साना ठेक्काको जिम्मा फेरि उपभोक्ता समितिलाई नै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

साना ठेक्काको जिम्मा फेरि उपभोक्ता समितिलाई नै

भ्रष्टाचार हुने, समयमै काम नसकिने र भएका काम पनि गुणस्तरहीन रहेका भन्दै तत्कालीन मन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिलाई रोक लगाउन गरेको निर्णय उल्टाइयो 
विमल खतिवडा

काठमाडौँ — सहरी विकास मन्त्रालयले सर्वोच्च अदालतको अन्तरिम आदेश भन्दै निर्माणका काम उपभोक्ता समितिमार्फत गराउन भवन विभागलाई पत्र पठाएको छ । मन्त्रालयले मंगलबार पत्र पठाउँदै गत मंसिरबाट रोक लगाइएको उपभोक्ता समितमार्फत हुने निर्माणका कामलाई पुनः खुलाएको हो । 


महालेखापरीक्षकले वार्षिक प्रतिवेदनमै उपभोक्ता समितिमार्फत हुने काममा भ्रष्टाचार हुने, समयमै काम नसकिने र भएका काम पनि गुणस्तरहीन रहने गरेको भन्दै उपभोक्ता समितिमार्फत काम नगराउन सुझाव दिएको थियो । तर बीच केही समय उक्त सुझाव कार्यान्वयन भए पनि अहिले सर्वोच्चको आदेश शिरोपर गरी मन्त्रालय उपभोक्ता समितिलाई काम सुम्पिने निर्णयमा पुगेको हो । सार्वजनिक खरिद नियममा एक करोड रुपैयाँसम्मका ठेक्का उपभोक्ता समितिमार्फत गर्ने व्यवस्था छ ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न भनेर भवन विभागलाई पत्र पठाइसकिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए । ‘मन्त्रालयले गरेको निर्णय तत्काल लागू नगर्नू, नगराउनू भनेर सर्वोच्चले आदेश गरेको छ,’ उनले भने, ‘नयाँ ठेक्कामा उपभोक्ता समितमार्फत हुने काममा रोक लगाइएको थियो, अब फेरि खुलेको छ ।’

सार्वजनिक खरिद कानुनअनुसार उपभोक्ता समितिले काम नगरेको भन्दै तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अर्को व्यवस्था नभएसम्मका लागि काममा रोक लगाएकी थिइन् । ‘उपभोक्ता समितिले खरिद कानुनअनुसार काम गरेनन्, उपभोक्ता समितिले उल्टेै ठेकेदार राखेर काम गरेको पाइएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘नुवाकोटका उपभोक्ताले काभ्रेमा समेत काम गरेको पाइयो, त्यसैले तत्कालीन मन्त्री झाँक्रीले रोक लगाउने निर्णय गरेकी थिइन् ।’

मन्त्रालय स्रोतका अनुसार महालेखाको ५६, ५७ र ५८ औं वार्षिक प्रतिवेदनमा उपभोक्ता समितिमार्फत हुने काममा सबैभन्दा ठूलो बेरुजु देखिएको भन्दै यसलाई नियमन र नियन्त्रण गर्न गर्न सुझाइएको थियो । अख्तियारले पनि पटकपटक परिपत्र गरेर यस्तो तरिकारले काम नगर्न सुझाव दिएको मन्त्रालय स्रोतको भनाइ छ । ‘जुन उद्देश्यले उपभोक्तामार्फत काम गराउने भनिएको थियो, त्यो उद्देश्यभन्दा बाहिर गइसकेपछि खरिद कानुनमै अर्को व्यवस्था गर्नुपर्ने भयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैले अर्को व्यवस्था नहुन्जेल भनेर मन्त्री झाँक्रीले रोकेकी हुन् ।’ अहिले आएका सहरी विकासमन्त्री मेटमणि चौधरी भने चुनावलाई लक्ष्य गरेर उपभोक्ता समितिमार्फत काम गराउन दिने निर्णय कार्यान्वयन गराउनमा सक्रिय भएको मन्त्रालय स्रोतको दाबी छ ।

यता पूर्वमन्त्री झाँक्री भने खरिद कानुनअनुसार उपभोक्ता समितिले काम नगरेपछि उनीहरूमार्फत हुने काममा रोक लगाएको बताउँछिन् । ‘एउटै उपभोक्ता समितिले ठेकेदार भएर योजना हालेको पनि देखियो । त्यसैले यस्तो काम मैले रोक्न लगाएकी थिएँ । उपभोक्ताले गरेको काममा मिलेमतो रहेको पाइयो,’ उनले भनिन, ‘उपभोक्तामार्फत काम हुँदा तल्लो तहसम्म भ्रष्टीकरण हुने कुरा महालेखाको प्रतिवेदनमा पनि उल्लेख छ ।’ उपभोक्ताबीच बसेर ठेक्का लगाई रकम लिने काम मात्र भएको उनको दाबी छ । ‘सहरी विकास मन्त्रालयको बजेट सिलिङ ३१ अर्ब आउँछ । त्यसमध्य करिब १३ अर्ब रुपैयाँको काम उपभोक्ता समितिमार्फत हुन्छ,’ उनले भनिन्, ‘यति धेरै रकममा काम हुँदा विकृति नआओस्, भ्रष्टाचार नहोस् भनेर उपभोक्ता समितिमार्फत हुने काममा रोक लगाएकी थिएँ ।’

यता सहरी विकासमन्त्री चौधरीले भने आफूले सर्वोच्चको आदेश पालन गर्ने काम मात्र गरेको दाबी गरे । ‘उपभोक्ता समितिमार्फत हुने कामबारे अध्ययन गर्न लगाएँ, उपभोक्तामार्फत काम गराउँदा कामको गुणस्तर र परिणाम, खर्च के छ, सबै अध्ययन गरियो,’ उनले भने, ‘निर्माण कार्यमा जनतालाई जतिसक्दो धेरै सहभागी गराउनुपर्छ भन्ने देखियो ।’

१० लाखको योजना दिँदा राम्रो काम गरेको र पैसा बचाएर राखेको देखेको उनको दाबी छ । यसअघि भने उपभोक्ता समितिमार्फत हुने ठेक्कामा खर्च हुँदा काम गुणस्तरहीन भएको, भ्रष्टाचार बढेको र काममा समेत ढिलासुस्ती हुने गरेको मन्त्रालयले औंल्याएको थियो ।

प्रकाशित : असार २२, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

ठूलो लक्ष्यमा इंग्ल्यान्ड सफल

‘यो जित आफैंमा अद्वितीय छ,  टेस्ट क्रिकेट कसरी परिवर्तन भइरहेको छ, त्यो सबैले बुझ्नेछन्’
द गार्डियन

एजबास्टन — हल्का चिसो र पानी पर्नसक्ने सम्भावनाबीच पाँचौं तथा अन्तिम दिन । पुनर्जन्म पाएको इंग्ल्यान्डले आफ्नो क्रिकेट इतिहासमै चौथो इनिङ्समा सबैभन्दा ठूलो लक्ष्य पछ्याएर मंगलबार ऐतिहासिक जित निकालेको छ ।



इंग्ल्यान्डले भारतलाई ७ विकेटले हराउन ३ सय ७८ रनको लक्ष्य प्राप्त गरेको थियो । यसक्रममा टोलीको जित यस्तो थियो । मानौं, त्यसका लागि कुनै प्रकारको कडा मिहिनेत नै आवश्यक थिएन । यो जितका नायक एकपल्ट फेरि जो रुट र जोनी बेरिस्टो रहे ।

यो जितले इंग्ल्यान्ड र भारतबीचको ५ टेस्टको शृंखला २–२ को बराबरीमा छुट्यो । यसै कारण शृंखला घरेलु टिमको नाममा बस्यो । बाँकी विश्व क्रिकेटका लागि भने इंग्ल्यान्डले तय गरेको यो यात्रा अविश्वसनीय रह्यो । अविश्वसनीयभन्दा पनि स्तब्धपूर्ण । कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याकलम आएपछि त यो टिम चौथो इनिङ्समा विजय लक्ष्य पछ्याउन सबैभन्दा माहिर बनेको छ । जुन केही दिनअघिसम्म पनि असम्भव जस्तै देखिन्थ्यो ।

भर्खर जस्तो, इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको तीन टेस्ट शृंखलामा लगातार २ सय ७७, २ सय ९९ र २ सय ९६ रनको लक्ष्य चौथो इनिङ्समा सफलतापूर्वक पछ्याएको थियो । यससँगै इंग्ल्यान्ड विश्व टेस्ट च्याम्पियनसिपमा ह्वाइटवास रच्न पनि सफल रह्यो । यतिमात्र होइन, हेडिङ्लेमा अहिलेका कप्तान स्टोक्सको बहादुरीपूर्ण ३ सय ५९ रनको लक्ष्य पछ्याए पनि ओझेलमा परेको छ । त्यो नाटकीय जित थियो । तर, एजबास्टनमा त्यस्तो केही पनि भएन ।

बरु भइदियो केभन्दा स्टोक्स बार्दलीमा बसेर खेल हेरिरहे । विकेट झरेको खण्डमा ब्याटिङका लागि मैदानमा ओर्लिन । उनको पालो नै आएन । यता मैदानमा भने रुटले नटआउट रहेर १ सय ४२ रन बनाए । त्यो पनि १ सय ७३ बलमात्र सामना गरेर । अर्का नटआउट ब्याट्सम्यान बेरिस्टोले १ सय १५ बलमा १ सय १४ रन जोडे । सन् २०२१ यता रुटको यो ११ औं शतक हो भने समग्रमा २८ औं ।

अर्कोतर्फ बेरिस्टो भने आफ्नो खेलजीवनकै सबैभन्दा उच्च लयमा छन् । उनले पछिल्ला पाँच इनिङ्समा चौथो शतक बनाए । शृंखलाको यस अगाडिका चार टेस्टमा भारत २–१ ले अगाडि थियो । भारतले लर्डस र ओभलमा भएको टेस्ट जित्ने क्रममा निकै राम्रो प्रदर्शन गरेको थियो । तर, लगभग यही टिम दुई योर्कसायर ब्याटर जोडी अगाडि फितलो देखियो । पाँचौं दिन ९० मिनेटको खेलभित्र उनीहरूले १ सय १९ रन बनाए । उनीहरूको प्रदर्शन कति धेरै उत्कृष्ट रह्यो भने भारतीय बलर लगातार लाचारजस्तै रहे ।

दुवै ब्याटरले दिनको सुरआत ७० रनको छेउछाउबाट गरेका थिए । गत साता न्युजिल्यान्डविरुद्ध लिड्समा प्राप्त जितमा यी दुई खेलाडीले जस्तो प्रदर्शन गरेका थिए, एजबास्टनमा त्यसको ठीक उल्टो रह्यो । रुट यसपल्ट बढी आक्रामक रहे । उनले १ सय ३६ बलमा नै आफ्नो शतक पूरा गरे । यसक्रममा उनले केही बहादरीपूर्ण ड्राइभ पनि खेले । उनको केही प्रहार प्रतिष्ठाको ठीक विपरीत गैरपारम्परिक रहे । यो कस्तोसम्म रह्यो भने रिर्जभ स्कुपमा पनि रुटले छक्का प्रहार गरे ।

कमालका बेरिस्टो

बेरिस्टोले सन् २०२२ का आठ टेस्टमा बनाएको यो छैटौं शतक रह्यो । यस जितका क्रममा इंग्ल्यान्डको ‘बिज बल’ रणनीतिको कमाल स्पष्ट देखियो । यो रणनीति इंग्ल्यान्डका अहिलेका प्रशिक्षक म्याकलमको नाममा राखिएको छ । यो रणनीतिमा सबैभन्दा सफल ब्याटर रहे उनै बेरिस्टो । उनले जितपछि भने, ‘यो निकै उत्साहबर्द्धक जित रह्यो । पछिल्लो समय मैले जति पनि समय मिडियासँग कुराकानी गर्ने अवसर पाएको छु, त्यो सुखद नै रहेको छ ।’

उनले थपे, ‘मलाई विश्वास छ, यो क्रम जारी रहनेछ । रुटले पनि निकै राम्रो खेलिरहेका छन् । हामी दुवैले जसरी दुई दिन खेल्यौं, यो निकै खुसी दिने खालेको छ । तीन विकेट गुमाएर ३ सय ७८ रनको लक्ष्य पछ्याउनु भनेको आफैंमा ऐतिहासिक अवसर हो । हामी यो टेस्टलाई कहिले पनि भुल्ने छैनौं । यो जित पछाडि पहिलो विकेटका लागि भएको शतकीय साझेदारी पनि जिम्मेवार छ । त्यसैले ज्याक क्राउली र एलेक्स लेसलाई धन्यवाद ।’

उनी खेलका प्लेयर अफ द म्याच पनि रहे । प्लेयर अफ द सिरिज भने इंग्ल्यान्डबाट रुट र भारतबाट जसप्रित बुमराह रहे । बुमराहकै नेतृत्वमा भारतले यो टेस्ट खेलेको थियो । खेलपछि हारमा बुमराह निराश देखिए । उनले भने, ‘टेस्ट क्रिकेट कहिले पनि सजिलो हुन्न । त्यसैले हामी यसलाई माया पनि गर्छौं । तीन दिन पछाडि रहेर पनि टेस्ट क्रिकेटमा फर्कने अवसर हुन्छ । यो टेस्टमा यस्तै भयो । चौथो दिनबाट खेल हाम्रो हातबाट बाहिरियो र इंग्ल्यान्डले त्यसको भरपूर फाइदा लियो ।’

बुमराहको कीर्तिमान

कोभिड संक्रमणका कारण पछाडि धकेलिएको एजबास्टन टेस्टपछि बुमराहले भारतका लागि नयाँ कीर्तिमान पनि बनाएका छन् । उनी इंग्ल्यान्ड भ्रमणमा जाने भारतीय टिमका लागि एक शृंखलामा सबैभन्दा बढी विकेट लिने बलर भएका छन् । उनले इंग्ल्यान्डको पहिलो इनिङ्समा तीन विकेट लिए र सन् २०१४ मा भुवनेश्वर कुमारले लिएको १९ विकेटको प्रदर्शनलाई उछिने । उनले दोस्रो इनिङ्समा थप दुई विकेट लिए र शृंखलामा लिएको विकेट संख्या २३ पुर्‍याए ।

बुमराहकै नेतृत्वमा खेलेको यस टेस्टमा भारतको पक्षमा जित भने रहेन । उनको इंग्लिस समकक्षी स्टोक्सले शृंखला जितलाई ऐतिहासिक माने । स्टोक्सले भने, ‘जतिबेला एक टिमका रूपमा लक्ष्य स्पष्ट हुन्छ, त्यतिबेला धेरै कुरामा सजिलो हुन्छ । कसरी खेल्ने हो, त्यो प्रस्ट हुन्छ । यस टेस्टमा हामी जितका लागि जस्तै लक्ष्य पनि पछ्याउने क्रममा थियौं, त्यसैले त्यही मानसिकताले खेल्यौं । यो जित आफैंमा अद्वितीय छ । टेस्ट क्रिकेट कसरी परिवर्तन भइरहेको छ, त्यो सबैले बुझ्ने छन् ।’

प्रकाशित : असार २२, २०७९ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×