२ हजारमुनि झरेर उक्लियो सेयर बजार - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ हजारमुनि झरेर उक्लियो सेयर बजार 

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर बजार खुल्दा नेप्से परिसूचक २०३० अंकमा थियो । क्रमिक रुपमा बजार ओरालो लाग्दै साढे १२ बजे १९९५ अंकसम्म झर्‍यो ।  पौने १ बजेपछि भने नेप्से उकालो लाग्यो । अन्तत: बजार बन्द हुँदा अघिल्लो दिनको तुलनमा १३.३३ अंकले बढेर नेप्से २०४३ अंकमा कायम भयो । २ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

बैंकिङ उपसमूह १ अंकमुनि रातो रह्यो । विकास बैंक ७२, फाइनान्स ४२, होटल तथा पर्यटन १६, जलविद्युत् ३३, जीवन बीमा २६६, उत्पादन २०, माइक्रोफाइनान्स १०, अन्य २१ र ब्यापार उपसमूह १ अंक बढे । निर्जीवन बीमा उपसमूह ३५ अंक घट्यो । कुल १२३ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने १० को स्थिर रह्यो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयनसँग गाभिने हल्लाले सिभिल बैंकको मूल्य ७ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा गोर्खा फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिभिल बैंक, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।


प्रकाशित : असार २२, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्

९० केजी गाँजासहित २ जना भारतीय पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले २ जना भारतीय नागरिकलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित कमलसागर गोपालपुर निस्फी घर भएका ३० वर्षीय रविकान्त भारती र बिहारको बेतीया जिल्ला पश्चिम चम्पारणस्थित डाकघर तेलुवा वडा नम्बर १० घर भएका २८ वर्षीय सुनिल भारती छन् ।

उनीहरूलाई प्रहरीले मंगलबार राति १० बजे वीरगन्ज महानगरपालिका वडा नं २८ बगही गेट नजिकबाट पक्राउ गरेको हो । उक्त बाटो हुँदै गाँजा ओसारपसार भइरहेको सूचनाका अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले युपी ७० बिके ९९५५ नम्बरको कारलाई रोकेर जाँच गर्दा उक्त कारको डिकी र सिटमुनि लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको थियो ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७९ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×