कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोभिडको अवस्थामा दिएका सुविधालाई सधैं निरन्तरता दिन सकिँदैन: गभर्नर

काठमाडौँ — कोभिड–१९ को समयमा अर्थतन्त्रको पुनरोत्थानका लागि दिइएका सुविधालाई लामो समयसम्म निरन्तरता दिन नसकिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । अहिले कोभिडको असर कम हुँदै गएकाले आर्थिक गतिविधिमा सुधार हुँदै गए पनि विदेशी मुद्रा सञ्चितिमा आएको कमीका कारण अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेकाले विगतका सुविधाहरु विस्तारै कम गर्दै जानुपर्ने अवस्था आएको उनले बताए ।

कोभिडको अवस्थामा दिएका सुविधालाई सधैं निरन्तरता दिन सकिँदैन: गभर्नर

नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। ‘कोभिड –१९ को समयको तुलनामा अर्थतन्त्र ‘भी’ आकारमा सुधार देखिएको छ,’ उनले भने, ‘यसकारण पनि त्यतिबेला दिएका सुविधाहरु विस्तारै कम गर्नुपर्ने छ ।’ बढ्दो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा रहेको बेला मौद्रिक नीतिबाट धेरै ठूलो अपेक्षा नगर्न पनि उनले सरोकारवालाहरुलाई आग्रह गरेका छन् । ‘अर्थतन्त्र अप्ठेरो अवस्थामा रहँदा आगामी वर्षका लागि मौद्रिक नीति ल्याउँदैछौं,’ उनले भने, ‘यस्तो बेलामा चाहेर पनि धेरै सुविधा दिन नसकिने अवस्था छ ।’

वित्तीय प्रणालीमा रहेका साधन स्रोत अनुत्पादक क्षेत्रबाट उत्पादनमुलक क्षेत्रमा स्थानान्तरण गर्ने खालको माैद्रिक नीति आउने संकेत गर्भनर अधिकारीले गरेका छन् । ‘हाम्रा बैंक तथा वित्तीय संस्थासँग स्रोत नभएको होइन तर त्यसको ठूलो हिस्सा उत्पादनमुलक क्षेत्रमा उपयोग भएन । अरु क्षेत्रमा उपयोग भएको छ,’ उनले भने, ‘हाम्रो उद्देश्य त्यो स्रोतको अधिकांश हिस्सा उत्पादनमुलक क्षेत्रमा उपयोग होस् भन्ने हो ।’ कार्यक्रममा सरोकारवालाहरुले आगामी मौद्रिक नीतिमा ब्याजदर घट्ने र तरलताको समस्या समाधान हुने खालका नीति ल्याउन गभर्नर अधिकारीलाई आग्रह गरेका थिए ।

प्रकाशित : असार २१, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?