कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लुम्बिनीमा ३० प्रतिशत रोपाइँ

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको देवदह–३ का शंकर चौधरीले २ बिघा खेतमा अझै रोपाइँ गर्न पाएका छैनन् । असार दोस्रो साता बित्न लाग्दासमेत पर्याप्त पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको उनले बताए । ‘एक झर्को पानी बल्ल पर्‍यो,’ मंगलबार खेतमा भेटिएका उनले भने, ‘बाँझो खेतलाई यति पानीले पुग्दैन ।’ धेरै ठूलो पानी परे बाढी नै खेतमा पस्ने डर भएको उनले सुनाए ।

‘खेती नगरे कहाँबाट खाने ?’ उनले भने, ‘खेती गर्नलाई पानी, मल नभएर समस्या छ ।’ बर्सेनि अकासे पानीको भरमा गरिएको रोपाइँले वर्षभर खानसमेत नपुग्ने उनले जनाए ।

पानी र मलकै अप्ठ्यारोले खेत रोप्न गाह्रो भइरहेको रोहिणी–२ का अशोक बर्माको भनाइ छ । सात बिघा जमिनका मालिक उनले उब्जनी र बिक्री गर्ने सपना देख्न छोडेको बताए । ‘ट्र्याक्टर र अन्य सामग्रीको रकम जोड्ने हो भने खेती नगरेकै वेश छ,’ उनले भने, ‘९ जनाको परिवारलाई पसलको खानकीले मात्रै पनि पुग्दैन ।’

मल र सिँचाइको समस्याले खेती किसानी गर्न बिस्तारै छाड्ने बाध्यता आइलागेको उनको भनाइ छ । ‘छोरालाई विदेश पठाएको छु,’ उनले भने, ‘म बूढोले कति सक्छु र ? अब बिस्तारै खेत बेचिदिन्छु ।’ विगतमा पनि यस्तै समस्या खेपिरहेको र अहिले पनि त्यही समस्या ज्युँका त्युँ रहेकाले खेताला खोज्ने, ट्र्याक्टरमा खर्च गर्ने र भारतदेखि मल ल्याउने तनावबाट मुक्त हुने गरी खेती लगाउन नै छोड्ने उनको भनाइ छ ।

धान खेतीका लागि उर्वर मानिने लुम्बिनी प्रदेशको कुल ३ लाख ७ हजार १ सय ४९ हेक्टर जमिनमा धान खेती हुने गरेकामा मंगलबारसम्म ३० दशमलव २७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका कृषि अधिकृत अनिल चौधरीले जनाए । प्रदेशका १२ जिल्लामध्ये रूपन्देही, पश्चिम नवलपरासी, रुकुम पूर्व र रोल्पामा अन्य जिल्लाभन्दा बढी रोपाइँ सकिएको छ ।

रूपन्देहीमा ६०, पश्चिम नवलपरासीमा ८०, पूर्वी रुकुममा ६५, प्यूठानमा ६० र रोल्पामा ६० दशमलव २ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । कपिलवस्तुमा ७, पाल्पामा ५, गुल्मीमा ११, अर्घाखाँचीमा २०, दाङमा १०, बर्दियामा २४ दशमलव ७८ र सबैभन्दा कम बाँकेमा ३ प्रतिशत जमिनमा रोपाइँ भएको छ । चौधरीले यस वर्ष ढिला वर्षा सुरु भई तराई क्षेत्रमा पानी नपर्नु नै कम रोपाइँ हुनुको कारण भएको बताए । पहाडी जिल्लामा थोरै पानी परे पनि रोपो बगाउने डरले केही पछि रोपाइँ हुने गरेको उनको तर्क छ ।

कृषि सामग्री कम्पनीबाट प्रदेशका लागि ३ हजार ४ सय २९ मेट्रिक टन डीएपी मल आएको कृषि मन्त्रालय लुम्बिनी प्रदेशका कृषि प्रसार अधिकृत अर्जुन खनालको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि सोही परिमाणको युरिया आएर वितरण भइरहेको उनले जनाए ।

प्रकाशित : असार १५, २०७९ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?