कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

धेरै सूचकमा कर्णाली र सुदूरपश्चिमभन्दा मधेस अगाडि

यज्ञ बञ्जाडे

काठमाडौँ — आर्थिक गतिविधिका हिसाबले अन्य प्रदेशको तुलनामा मधेस प्रदेश केही पछि परे पनि बहुसंख्यक सूचकमा कर्णाली र सुदूरपश्चिमभन्दा अघि छ । राष्ट्रिय अर्थतन्त्रमा मधेसको योगदान र क्षेत्रगत आर्थिक स्थितिको तुलनात्मक विवरणका आधारमा भने यो प्रदेश केही पछाडि छ । यद्यपि खेतीयोग्य जमिन, औद्यागिक क्षमता, उपलब्ध जनशक्ति, सडक यातायात, पर्यटनलगायतमा यो प्रदेश प्रचुर सम्भावना भएको क्षेत्र हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा यस प्रदेशमा रहेका आर्थिक गतिविधिका अवस्था यस्ता छन्—

धेरै सूचकमा कर्णाली र सुदूरपश्चिमभन्दा मधेस अगाडि

जीडपीमा हिस्सा १३.२८ प्रतिशत

चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल जीडीपीमा मधेसको हिस्सा केही घटेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो

हिस्सा १३.७८ प्रतिशत थियो । चालु आर्थिक वर्षको कुल जीडीपीमा वाग्मतीको अंश सबैभन्दा बढी ३६.९१ प्रतिशत र कर्णालीको सबैभन्दा कम ४.०८ प्रतिशत छ ।

आर्थिक वृद्धिदरमा कमजोर

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कोभिडको प्रकोप सामान्य भई औद्योगिक क्रियाकलाप र पर्यटन आगमनका साथै सेवा क्षेत्रका सबै गतिविधिमा वृद्धि देखिएको छ । सबै

मौसममा वर्षात् भइरहेकाले कृषिजन्य वस्तुहरूको उत्पादन बढ्नुका साथै आवागमनमा

सहजताले साना–ठूला सबै प्रकारको व्यापार व्यवसायसमेत वृद्धि हुने देखिएकाले सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर बढ्ने प्रक्षेपण गरिएको छ । प्रदेशगत आधारमा हेर्दा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा बढी वाग्मतीमा ६.७४ र कम वृद्धिदर मधेसमा ४.८२ प्रतिशत रहने अनुमान छ ।

निक्षेप र कर्जा उपयोगमा पाँचौं

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन र कर्जा प्रवाहका हिसाबले सात प्रदेशमध्ये यो प्रदेश पाँचौं स्थानमा छ । निक्षेप संकलन र कर्जा प्रवाहका हिसाबले वाग्मतीको हिस्सा सबैभन्दा धेरै छ । कर्णाली भने सबैभन्दा पछि छ । सोही अवधिमा मधेसले निक्षेपमा ५.०४ र कर्जामा ९.१३ प्रतिशत हिस्सा ओगटेको छ । कृषि र सहुलियतपूर्ण कर्जाको उपयोगमा भने यो प्रदेश केही अघि देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा कुल कृषि कर्जामा मधेसको हिस्सा १६.६२ र सहुलियतपूर्ण कर्जामा २१.१५ प्रतिशत छ । अन्य प्रदेशसँग तुलना गर्दा कृषि कर्जामा तेस्रो र सहुलियत कर्जामा दोस्रो स्थान मधेसको छ । बैंक तथा वित्तीय संस्थाका कुल शाखा संख्या ११ हजार २ सय १५ मध्ये सबैभन्दा बढी वाग्मतीमा २ हजार ८ सय ६६ छन् । सबैभन्दा कम भने कर्णालीमा केवल ४ सय ४४ शाखा छन् ।

कृषि क्षेत्र बढ्यो

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले मधेसमा कृषि क्षेत्रमा ३४ अर्ब ८४ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा २६.०१ प्रतिशत बढेको हो । गत वर्षर्को सोही अवधिमा यस्तो कर्जा २७ अर्ब ६५ करोड थियो । आर्थिक वर्ष ०७८/७९ को ६ महिनासम्म मधेसमा प्रमुख कृषि बालीअन्तर्गत खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्रफल ९ लाख १६ हजार २ सय ८० हेक्टर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त भू–क्षेत्रफल १.२५ प्रतिशत बढेको हो । उक्त अवधिमा सप्तरी, सिरहा, धनुषा, सर्लाही र पर्सामा धान बालीले ढाकेको भू–क्षेत्रमा क्रमशः १.७५, १.०८, ३.५७, २.८६ र १०.६५ प्रतिशतले वृद्धि भएको छ । तर रौतहटमा १.०३ र बारामा ०.०८ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

उद्योगको क्षमता उपयोगमा सुधार

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मधेसमा रहेका उद्योगहरूको औसत क्षमता उपयोग ४९.९२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ५.०७ प्रतिशत बिन्दुले बढी हो ।

गत वर्षको सोही अवधिमा औसत क्षमता उपयोग ४४.८५ प्रतिशत थियो । कोभिड संक्रमणमा कमी आई उद्योग सञ्चालनमा आउनु तथा उपभोक्ताको माग बढ्नुका साथै कच्चा पदार्थको आपूर्तिमा सहजता भएका कारण चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

‘उक्त अवधिमा मदिरा उद्योगले सबैभन्दा बढी ९३.९३ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ । वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.९३ प्रतिशत देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘वनस्पति घिउ उद्योगको क्षमता अति न्यून रहनुमा हालका दिनमा वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु र यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै जानु प्रमुख कारण देखिन्छ ।’

औद्योगिक कर्जा २० प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले मधेसमा औद्योगिक क्षेत्रमा कुल १ खर्ब १२ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २०.४३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षर्को सोही अवधिमा यस्तो कर्जा ९३ अर्ब २८ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा मधेसमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी पर्सामा ६१.४५ र सबैभन्दा कम सप्तरीमा २.५३ प्रतिशत छ । मधेसमा सबैभन्दा धेरै उद्योग पर्सामा छन् । कोभिडको महामारी सामान्य हुँदै गएपछि उद्योगहरूको सञ्चालन क्षमता उपयोग बढेको छ । यसरी औद्योगिक गतिविधि र उत्पादन बढ्दै गएकाले पर्सामा सबभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको बताइएको छ ।

यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तु उत्पादन उद्योगमा ५१.६९, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगमा २५.६०, निर्माण उद्योगमा १४.३०, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ६.९० प्रतिशत छ । खानी उद्योगमा १.११ र विद्युत्, ग्यास तथा पानी उद्योगमा ०.४० प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

घरजग्गा रजिस्ट्रेसन २५ प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मधेसमा ८९ हजार ६ सय ६ वटा घरजग्गाको रजिस्ट्रेसन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब २५ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा घरजग्गा रजिस्ट्रेसन संख्या २०.८३ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको ६ महिनासम्ममा घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व १ सय ५१.२२ प्रतिशत बढेर २ अर्ब २९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम ९१ करोड रुपैयाँ मात्र थियो ।

नक्सा पास स्वीकृत संख्या ९.८९ प्रतिशतले बढेको छ । कोभिड संक्रमण बढेपछि गरिएको निषेधाज्ञाका कारण विगतका वर्षमा मालपोत कार्यालय बन्द थिए । बन्दाबन्दी खुलेपछि जनजीवन सहज भई घरजग्गा रजिस्ट्रेसनको संख्यामा भएको वृद्धि तथा घरजग्गाको सरकारी मूल्यांकन तुलनात्मक रूपमा बढेको प्रतिवेदनले औंल्याएको छ । ‘सहरी क्षेत्रमा सरकारी मूल्यांकनभन्दा बजार मूल्य धेरै गुणा बढी भएको, खरिद–बिक्रीको दृष्टिले किनिएका र छोटो समयमा बिक्री हुने घरजग्गाबाट असुल गरिएको पुँजीगत लाभकर आदि कारणले घरजग्गा रजिस्ट्रेसनको संख्या वृद्धिको तुलनामा राजस्व संकलनमा उल्लेख्य मात्रामा बढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

चालु आर्थिक वर्षको पुससम्म मधेसमा दर्ता भएका कुल सवारीसाधनको संख्या १० लाख ९९ हजार ३ सय ५८ वटा छ । गत वर्षको सोही अवधिको तुलनामा यो ६.८५ प्रतिशतले बढेको हो । गत वर्षको पुससम्म यस प्रदेशमा कुल सवारीसाधनको संख्या १० लाख २८ हजार ८ सय ४३ थियो । यो वर्ष थपिएका सवारीसाधनमध्ये मोटरसाइकल ६.३५ र अन्य यातायात साधनको संख्यामा ४.३६ प्रतिशतले बढेको छ ।

मधेस प्रदेशमा पूर्वाधार विकासका राष्ट्रिय आयोजनामध्ये जयनगर–जनकपुर कुर्था रेलवे, काठमाडौं–तराई मधेस द्रुतमार्ग, हुलाकी राजमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायत सञ्चालनमा छन् । तीमध्ये जयनगर–जनकपुर कुर्था रेलवे सञ्चालनमा आइसकेको छ ।

काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजना राजधानी काठमाडौंलाई तराई मधेससँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्त्वको देशकै पहिलोस्तरीय सडक तथा द्रुतमार्ग हो । ०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सोही वर्षको साउनदेखि नेपाली सेनालाई आयोजना हस्तान्तरण भई निर्माण सुरु भएको हो । यसको लम्बाइ ललितपुरको खोकनादेखि सुरु भई मकवानपुर हुँदै बाराको निजगढसम्म चार लेनसहितको जम्मा ७२.५ किमि छ । सडकको कुल लम्बाइमध्ये ५५.५ किमि सडक खण्ड, १०.५९ किमि पुल र ६.४१ किमि सुरुङमार्ग हुने परियोजनाको विवरणमा उल्लेख छ । यद्यपि विविध कारण देखाएर सडक निर्माणको काममा ढिलाइ भएको बताइएको छ ।

आर्थिक वर्ष ०६६/६७ बाट सुरु भएको हुलाकी राजमार्ग आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य छ । गत पुससम्म कुल १ हजार ७ सय ९२ किमिमध्ये ७ सय ९५.२१ किमि कालोपत्र सकिएको छ । बाँकी ५ सय ८१ किमि सडक निर्माणाधीन छ । उक्त राजमार्गअन्तर्गतको कुल २ सय १९ पुलमध्ये १ सय १ वटा पुल सकिएका छन् । निर्माण हुन बाँकीमध्ये ५ सय ८१ किमि सडक निर्माणाधीन छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आर्थिक वर्ष ०७१/७२ बाट सुरु भएको हो । आर्थिक वर्ष ०८५/८६ मा यो आयोजना सक्ने लक्ष्य छ । प्रतिवेदनअनुसार यसको अनुमानित लागत ७ खर्ब थियो । राष्ट्रिय गौरवको यस आयोजनाको स्वीकृत कुल लागत १ खर्ब ६५ अर्ब रुपैयाँ छ ।

तंग्रिँदै पर्यटन

चालु आर्थिक वर्षको ६ महिनामा मधेसको पर्यटन क्षेत्र बिस्तारै तंग्रिन थालेको देखिन्छ । कोभिडका कारण अघिल्ला दुई आर्थिक वर्षमा सुस्ताएको यस क्षेत्रको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेको प्रतिवेदनले देखाएको छ । गत असारदेखि पुससम्म यस प्रदेशमा कुल ७ हजार ९२ जना पर्यटक भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २ सय प्रतिशतभन्दा धेरैले बढी हो । उक्त अवधिमा यस प्रदेशमा आएका कुल पर्यटकमध्ये भारतबाट ६ हजार ८ सय ४१ जना र तेस्रो मुलुकबाट २ सय ५१ जना छन् ।

गत वर्षको सोही अवधिमा पर्यटक आगमन ७४.२२ प्रतिशतले घटेर २ हजार ३ सय ३६ जनामा सीमित थियो । कोभिडको प्रभाव कम भएको, पर्यटक आवागमनमा सहजता आएको लगायत कारण समीक्षा अवधिमा पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै होटलहरूको व्यवसाय वृद्धि भएकाले यो क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि रोजगारीको अवसरसमेत वृद्धि भएको देखिन्छ । मधेसका पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीको संख्या पनि गत वर्षको तुलनामा २४.१७ प्रतिशत बढेको प्रतिवेदनले देखाएको छ । गत वर्षको पहिलो ६ महिनामा मधेस प्रदेशको रोजगारी ३०.१३ प्रतिशतले घटेको थियो ।

प्रकाशित : असार २४, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?