आँप र अम्बामा बाहिरियो ७२ करोड- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँप र अम्बामा बाहिरियो ७२ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ७२ करोडको आँप र अम्बा भित्रिएको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५२ हजार ६२९ किलो आँप र अम्बा आयात गरिएको हो । जसबापत विभागले ६ करोड ९६ लाख १८ हजार रुपैयाँ राजश्व उठाएको छ । आँपको मुख्य सिजन असारको तथ्यांक आउन बाँकी रहेकाले यस आर्थिक वर्ष १ अर्ब बढीको आँप आयात हुने अनुमान छ ।

फाइल तस्बिर

नेपालमा सबैभन्दा बढी आँप भारतबाट भित्रिएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको ११ महिनामा भारतबाट मात्रै ७१ करोड ७३ लाख २६ हजार रुपैयाँ बराबरको आँप आयात गरिएको छ । भारतबाट मात्रै १ करोड ४८ लाख ५२ हजार ८९ किलो आँप आयात हुँदा थाइल्याण्डबाट १ लाख २९ हजार रुपैयाँ बराबरको ३०० किलो आँप र अम्बा आयात भएको छ । युगाण्डाबाट समेत १ लाख ३८ हजार रुपैयाँको २४० किलो आँप र अम्बा आयात भएको विभागको तथ्यांक छ ।

आँप र अम्बाको छुट्टाछुट्टै कोड नबनाइएको हुँदा एउटै कोडमा आयात हुने गरेको भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले बताए । गत वर्ष १ अर्ब १७ करोड ८४ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ९३ हजार २३६ किलो आँप र अम्बा आयात गरिएको विभागको तथ्यांक छ ।

प्रकाशित : असार २१, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्

राजधानीको सुरक्षा जिम्मा 'संघीय प्रहरी'लाई दिने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरी (संघीय प्रहरी)लाई दिने व्यवस्था गर्न खोजिएको बताएका छन् । तर यसलाई प्रदेश प्रहरीको अधिकार कटौती वा संघीय व्यवस्था विपरीत सरकार जान खोजेको रुपमा नबुझ्न सांसदहरूलाई आग्रह गरेका छन् । सुरक्षा संवेदनशीलता ख्याल गरेर यस्तो निर्णय गर्न लागिएको उनले बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले सरकार संघीय व्यवस्थाका साथै काठमाडौं राजधानी उपत्यकाको सुरक्षाप्रति संवेदनशील रहेको बताएका हुन् । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री खाँणले भने, 'सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।'

काठमाडौंमा विदेशी बढी आवातजावत हुने तथा देशको राजधानी भएकोले सुरक्षा संवेदनशीलता ध्यानमा राख्नुपर्ने गृहमन्त्री खाँणको भनाइ थियो । सरकारमा रहेको माओवादी केन्द्रका सांसदहरूले राजधानीको सुरक्षा व्यवस्था प्रदेश प्रहरीलाई नदिँदा संघीय व्यवस्था विपरीत हुने बताएका थिए । 'संघीयता कमजोर पार्ने, प्रदेश अधिकार कमजोर पार्ने सवाल नै होइन । सुरक्षा जिम्मेवारीलाई ध्यानमा राखेर व्यवस्था गरिएको हो,' गृहमन्त्री खाँणले जवाफ दिए, 'संघीयता हामी सबैले ल्याएको हो । कोही ढिलो, कोही चाँडो त्यसमा सहभागी भयौं होला तर यो व्यवस्था हामी सबैले मिलेर ल्याएका हौं ।'

गृहमन्त्री खाँणले राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकार भन्दा पनि जिम्मेवारीमा पार्न खोजिएकोमा जोड दिएका थिए ।

प्रकाशित : असार २१, २०७९ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×