कर्णाली सरकारले २० मेगावाटका विद्युत् आयोजना निर्माण गर्ने 

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले २० मेगावाटसम्मका विद्युत् आयोजना निर्माण गर्ने भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रदेशका २० मेगावाटसम्मका विद्युत् आयोजनाहरु अध्ययन गर्ने र सम्भावित आयोजनाहरुको स्क्रिनिङ र्‍याङ्किङ गरी निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ ।

कर्णाली सरकारले २० मेगावाटका विद्युत् आयोजना निर्माण गर्ने 

जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहका अनुसार निर्माणका चरणमा रहेका जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने काम समेत सुरु भइसकेको छ । भेरी, तिला, जेवा, नलगाड, कर्णाली र दर्जन बढी साना खोलाहरु रहेको कर्णालीमा विद्युत् उत्पादनका लागि अध्ययन चलिरहेको मन्त्री सिंहको भनाइ छ । मन्त्रालयले पहिलो चरणमा डोल्पामा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा सेयर लगानीको काम सुरु गरेको छ । त्यस्तै दैलेखको रारा जलविद्युत् आयोजना, तिला र जेवा नदीका जलविद्युत् आयोजनामा समेत लगानी गर्न लागेको मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले जनाए ।

जाजरकोटको ताक्सुगाड जलविद्युत् आयोजना निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ । नलगाड जलविद्युत् आयोजनासँग ताक्सुगाड जलविद्युत् आयोजना कर्णाली सरकारले बनाउनका लागि माग गरिएको मन्त्री सिंहले जानकारी दिए । सात मेगावाट विद्युत् उत्पादन क्षमता रहेको ताक्सुगाड जाजरकोटको नलगाड नगरपालिका– १० मा पर्दछ । आयोजना स्थलमा सडक सुविधा पुर्‍याउन तीन वटा मन्त्रालयको बीचमा छलफल समेत भएको छ । मन्त्रालयले दशवटै जिल्लामा विद्युत् उत्पादन कहाँ कहाँ गर्न सकिन्छ भनी सम्भाव्यता अध्ययनका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । रारा जलविद्युत् आयोजनाका लागि ५ करोड, जगदुल्ला जलविद्युत् आयोजनाका लागि ११ करोड, ताक्सुगाडका लागि १ करोड ५० लाख, तिला र जेवामा सम्भाव्यता अध्ययनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

कर्णाली क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका लागि ७८ करोड ६० लाख रकम निनियोजन गरिएको मन्त्री सिंहले जनाए । तत्काल विद्युत् आयोजना निर्माण गर्न नसकिने स्थानमा नवीकरणीय ऊर्जा कार्यक्रम मार्फत विद्युत् पहुँच पुर्‍याइने मन्त्री सिंहको भनाइ छ । उनका अनुसार नवीकरणीय ऊर्जा उपलब्ध गराउन पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै कर्णाली उज्यालो कार्यक्रम मार्फत पनि काम भइरहेको उनको भनाइ छ । यसअघि मन्त्रिपरिषद्को बैठकले प्रदेशका दुई जलविद्युत् आयोजनामा १७ करोड रुपैयाँको सेयर लगानी गर्ने निर्णय गरेको थियो । बैठकले डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनामा ११ करोड ७१ लाख ५० हजार र दैलेखको अपर पराजुली जलविद्युत् आयोजनामा पाँच करोड रुपैयाँ सेयर लगानी गर्ने निर्णय गरेको थियो ।


प्रकाशित : असार १६, २०७९ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?