बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने

काठमाडौँ — नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने

संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषद्बाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष ब्रोकर लाइसेन्सका लागि नेप्सेले आवेदन खुला गर्नेछ भने निजी कम्पनी र संस्थागत कम्पनी दुवैले सेयर ब्रोकरका लागि आवेदन दिन सक्नेछन् । अब बैंकको सहायक कम्पनीसँगै अरु प्राइभेट कम्पनी, पब्लिक कम्पनी सबैलाई ब्रोकर लाइसेन्स लिन बाटो खुला भएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।

‘हामीले मापदण्ड पुगेका सबै आवेदनलाई ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत व्यवस्था गर्दै छौं,’ उनले भने, ‘यो व्यवस्था पूर्ण रूपमा पारदर्शी हुन्छ । पहुँच र शक्तिको आधारमा लाइसेन्स पाउने व्यवस्थाका अन्त्य भएको छ ।’

नेपालको कानुनले बैंकको सहायक कम्पनीले सेयर कारोबारका लागि ब्रोकर लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम करिब तीन वर्षअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन मागेको थियो । सोहीअनुसार १२ वटा बैंकको सहायक कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन पनि दिएका छन् । आवेदन दिने मिति नसकिँदै संसदको अर्थ समितिले प्रक्रिया रोक्न निर्देशन दिएपछि प्रक्रिया रोकिएको थियो । त्यो प्रक्रिया अझै सुरु भएको छैन ।

प्रकाशित : असार २२, २०७९ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?