कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सडक नपुगेको ठाउँमा सुरुङ !

उपयुक्त छ/छैन भन्ने अध्ययनबिनै छुट्याइयो बजेट, राजनीतिक दबाबमा बर्सेनि सुरूङको संख्या बढ्दै
विमल खतिवडा

काठमाडौँ — सडक पहुँच नै नपुगेको ठाउँमा सुरुङ निर्माण गर्न भन्दै सरकारले त्यसको अध्ययनका लागि बजेट छुट्याएको पाइएको छ । सुरुङ बनाउने भनिएका केही ठाउँमा प्रारम्भिक अध्ययनका लागि प्रयोग हुने मेसिन तथा औजार लैजान नै समस्या हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ ।

सडक नपुगेको ठाउँमा सुरुङ !

हचुवा र राजनीतिक दबाबमा बर्सेनि यसैगरी सुरुङको संख्या थप्दै लगिएको छ । तर सुरुङ बन्न कति वर्ष र खर्च लाग्छ, आकलन गरिएको छैन ।

‘सुरुङ भनेको रहर र लहडमा बनाउने कुरा होइन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पहिले, यसले के फाइदा हुन्छ, लगानी कति लाग्छ, कति समय लाग्छ, सबै विषय राम्ररी बुझ्नुपर्छ ।’ बनाउने क्षमता राज्यको छ/छैन भन्ने नै नबुझी मुलुक सुरुङ युगमा प्रवेश गर्‍यो भनेर हल्ला पिटाउने काम बढी भएको ती अधिकारीको भनाइ छ ।

सुरुङ निर्माणका लागि बजेट विनियोजन गरिए पनि सडक नपुगेको एउटा उदाहरण हो, रारा राजमार्गको कुशेपाटन र जुम्ला इमिलचा खोला सुरुङ । यसको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार गर्ने भन्दै बजेट वक्तव्यमा उल्लेख छ । अहिले उक्त सुरुङका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । करिब साढे ५ किमि अनुमान गरिएको सुरुङको अध्ययन प्रक्रिया अझै थालिएको छैन । जहाँ सडक नै बनिनसकेको मन्त्रालय स्रोतको दाबी छ ।

चितवनको दुम्लिङ–वासवाङ, बागलुङ–बिहुँ–नरेठाँटी, पाल्पाको प्रबास–जोर्ते, काभ्रेको गोदावरी–मानचौर खण्डमा कतै पहुँचमार्ग भए पनि कम सवारी गुड्ने र कतै हुँदै नभए पनि सुरुङबारे अध्ययन गर्ने भन्दै बजेटमा राखिएको छ । ‘रसुवागढी–बेत्रावती सडक सुरुङमार्ग कति लामो हुने हो, हाम्रो क्षमताले धान्न गाह्रो हुन्छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवप्रसाद नेपालले भने, ‘त्यसैले यस खण्डमा सुरुङ बनाउन सक्ने अवस्था छैन ।’

आर्थिक वर्ष ०७६/७७ को बजेटमा सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत एउटा अन्डरपास निर्माणसहित १२ सुरुङमार्ग निर्माण गर्ने भन्दै बजेटमा राखिएको थियो । यीमध्ये अहिलेसम्म सिद्धबाबा सुरुङको मात्र अध्ययन सकेर ठेक्का सम्झौता भएको छ । आर्थिक वर्ष ०७७/७८ मा उक्त संख्या बढाएर १३ पुर्‍याइयो । चालु आर्थिक वर्षमा यसको संख्या झन्डै दोब्बर बनाइएको छ । अन्डरपाससहित अध्ययन गर्ने भन्दै सुरुङको संख्या २२ पुर्‍याइयो ।

आगामी आर्थिक वर्ष ०७९/८० का लागि अन्डरपास र फ्लाई ओभरसहित उक्त संख्या बढाएर २३ पुर्‍याइएको छ । यसका लागि १ अर्ब १९ करोड ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसमध्ये सिद्धबाबा सुरुङ निर्माणमा मात्र ७४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘भविष्यमा छिटोछरितो रूपमा सवारी चलाउन चाहिने भनेको सुरुङ नै हो । तर बर्सेनि संख्या बढाउँदैमा सुरुङ बन्ने होइन । यसका केही सर्त छन् । सुरुङमा छिर्ने र निस्किने ठाउँसम्म सडक हुन जरुरी छ,’ नेपालले भने, ‘जसले अघिपछि सञ्चालनमा रहेको सडकको दूरी घटाउने र समयको बचत गर्ने काम गर्नुपर्‍यो ।’

अहिले प्रारम्भिक अध्ययन गर्ने भन्दै सुरुङमार्गको नाम बजेटमा राखिएको छ । ‘सडकको दूरी घटाए पनि थोरै सवारी गुड्छन् भने धेरै खर्च गरेर सुरुङ बनाउनुको अर्थ छैन, दूरी ५ किलोमिटर घटाएर १० हजार सवारी गुड्छन् भने त्यसले त्यहीअनुसारको नतिजा दिन्छ,’ नेपालले भने, ‘तर अहिले कतिपय सुरुङ भोलिका लागि आवश्यक पर्छ भनेर पनि अहिले अध्ययन गरिएको हुन सक्छ ।’

पूर्वसम्भाव्यता अध्ययन भएपछि यसको आर्थिक विश्लेषण गर्नुपर्छ । ‘एक किमि सुरुङ बनाउन ३ अर्ब रुपैयाँभन्दा बढी लाग्छ,’ उनले भने, ‘सुरुङ निर्माण सकेपछि समग्र अर्थतन्त्रमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषयको अध्ययन नै नगरी सुरुङमा लगानी गर्नु बेकार हुन्छ ।’ काठमाडौंमा धेरै ट्राफिक जाम हुने भएकाले केही अन्डरपास निर्माण गर्न जरुरी रहेको नेपालको भनाइ छ । ‘सुरुङ बोल्ने र भन्नेबित्तिकै बन्ने कुरा होइन । त्यसैले सबै ठाउँमा सुरुङ आवश्यक छैन ।

अहिले राजनीतिक दबाबमा सुरुङको संख्या थप्नु भनेको अलपत्र पार्नु मात्र हो,’ नेपालले भने, ‘अध्ययन गराउने र सुरुङको संख्या मात्र थप्दै जाने हो भने सरकारलाई आर्थिक भार मात्र पर्छ ।’ अध्ययनमा कम खर्च लागे पनि निर्माणमा धेरै खर्च लाग्ने उनको भनाइ छ । प्रारम्भिक अध्ययन भएकामा खुर्कोट–चियाबारी, दुम्कीबास–बर्दघाट, हेम्जा–नयाँपुल, कुलेखानी–भीमफेदी, टोखा–गुर्जेभन्ज्याङ, धरान–लेउती छन् । यीबाहेक केहीको अध्ययन भइरहेको र केहीको सुरु नै हुन सकेको छैन ।

बजेटको रातो किताबमा राखिएका सुरुङको अध्ययनबारे काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठले जनाए । ‘आगामी आर्थिक वर्षमा गत वर्ष अध्ययन नसकिएका सुरुङलाई नै निरन्तरता दिँदै अध्ययन अघि बढाइनेछ,’ उनले भने, ‘तिनको सम्भाव्यता अध्ययन मात्र हुनेछ ।’

तत्काल नयाँ सुरुङ निर्माण सुरु नहुने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘जहाँ मन लाग्यो, त्यहीं सुरुङ बनाएर भएन, त्यसमाथि हामीले बनाउने भनिएका सुरुङको दूरी छोटो छैन,’ थापाले भने, ‘६/७ सय मिटरभन्दा लामा छन् ।’ अहिले जताततैबाट सुरुङ निर्माणको माग आएको उनको भनाइ छ । ‘सुरुङमा लगानी गरिसकेपछि त्यसबाट प्रतिफल आउनुपर्छ,’ उनले भने, ‘जुम्लामा पनि सुरुङ निर्माणको माग आएको छ, त्यहाँ सुरुङ बनाएर प्रतिफल आउँछ/आउँदैन, सोच्नुपर्छ ।’ एक किमि सुरुङ निर्माणका लागि ३ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने र बनाइसकेपछि १४/१५ हजार गाडी गुड्ने अवस्था हुनुपर्ने उनले बताए ।

‘सुरुङ बनाउने तर ५० वटा पनि गाडी गुडेनन् भने बनाएर के फाइदा ?’ उनले भने, ‘त्यसैले अहिले अध्ययन मात्र गरेर राख्न खोजिएको हो । भविष्यमा सुरुङ बनाउनुपरे अहिलेको अध्ययनले सजिलो हुनेछ ।’ सडकको पहुँच नै नभएको ठाउँमा अध्ययन गर्न प्रस्ताव आएकाले प्रारम्भिक रूपमा ठाउँ हेर्ने काम मात्र गरिने महानिर्देशक थापाले जनाए ।

प्रकाशित : असार २९, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?