१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आर्थिक कारोबार पारदर्शी बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आर्थिक कारोबारलाई पारदर्शी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । महालेखा परीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री शर्माले भने ‘सार्वजनिक, आर्थिक कारोबार संचालनमा पारदर्शिता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छ ।’

आर्थिक कारोबार पारदर्शी बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

उनले लेखा परीक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्स्याैट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए । यस वर्षको नीति तथा कार्यक्रममा बेरुजु फर्स्याैटलाई प्राथमिकतामा राखिएको भन्दै उनले बेरुजु फर्स्याैटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । ‘बेरुजु किन बढ्दै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।

वर्तमान अर्थतन्त्रका बारेमा महालेखा परीक्षकको कार्यालयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको उनले बताए । ‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उतार चढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु’ अर्थमन्त्री शर्माले भने ‘यसमा महालेखा परीक्षकको कार्यालयका तर्फबाट सशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’

संविधान र प्रचलित कानुनअनुसार सुशाशन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उनले महालेखा परीक्षक र मातहतका कर्मचारीको प्रशंसा गरे । ‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यून बिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था संचालनका विषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ शर्माले भने ।

प्रकाशित : असार १५, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?