बैंकमा पैसा राख्नेमा लुम्बिनी प्रदेशका कुन जिल्ला अघि ? - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बैंकमा पैसा राख्नेमा लुम्बिनी प्रदेशका कुन जिल्ला अघि ? 

रासस

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने लुम्बिनी प्रदेशका जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार सो जिल्लाका नागरिकले ९३ करोड ७३ लाख बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको पाइएको छ ।

केन्द्रीय बैंकले सातवटै प्रदेशको आर्थिक अवस्थाका बारेमा नियमित विवरण सार्वजनिक गर्दै आएको छ । सोही क्रममा पछिल्लो पटक लुम्बिनी प्रदेशको विवरणसमेत प्रकाशित गरेको छ । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कूल निक्षेप गत वर्षको तुलनामा न्यूनरुपमा मात्रै वृद्धि भएको छ । कुल चार खर्ब दुई अर्ब ८३ करोड ७६ लाख बराबरको निक्षेप सो प्रदेशभित्र रहेको पाइएको छ । विसं २०७८ असारको तुलनामा ९ प्रतिशतले निक्षेप बढेको छ ।

रुपन्देहीको हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ । केन्द्रीय बैंकको विवरणअनुसार कुल ४४.४८ प्रतिशत बराबरको हिस्सा सो जिल्लाको छ । बुटवल, भैरहवालगायतका क्षेत्रमा औद्योगिक विकास भएको, गौतमबुद्ध विमानस्थलसमेत सञ्चालनमा आएको, उद्योग व्यवसाय विस्तार भएकाले सो जिल्लाका नागरिकको कमाई पनि बढ्दो छ । सोही कारणले गर्दा त्यस जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा बढीमात्रामा निक्षेप जम्मा गरेका छन् ।

विवरणअनुसार सो जिल्लाका नागरिकले एक खर्ब ७९ अर्ब १८ करोड सात लाख ८० हजार बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन् । बाँके जिल्लाको १२.२७ प्रतिशत बराबरको हिस्सा रहेको छ । त्यो भनेको कूल ४९ अर्ब ४१ करोड ४५ लाख २० हजार बराबर हो । दाङ जिल्ला आर्थिकरुपमा विकासको गतिमा अगाडि बढेको भए पनि त्यहाँका नागरिकले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप भने कमै देखिएको छ । केन्द्रीय बैंकको विवरणअनुसार सो जिल्लाको हिस्सा मात्रै १०.८१ प्रतिशत बराबर छ । त्यो भनेको कूल ४३ अर्ब ५३ करोड ११ लाख ८० हजार बराबर रहेको छ ।


केन्द्रीय बैंकको विवरणअनुसार कपिलवस्तुको हिस्सा ६.३२ प्रतिशत रहेको छ । सो जिल्लाका नागरिकले २५ अर्ब ४४ करोड ३० लाख ४० हजार बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन् । लुम्बिनी प्रदेशको पाल्पाको हिस्सा ५.७३ प्रतिशत छ । त्यो भनेको कूल २३ अर्ब आठ करोड ९१ लाख ५० हजार बराबरको निक्षेप पाल्पाबासीले बैंक तथा वित्तीय संस्थामा राखेका छन् ।

नवलपरासी पश्चिमको हिस्सा ५.५० प्रतिशत अर्थात् २२ अर्ब १३ करोड ८० लाख ४० हजार बराबरको रकम निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा राखेका छन् । यसैगरी गुल्मीको हिस्सा ५.२९ प्रतिशत रहेको छ । त्यस जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा २१ अर्ब ३० करोड ७९ लाख १० हजार बराबरको रकम निक्षेपका रुपमा राखेका छन् ।

कम निक्षेप राख्ने जिल्लामा क्रमशः अर्घाखाँची, बर्दिया, प्यूठान र रोल्पा रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । अर्घाखाँचीको १२ अर्ब ५४ करोड ८६ लाख ३० हजार, बर्दियाको १२ अर्ब ८७ करोड ७४ लाख ७९ हजार निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा छ । प्यूठानको सात अर्ब ७६ करोड ६६ लाख ३० हजार, रोल्पाको चार अर्ब ६० करोड ५६ लाख ७० हजार निक्षेप बैंक तथा वित्तीय संस्थामा छ ।

ऋण लिनेमा पनि रुपन्देहीका नागरिक नै अग्रस्थानमा छन् । सो जिल्लामा मात्रै ५०.१० प्रतिशत बराबरको ऋण लगानी भएको छ । सो जिल्लामा दुई खर्ब ६९ अर्ब १४ करोड १२ लाख १० हजार बराबरको ऋण लगानी भएको छ । दाङमा ६४ अर्ब २१ करोड ७९ लाख ७० हजार, बाँकेमा ८९ अर्ब ८२ करोड तीन लाख ७० हजार, बर्दियामा १६ अर्ब ४६ करोड ४३ लाख ३० हजार बराबरको ऋण लगानी भएको छ ।

निक्षेपसमेत कम रहेको रुकुमपूर्वमा बैैंक तथा वित्तीय संस्थाको लगानी ६८ करोड ९० लाख सात हजार बराबर छ । प्रदेशभर नै चार खर्ब दुई अर्ब ८३ करोड ७६ लाख बराबरको निक्षेप उठाएका बैंक तथा वित्तीय संस्थाले पाँच खर्ब ३७ अर्ब १९ करोड १४ लाख ९० हजार बराबरको ऋण लगानी गरेका छन् ।

प्रकाशित : असार २०, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल र सैनामैना जोड्न पुल निर्माण

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदी पुल कर्साघाट निर्माण सकिएको छ । १३ करोड ९० लाख ३६ हजार रुपैयाँ लगानीमा १ सय २७ मिटर लामो पुल निर्माण भएको हो ।

पुल निर्माणपछि अब बुटवल-१५ र सैनामैना-१ जोडिएका छन् । यसले कृषि उपज बजारसम्म ल्याउन; विद्यार्थीहरू स्कूल‚ कलेज आउन सहज भएको छ । पुल नहुँदा सैनामैनाका किसानले सहज रुपमा कृषि उपज बजारमा ल्याउन सकेका थिएनन् ।

संघीय सरकारको लगानीमा २०७४ असार २९ गतेदेखि पुल निर्माण थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार एक कार्यक्रमका बीच पुलको उद्घाटन गरे । पुल उद्घाटन गर्दै उनले विकासका काममा राजनीति नगर्न र विभाजित नहुन आग्रह गरेका छन् । विकासको प्रतिफल नागरिकले पाउने भएकाले कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अवरोध हुन नहुने उनले बताए ।

पौडेलले तिनाउ-दानव नदी करिडोरको विषयमा जनतालाई भ्रम सिर्जना गर्ने काम भएको बताउँदै त्यसो नगर्न आग्रह गरे ।

प्रकाशित : असार २०, २०७९ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×