मलबिनाको रोपाइँलाई मौसमले पनि दिएन साथ- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलबिनाको रोपाइँलाई मौसमले पनि दिएन साथ

गत वर्ष असार अन्तिमसम्म ७६% रोपाइँ भएकामा यसपटक मल, बीउ र सिँचाइ समस्याले ५४.१३% क्षेत्रफलमा सीमित भयो, साउन दोस्रो सातासम्म ८०% खेतमा रोपाइँ नभए धान उत्पादनमा भारी गिरावट आउने अनुमान
राजु चौधरी

काठमाडौँ — नेपालको खेती प्रणाली मनसुनमा आधारित हुँदा विगतको तुलनामा यस वर्ष रोपाइँ न्यून देखिएको छ । समयमै मनसुन सक्रिय भए पनि निरन्तर नहुँदा असार २८ सम्म ५४.१३ प्रतिशत मात्रै रोपाइँ भएको छ । जब कि गतवर्ष असार अन्तिमसम्म ७६ प्रतिशत रोपाइँ सकिएको थियो । ‘रोपाइँ कम हुनुको प्रमुख कारण मनसुन नै हो । केही खेत बर्खामा आधारित हुँदा पनि गत वर्षको तुलनामा यस वर्ष रोपाइँ कम भयो,’ कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले भने ।

मुलुकमा २६ लाख ४१ हजार हेक्टर कृषियोग्य भूमिमध्ये १७ लाख ६६ हजार हेक्टर मात्रै सिँचाइयोग्य छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार ०७७/७८ सम्म १५ लाख ९ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । कृषि सिँचाइलाई अन्तरसमन्वय गर्न नसक्दा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदानसमेत घट्दै गएको छ । यस वर्ष रोपाइँकै समस्या हुँदा थप चिन्ता थपिएको जानकारहरू बताउँछन् ।

विभागका अनुसार गत बर्खा सिजनमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ भएको थियो । यसमध्ये उत्पादन ५१ लाख ३० हजार ६ सय २५ टन भएको थियो । ०७७/७८ को तुलनामा धान उत्पादन ८.७४ प्रतिशत बिन्दुले कमी थियो । अहिले पनि सोही हाराहारीको क्षेत्रफलमा रोपाइँ भइरहेको छ । तर, रोपाइँ हुने प्रतिशत बिन्दु भने घटेको छ । विभागको विवरणअनुसार प्रदेश १ मा ४८.४६ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी खेती र धान उत्पादन हुने मधेसमा ३९ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

वाग्मतीमा ६५ र गण्डकीमा ६२.३२ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनीमा ५३, कर्णालीमा ५६.३१ र सुदूरपश्चिममा ८७.४९ प्रतिशत रोपाइँ भएको विभागको तथ्यांक छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले पनि बर्खा ढिलाइ हुँदा रोपाइँमा कमी भएको जनाए । बर्खा भए रोपाइँको प्रतिशत ह्वात्तै बढ्ने उनको दाबी छ । ‘गत वर्षको तुलनामा ७/८ प्रतिशतको ग्याप छ । रोपाइँ हरेक दिन २/४ प्रतिशत बिन्दुले बढिरहेको छ,’ सन्जेलले भने, ‘पानी पर्‍यो भने रोपाइँ बढ्छ । अहिले कम देखिनुको कारण सिँचाइकै अभाव हो ।’ बढी धान खेती हुने प्रदेश १ मा कम रोपाइँले प्रतिशत कम देखिएको उनले बताए । कुल जीडीपीमा कृषि क्षेत्रको योगदान २५ प्रतिशत हो । कृषि जीडीपीमा धान र परालको योगदान १५ प्रतिशत छ । कुल जीडीपीमा धानको योगदान भने ३.०३ प्रतिशत छ । समयमै रोपाइँ नहुँदा उत्पादकत्वमा पनि असर गर्छ । त्यसको प्र्रत्यक्ष असर जीडीपीमै पर्ने जानकारहरू बताउँछन् ।

खडेरीले पटपट फुटेको खेत नियाल्दै रूपन्देहीको बुटवल–१८ का किसान । तस्बिर : सन्जु/कान्तिपुर

गत वर्ष मनसुन समयमै सक्रिय भएको र उत्पादन राम्रो भए पनि असोज ३१ र कात्तिक १/२ को बेमौसमी वर्षाले बाली सखाप पार्दा धान उत्पादन झन्डै ५ लाख टन घटेको थियो । अहिले भने सिँचाइको अभावले समस्या भएको छ । यसपालि समयमै रोपाइँ हुन नसकेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीको भनाइ छ । ‘धेरै उत्पादन हुने सप्तरी, सिराहालगायत जिल्लामा अकाशे पानीको भर परिरहनुपर्ने बाध्यता छ, त्यसैले उत्पादन राम्रो हुन्न कि भन्ने आशंका उब्जियो ।’ साउन दोस्रो सातासम्म रोपाइँको प्रतिशत वृद्धि नभए थप समस्या हुन्छ । रोपाइँ भदौसम्म भए पनि साउन तेस्रो सातापछि लगाइएको धान बालीको उत्पादन त्यति उत्कृष्ट नहुने उनको भनाइ छ ।

‘एक त सिँचाइ सुविधा भएन । जसकारण कतिपय क्षेत्रमा रोपाइँ हुन सकेको छैन । रोपाइँ भएको क्षेत्रमा पनि मल अभाव छ,’ मन्त्रालयका एक अधिकारीले भने । भन्सार विभागका अनुसार धान चामल खरिद गर्नकै लागि अर्बौं रुपैयाँ बिदेसिएको छ । पछिल्लो समय आयात परिमाण बढ्दै गएको छ । धान उत्पादनमा कमी आए आयात थप बढ्ने सम्भावना रहेको जानकारहरू बताउँछन् । विभागले भने साउनभर रोपाइँ हुने भएकाले रोपाइँको प्रतिशत बढ्ने दाबी गरिरहेको छ । ‘समयमै रोपाइँ नहुँदा उत्पादनमा अलिअलि असर त गर्छ नै, तर विगतको तुलनामा रोपाइँ हुने क्षेत्रफल बढेको छ,’ महानिर्देशक पौडेलले भने, ‘मनसुन सक्रिय भए रोपाइँमा समस्या हुँदैन ।’

रोपाइँको तथ्यांक फरक–फरक

धान रोपाइँको तथ्यांकमा कृषि मन्त्रालय र कृषि विभागकै विवरण बाझिएको छ । मन्त्रालयले असार २८ सम्म मुलुकभरमा औसत रोपाइँ ६० प्रतिशत भएको जनाएको छ । तर, तथ्यांक संकलन गर्ने कृषि विभागले ५४.१३ प्रतिशत मात्रै रहेको जनाएको छ । मन्त्रालय र विभागको विवरणमा मधेस र वाग्मतीको रोपाइँ विवरण मिले पनि अन्य प्रदेशको हकमा फरकफरक छ । मन्त्रालयले प्रदेश १ मा ४९, गण्डकीमा ७५, लुम्बिनीमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको जनाएको छ । यता विभागले भने प्रदेश १ मा ४८.४६, गण्डकीमा ६२.३२, लुम्बिनीमा ५३, कर्णालीमा ५६.३१ र सुदूरपश्चिममा ८७.४९ प्रतिशत रोपाइँ भएको उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण २, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

रोपो सुक्यो, खेतमा धाँजा

सन्जु पौडेल, नवीन पौडेल, कमल पन्थी

लुम्बिनी, परासी र बर्दिया — लुम्बिनी प्रदेशअन्तर्गत धान उत्पादन हुने तराईका जिल्लामा अहिले खेत बाँझै छन् । लामो सुक्खाले रोपो सुकेको छ । पानी अभावमा खेतमा धाँजा फाटेका छन् । जमिनमुनिको पानी तानेर फाटफुट रोपाइँ गरिएको छ । धेरै जमिनमा अहिले फुंग धूलो उड्छ । किसान बाँझो खेत हेरेर टोलाउन बाध्य छन् । रासायनिक मल अभावले पिरोलिएका किसानलाई वर्षा नहुँदा झन् मर्का परेको छ । प्रकृति अनुकूल नभएपछि किसान आफ्नै भाग्यलाई धिक्कार्न बाध्य छन् ।

रूपन्देहीको बुटवल–१८, दुवौलीका शोभाखर पाठक ७९ वर्ष पुगे । घराडैको चौतारामा आराम गरेका उनी बेलाबेलामा उठ्दै आँखाअगाडिको आफ्नो खेत हातले घाम छेक्दै नियालिरहेका थिए । बुबाकै पालादेखि खेती किसानी काम सिकेका उनको १ बिघा जमिन छ । आफूले जानेदेखि धान रोपाइँ गर्ने बेलामा र गरिसकेपछि दुईपटक खडेरीको अनुभव गरेको सुनाए । ‘यस्तो सुक्खा त मैले ०३४/३५ तिर जानें, त्यसपछि अहिल्यै हो,’ उनले भने, ‘अब भगवान् नडाकी नहुने भयो ।’

०३४/३५ मा असार मसान्तमा बीउ राखेर साउनमा रोपाइँ गरेको उनले सम्झिए । अहिले पनि पानी नपर्दा धान बाली लगाएको खेत नै पटपट फुटेर हेरिनसक्नुभएको उनले सुनाए । जमिन हुनेभन्दा नहुने मानिस सुखी रहेको उनको भनाइ छ । खेती लगाउँदा १ बिघाका लागि ५० हजार रुपैयाँ छुट्याउनुपर्ने उनले बताए । ‘खेताला, ट्र्याक्टर, मलखाद गर्दा पैसा बढी चाहिन्छ,’ उनले भने, ‘लगानी उठ्ने गुन्जायस नै छैन । बेलामा न मल पाइन्छ, न पानी पर्छ, श्रम पनि व्यर्थै जान्छ ।’

पाठककै छिमेकी शंकर थारूले २ बिघा खेतमा धान रोपेका छन् । पानी पार्न शिवजीको पूजा जरुरी रहेको उनको भनाइ छ । ‘हामी थारूहरूले शिवजीलाई पूजा गरेर ‘हे भोलेनाथ पानी पार्देऊ, हाम्रो अन्न बढाइदेऊ’ भन्छम्,’ उनले भने, ‘पुकार्ने दिन पानी परेकै हुन्थ्यो । अहिले त पापी मानिस बढी भएकाले भगवान् पनि रिसाए कि ! जति पुकारा गरे पनि पानी पर्दैन ।’ पानी पर्नु/नपर्नु प्रकृतिको विषय भए पनि किसानको आशा पानी परोस् भन्ने रहेको थारूले सुनाए । धान पर्याप्त नफले वर्षभरि खान पनि नपुग्ने उनले बताए । ‘अन्न बिक्री गरेर कमाम्ला भन्ने दिन गए,’ उनले भने, ‘सबका सन्तान विदेश लागे, खेती गर्ने मानिसको समेत कमी हुन थालिसक्यो ।’ केही दिन यत्तिकै रहने हो भने पहेंलिएको धान सुकेर मर्ने उनको चिन्ता छ ।

एक दिन कुलाको पानी लगाएर खेत भिजाए पनि २० दिनयता खेत सुक्खा रहेको तिलोत्तमा–६ की सुमित्रा क्षत्रीले सुनाइन् । २ बिघा खेतमा १५ जना खेताला लगाएर रोपेको धानको बिजोग भएको उनको गुनासो छ । ‘हारगुहार गरेर ट्र्याक्टर मगाउनुपर्छ, धान रोप्दा मल, बीउ सबै अभाव भयो,’ उनले भनिन्, ‘पानी नपरेपछि केको रोपाइँ !’ आउँदो वर्षदेखि त खेत बाँझै राखेर बस्ने निर्णय गरेको उनले सुनाइन् । कृषि विकास निर्देशनालयका अनुसार रूपन्देहीमा ९५ प्रतिशतभन्दा बढी रोपाइँ सकिसकेको छ । बाँकी जमिनमा रोपाइँ नहुन पनि सक्ने निर्देशनालयले जनाएको छ ।

आकाशे पानीको भरमा रोपाइँ गरेको खेतमा धानको बीउ अझै सरेको छैन । खडेरीले खेतमा धाँजा फाटेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका सहुवाटिकरका स्थानीयले शुक्रबार मध्य रातमा इन्द्र देवतालाई खुसी पार्न भन्दै टोलभरि पानी र दक्षिणा संकलन गरे । हरेक घरबाट एक माना पानी र केही दक्षिणा संकलन गरेर इन्द्र भगवान्को पूजा गरे । तराई क्षेत्रमा असार/साउनमा खडेरी पर्‍यो भने यसरी नै इन्द्र भगवान्को पूजा गर्ने प्रचलन छ । लगातारको खडेरीले जनजीवन प्रभावित भएपछि यसरी पूजा गरिएको स्थानीय चूरामणि चौधरीले बताए । ‘भर्खरै रोपेको रोपो सुक्न थालेपछि किसान समस्यामा छन्,’ उनले भने ।

शनिबार मध्याह्न १२ बजे बर्दघाट–१४ का रेशमप्रसाद चापागाईं खेतमा थिए । ३७ डिग्री तापक्रमको प्रवाह नगरी उनी वर्षभरि अन्न जोहो गर्ने खेतमा पानीको स्रोतको खाजीमा भौंतारिरहेका थिए । ‘१० कट्ठामा लगाएको धानको रोपो मर्‍यो भने वर्षभरि चामल किनेर खानुपर्छ,’ उनले भने, ‘खेतमा आउँदा मन रुन्छ । आकाशमा बादल मडारिन्छ तर पानी पर्दैन ।’ भर्खर रोपेको धानलाई प्रशस्त पानीको आवश्यकता पर्ने भए पनि चर्को घाम र वर्षा नहुँदा खेतमा धाँजा फाँटेपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लामा चर्को घाम लागेर गर्मी बढेको छ । केही स्थानमा भूमिगत सिँचाइमार्फत खेतमा पानी लगाएको भए पनि अधिकांश स्थानका किसान आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । रोपाइँको समयमा रासायनिक मलबिनै रोपाइँ गरेका किसानलाई समयमा पानी नपर्दा थप समस्या परेको छ । वर्षा नहुँदा धान खेतीमा असर गरेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख शिव अर्यालले बताए । जिल्लामा २१ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।

साउन लागिसक्दा पनि मनसुन सक्रिय नहुँदा बर्दियामा बियाड सुक्ने र धाँजा फाँट्न थालेको छ । बर्दियामा करिब ७५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा खेत धाँजा पर्न थालेको छ । गुलरिया नगरपालिकामा ९० प्रतिशत खेतमा रोपाइँ भएको कृषि शाखाले जनाएको छ । पम्पिङ सेट, विद्युतीय सिँचाइबाट रोपाइँ गरे पनि पानी नपर्दा यहाँका किसान निकै पीडित बनेका छन् । १ बिघामा रोपाइँ गरेको धान खेत सुक्दै गएको स्थानीय राजेन्द्र लोधको भनाइ छ । खेतमा पानी सुकेपछि धाँजा परेको उनले बताए ।

स्थानीय हरिराम चौधरीको रोपाइँ भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने उनले गुनासो गरे । राष्ट्रिय गौरवको सिँचाइ आयोजनाको नहरमा असार महिनामा पर्याप्त पानी छैन । अन्नको भण्डार मानिएको बर्दियामा ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । पम्पिङ सेटबाट सिँचाइ गरे पनि रोपाइँ कसरी गर्ने हो भन्ने चिन्ता किसानको छ । साउन पहिलो सातासम्म पानी नआए करिब १५ प्रतिशत धान उत्पादनमा कमी आउने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको अनुमान छ ।

बर्दियामा रोपाइँ भएको जानकारी सम्बन्धित पालिकाबाट प्राप्त भए पनि अन्य जानकारी नभएको कार्यालय प्रमुख विनोद घिमिरेले बताए । मनसुन चक्रमै भएको गडबडीले पानी नपरेको वातावरणका जानकार युवराज कँडेलले जनाए । पूर्वी क्षेत्रबाटै पानी प्रवेश नगरेकाले वर्षात् नभएको उनको भनाइ छ । ‘किसानले लगाएको रोपो मर्न थाल्यो, लगानी खेर जाने देखियो,’ उनले भने, ‘सरकारले धान उत्पादन बढाउने भनी देखेको सपना फेल खाने भयो ।’

प्रकाशित : श्रावण २, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×