकरहरुले बताउँदै आएका छन् । यस्तै, साउन १ देखि बैंक तथा वित्तीय संस्थाले ऋणपत्रको बिक्रीबाट संकलन गरेको रकम पनि निक्षेप (स्रोत)मा गणना गर्न नपाउने भएका छन् । उल्लिखित कारणले आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा तरलता समस्या देखिन थालेको जानकारहरु बताउँछन् ।

प्रकाशित : श्रावण ३, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्