अफ सिजनमै होटलमा भारतीय पर्यटकको भीड

कोभिडले सुनसान रुपन्देहीका होटल भारतीय पर्यटकको आगमनसँगै गुल्जार हुन थाले, लुम्बिनीमा पनि चहलपहल बढ्यो
सन्जु पौडेल

लुम्बिनी — बर्खाको समय भए पनि लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लामा भारतीय पर्यटकको संख्या उल्लेख्य छ । कोरोना जोखिम कम भएसँगै रूपन्देहीका होटलमा भारतीयको भीड बढ्न थालेको हो । धार्मिक घुमघाम र बिदा मनाउन आउनेको संख्या यहाँ धेरै छ । प्रदेशका लुम्बिनी, स्वर्गद्वारीलगायत धार्मिकस्थल लक्ष्य गरेर घुम्न आउने धेरै छन् । 

अफ सिजनमै होटलमा भारतीय पर्यटकको भीड

केही प्रदेशका पहाडी जिल्लामा गर्मी छल्न आउने पनि छन् । जसले गर्दा जिल्लाका होटल तथा रेस्टुराँमा भारतीय पर्यटक बास बस्ने र खाजा/खाना खानेको भीड लाग्ने गरेको छ । विगतमा सार्कबाहेकका मुलुकका पर्यटक आगमनले भरिभराउ हुने होटलमा अहिले आन्तरिक र भारतीय नागरिक धेरै आउने गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि रूपन्देहीको लुम्बिनी आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ती पर्यटक भैरहवा, लुम्बिनी र बुटवलका होटलमा बास बस्ने र घुम्ने गर्दा होटल व्यवसायीलाई समेत आम्दानीको बाटो भएको छ । भारतका धेरैजसो पर्यटक जिल्लाका पौवा, पवन प्यालेस, टाइगर प्यालेस, ड्रिमल्यान्ड, हिडन प्यालेस, मौर्या, बोधी रेडसन, सिद्धार्थ कटेज, लुम्बिनी रिसोर्टलगायत होटलमा बास बस्ने गर्छन् । बास बस्ने पर्यटकले खानासमेत खाने गरी आउँदा होटल सञ्चालनमा सहयोग पुग्ने गरेको व्यवसायी बताउँछन् ।

पछिल्लो समय भारतीय नागरिक होटलमा राम्रो संख्यामा आइरहेको सिद्धार्थनगरस्थित होटल मौर्याका प्रबन्ध निर्देशक सुनील श्रेष्ठले बताए । दैनिकजसो २० जना भारतीय पर्यटक होटलमा बास बस्ने गरी आइरहेको उनले सुनाए । ‘पहिले होटलमा बास बसी आफ्ना काम वा अन्य जिल्ला जानेहरू बढी आउँथे,’ उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएपछि लुम्बिनी हेर्न आउनेहरू बढी छन् ।’ होटलमा रहेका ८० कोठामध्ये ५० कोठा बुक हुँदा धेरैजसोमा भारतीय नै हुने गरेको उनले जनाए ।

क्यासिनोसमेत सञ्चालनमा रहेको यहाँको बोधी रेडसन होटलमा आन्तरिक पर्यटकको तुलनामा दोब्बर भारतीय पर्यटक आउने गरेका छन् । यो शृंखला कोरोना महामारी साम्य भएपछि चलेको प्रबन्ध व्यवस्थापक सुदीर द्विवेदीको भनाइ छ । होटलका ५० प्रतिशत कोठा भारतीय पर्यटकले नै भरिएका छन् । काम गर्नेहरू समेत साँझ परेपछि क्यासिनोमा आउने तथा बास बसेर बिहानी खाजा लिई फर्कने गरेको उनले बताए ।

‘भैरहवामा एक रात बिताई पोखरा, काठमाडौं तथा मनकामना जानेहरू बढी आएका छन्,’ उनले भने, ‘असार लागेपछि केही कम पर्यटक आएको भए पनि कोरोना त्रास हटे भारतीय पर्यटक अझ बढ्ने निश्चित छ ।’ पाँचतारे होटल पवन प्यालेसमा भारतीयसँगै युरोपियन पर्यटकसमेत बढेको सञ्चालक पवन हलुवाईको भनाइ छ । ‘दैनिक २० वटा रुम विदेशी पर्यटकले बुक गरिरहेका छन्,’ उनले भने, ‘भारतका मात्रै आउँछन् भन्ने छैन । तेस्रो मुलुकका समेत आउँदा व्यापारमा केही सुधार आएको छ ।’ पाहुनाले होटलमै खाना खाइदिँदा झनै राम्रो भइरहेको उनले सुनाए ।

नेपालभरि धेरै शाखा रहेको होटल पौवामा भारतीय नागरिक खाजा र खाना खान आइरहेको होटलका ब्रान्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए । यसरी आएका पाहुना विभिन्न स्थल घुमेपछि होटलमा बास बस्ने गरेका छन् । यसबाहेक सीमावर्ती भारतीय सुनौली, नौतनवाबाट दैनिकजसो आएर खाना खाएर फर्किने गरेका छन् । आइतबार भारतमा साप्ताहिक बिदा हुने भएकाले उनीहरू घुम्न यता आउने गरेको उनले जनाए ।

सुनसान बनेका रूपन्देहीका होटल भारतीय पर्यटकको आगमनसँगै गुल्जार हुन थालेका छन् । लुम्बिनीमा पनि चहलपहल बढेको छ । लुम्बिनी विकास कोषका अनुसार जेठमा मात्रै २५ हजार ६५ भारतीय पर्यटक लुम्बिनी घुम्न आएका थिए ।

प्रकाशित : असार २२, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?