कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

'यस वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ आउट फ्लो भएको छ । पैसा बाहिर पठाउँदा बैंकहरूले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने हुन्छ'

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् ।

अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरूले ल्याएका सिद्धान्त नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरे पनि सम्भव नभए साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने बताए ।

‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ संसारभरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरूका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसाबले त्यो अवस्था छ । सबै जना अर्थतन्त्रका सबै सूचकको विषयमा जानकार नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरूले दबाब र सहज दुवै महसुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं । मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो सातामा ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसाबले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’

गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्च बढ्दै जाने अवस्था भइरहेको भन्दै पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताए ।

साथै अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको बताए । उनले अर्थतन्त्र आयातमुखी हुँदा यस वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको पनि बताएका थिए ।

पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाइ छ । उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने पनि बताएका थिए ।

यस्तै गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याएका थिए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको बताएका थिए ।

‘अहिले हाम्रो अर्थतन्त्रमा सेभिङमा कमजोर हुँदै जाने, खर्चहरू बढ्दै जाने अवस्था छ । व्यक्तिगत र समाजको खर्च गर्ने आनीबानीको सवालमा पनि सकारात्मक बदलाव आएको छैन । त्यसले आयातमुखी अर्थतन्त्र बनाएको छ । त्यसले गर्दा आयातमुखी अर्थतन्त्र रहेको र त्यसको असर स्वरुप हामीलाई वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएको, आयात निरन्तर बढेको अवस्था छ । निर्यातले नधानेको अवस्था छ । रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था छ । त्यसको असर स्वरुप यस वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ आउट फ्लो भएको छ । पैसा बाहिर पठाउँदा बैंकहरूले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने हुन्छ,' गभर्नर अधिकारीले भने ।

यस क्रममा गभर्नर अधिकारीले बैंकहरूमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताएका थिए ।

प्रकाशित : असार २०, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?