कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मल र सिँचाइ अभावले पोहोरभन्दा कम रोपाइँ

गत वर्ष असार १० सम्म देशभर २७ प्रतिशत रोपाइँ भएकामा यो वर्षको सोही अवधिमा १७ प्रतिशत मात्रै
राजु चौधरी

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि विभाग, मातहतका कर्मचारीहरू बुधबार १९ औं राष्ट्रिय धान दिवस मनाउन व्यस्त भइरहँदा सुर्खेत वीरेन्द्रनगर–१० का किसान सन्तबहादुर केसी रासायनिक मल खोज्नमा व्यक्त थिए । विभिन्न सहकारी, कृषि सामग्री कम्पनीको गोदाम धाउँदा–धाउँदै निराश बनेका उनले स्थानीय एग्रोभेटमा युरिया मल बिक्री भइरहेको खबर पाएर बजार झरेका थिए । तर, मूल्य अचाक्ली महँगो । ८ कट्ठामा खेती गर्दै आएका उनले गत वर्ष असार १५ सम्ममा रोपाइँ सकिसकेका थिए । सिँचाइ र मल अभावले यस वर्ष उनको धान खेत बाँझै छ ।

मल र सिँचाइ अभावले पोहोरभन्दा कम रोपाइँ

‘सहकारी र कृषि सामग्र्री कम्पनीमा मल छैन । एग्रोभेटमा युरिया मल छ तर किलोकै ६० रुपैयाँ पर्छ,’ उनले भने, ‘मल अभाव भइरहँदा खोलामा पानी पनि भएन । यसपालि रोपाइँ नगर्दै धान दिवस आयो ।’ हाल सरकारी अनुदानको डीएपी मलको मूल्य प्रतिकिलो ४५ रुपैयाँ र युरिया १५ रुपैयाँ पर्छ । तर, अभावको मौका छोपेर व्यवसायीहरूले चर्को मूल्य असुलिरहेका छन् ।

सल्यान शारदा नगरपालिका–१ शीतलपाटीका किसान नवीन बडेलले पनि मलबिनै रोपाइँ गरिरहेको बताए । ‘यहाँका माननीय, प्रमुख जिल्ला अधिकारीलगायत सबैलाई फोन गरेका थियौं । कृषि सामग्री कम्पनीमा पनि गर्‍यौं,’ उनले भने, ‘पछिल्लो समय आउन त आयो तर थोरै मात्र । सबैलाई पुगेन । किसान निराश छन् । यस्तै अवस्था रहे उत्पादन फेरि घट्ने देखिन्छ ।’

सरकारले यो वर्ष धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ तय गरेको थियो । सोहीअनुसार बुधबार तामझामका साथ दिवस मनाइरहँदा धेरैजसो किसानले मलबिनै रोपाइँ गरे । कतिपय स्थानमा सिँचाइ अभावका कारण रोपाइँ नै सुरु भएको छैन । यसको पुष्टि सरकारी तथ्यांकले पनि गर्छ । बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार गत वर्षको तुलनामा यो वर्ष असार १० सम्म धान रोपाइँ १० प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष ०७८/७९ को असार १० सम्म देशभर २७ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्षको सोही अवधिमा १७ प्रतिशत धान खेतमा मात्रै रोपाइँ हुन सकेको छ । हालसम्म प्रदेश १ मा ८.८५ प्रतिशत, वाग्मतीमा २५ प्रतिशत, गण्डकीमा १३.६ प्रतिशत, लुम्बिनीमा ८.६४ प्रतिशत, कर्णालीमा ४० प्रतिशत र सुदूरपश्चिममा २१ प्रतिशत रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

प्रदेश २ मा रोपाइँ नै सुरु हुन सकेको छैन । कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले असार १४ सम्मको तथ्यांकअनुसार प्रदेश १ मा १७.९ प्रतिशत र वाग्मतीमा ३१ प्रतिशत रोपाइँ भइसकेको जनाए । सबै प्रदेशमा पत्राचार गरिएको र १/२ दिनमै यकिन तथ्यांक आउने उनले बताए । ‘सिँचाइ अभावले पश्चिमतिर धेरै खेतमा रोपाइँ भएको छैन । समयमै बीउ पनि तयार भएन,’ उनले भने, ‘मनसुन सक्रिय हुँदै छ । अब तीव्र गतिमा रोपाइँ हुन्छ ।’

मुलुकमा सबैभन्दा बढी मध्य, पूर्वी क्षेत्र र तराईमा बढी धान खेती हुन्छ । यो वर्ष अहिलेसम्म तराईमै रोपाइँ कम भएको छ । यसको प्रमुख कारण सिँचाइ अभाव हो । मनसुन पूर्वी क्षेत्रमा सक्रिय भए पनि पश्चिमी क्षेत्रमा अझै सक्रिय भइसकेको छैन । तराईको करिब २५–३३ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । मुलुकको खेती प्रणाली मनसुनमै आधारित हुँदा रोपाइँ गर्न मनसुन कुर्नुपर्ने बाध्यता किसानलाई छ । महानिर्देशक पौडेल रासायनिक मलको असहजताका बाबजुद यति रोपाइँ हुनुलाई सकारात्मक नै मान्छन् ।

‘मल आउने क्रममा छ, अहिले बजारमा पर्याप्त छैन,’ उनले भने, ‘त्यसको बाबजुद पनि रोपाइँको अनुपात राम्रो छ ।’ मुलुकभर १४ लाख ७७ हजार हेक्टरमा धान रोपाइँ हुन्छ । नेपाललाई वार्षिक आवश्यक धान ६५ लाख ५१ हजार टन हो । तर, गत वर्ष ५६ लाख टन मात्रै उत्पादन हुन सकेको थियो । मध्य असारसम्म रोपाइँको अनुपात हेर्दा यो वर्ष उत्पादनमा ह्रास आउनेमा किसानहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । त्यसैले धेरैजसो किसानले मलबिनै रोपाइँ गरिरहेको कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बताए । ‘यही अवस्था रहिरहे उत्पादन बढ्दैन, यो धानको आयात बढ्ने संकेत हो,’ उनले भने ।

भन्सार विभागको तथ्यांक हेर्दा गत आव ०७७/७८ मा २० अर्ब ५५ करोड रुपैयाँको धान, २७ अर्ब ६२ करोड रुपैयाँको चामल र २ अर्ब ६१ करोड रुपैयाँको कनिका आयात भएको थियो । चालु आवको ११ महिनामा १६ अर्ब ७९ करोड रुपैयाँको धान, २७ अर्ब १२ करोड रुपैयाँको चामल र १ अर्ब ३८ करोड रुपैयाँको कनिका आयात भइसकेको छ । किसानहरूले समयमै मल नपाए आयातको आकार बढ्दै जाने अध्यक्ष बस्नेतले बताए ।

डीएपी अभाव छैन, युरिया आउँदै छ : कृषि मन्त्रालय

सरकारले भारतबाट जीटुजी मोडलमा आगामी ५ वर्षका लागि रासायनिक मल खरिद गर्न गत फागुनमै एमओयू गरिसकेको छ । तर, हालसम्म मल खरिद गर्न सकेको छैन । नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब साढे ७ लाखदेखि ८ लाख टनसम्म मल आवश्यक पर्छ । जसमध्ये साढे ५ लाख टन आयात गर्न सके किसानले अभाव महसुस गर्नुपर्दैन । धान बालीका लागि करिब १ लाख ५० हजार टन मल चाहिन्छ । तर, यो वर्ष उक्त परिमाणमा मल नआउँदा किसानले चरम अभाव झेल्नु परिरहेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले डीएपी मल करिब ५० हजार टन मौज्दात रहेको दाबी गरे । युरिया पनि आउने क्रममा रहेको उनको भनाइ छ ।

‘रोपाइँका बेला डीएपी चाहिने हो, अहिले ५० हजार टन आइसक्यो, वितरण भइरहेको छ । थप आउने क्रममा पनि छ,’ उनले भने, ‘धान रोपेको २१ दिनपछि युरिया चाहिन्छ, युरिया पनि आउने क्रममा छ ।’ भारतबाट युरिया मल फास्ट ट्र्याकबाट १५ हजार टन र कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत ३० हजार टन आउने क्रममा रहेको उनले जानकारी दिए । ‘अहिलेको धान बालीलाई १ लाख ३० हजार टन आवश्यक हो । मल आउने क्रममा छ । साउन पहिलो सातासम्म युरिया पनि आउँछ,’ उनले भने ।

रोपाइँको हकमा गत वर्षकै हाराहारीमा हुने उनले बताए । ‘तराईमा धान रोपाइँ सुरु हुँदै छ, प्रदेशमा पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘अब रोपाइँको पूरा विवरण आउँछ, रोपाइँ गत वर्षकै हाराहारीमा हुन्छ, घट्दैन ।’

प्रकाशित : असार १६, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?