खाद्यले भन्यो : डीएफटीक्यूसी जार/बोत्तलको पानी मात्रै प्रयोग गर्नू - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

खाद्यले भन्यो : डीएफटीक्यूसी जार/बोत्तलको पानी मात्रै प्रयोग गर्नू 

कान्तिपुर संवाददाता

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको बोत्तल  र जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर मात्रै उपभोग गर्न आग्रह गरेको छ । विभागले अनुमति दिएका जार र बाेत्तलकाे लेबलमा डीएफटीक्यूसी नम्बर उल्लेख गरिएको हुन्छ । वर्षायाममा झाडापखाला रोगका विभिन्न हानीकारक शुक्ष्म जीवाणुहरुको संक्रमण बढ्ने र त्यस्तो पानीको प्रयोगबाट रोगको संक्रमण सम्भावना रहेको जनाउँदै विभागले डीएफटिक्यूसी नम्बर हेरेर मात्रै पानी उपभोग गर्न अनुरोध गरेको हो ।

त्यस्तै बिर्को शिलन्बन्दी भएको पिउने पानी उपभोग गर्न विभागले आग्रह गरेको छ । ‘दुषित पानीको प्रयोगले रोगको संक्रमण हुने सम्भवना छ, स्वच्छ तथा सफा पानीको प्रयोग गर्न सबैमा अनुरोध गर्दछाैं,’ विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिम प्रावधानहरु पुरा गरी खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गरेर उत्पादन र बिक्री गर्न उद्योगीलाई सूचित गरेका छौं । अन्यथा खाद्य ऐन नियम अनुसार कारबाही हुन्छ ।’

विभागले खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री गरेको जानकारी भए विभाग वा मातहतका कार्यलयमा सूचना उपलब्ध गराई दिन समेत आग्रह गरेको छ । उपत्यकामा हैजा देखिएपछि खाद्य प्रविधिले पानीमा निगरानी बढाएको छ । हैजाको बिरानी बढ्न थालेपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी अपनाउन आग्रह गरिरहेका छन् । सोही क्रममा विभागले पनि सूचना प्रकाशित गरेर विभिन्न मापदण्ड अपनाएर मात्रै पानी उत्पादन गर्न उद्योगीहरुलाई निर्देशन दिएको छ । विभागका महानिर्देशक मतिना जोशी बैद्यले पानी उद्योगमा अनुगमन तीब्र बनाइएको बताइन् । ‘पानी क्षेत्रमा अनुगमन बढाएका छौं,’ उनले भनिन्, ‘गुणस्तरमा खेलवाड देखिए कानुन बमोजिम कारबाही हुन्छ ।’

प्रकाशित : असार १४, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु, रंगेली तनावग्रस्त

विनोद भण्डारी

मोरङ — आफनै स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु भएपछि मोरङको पुरानो सदरमुकाम रंगेली बजार मंगलबार अपरान्ह तनावग्रस्त बनेको छ । रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढने ५ वर्षीय बालक ऋतिक मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बसले एलकेजीमा पढने पाँच वर्षीय ऋतिक र सनमकुमारी मण्डललाई किचेको थियो । सनम सख्त घाइते छिन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मृतक ऋतिक रंगेली–७ का महादेव मण्डलका छोरा र घाइते सनम रंगेली ६ नरेश मण्डलकी छोरी हुन् ।

विद्यालय छुट्टी भएपछि उक्त बसले विद्यार्थी लिन विद्यालय परिसरमा आउँदै गरेको अवस्थामा दुई बालबालिकालाई किचेको थियो । घटनापछि आक्रोशित स्थानीयले विद्यालयका दुईवटा बस तोडफोड गरेका छन् । साथै रंगेली–भद्रपुर हुलाकी मार्ग अवरुद्ध गर्दै सयौं स्थानीयले विद्यालय घेराउ गरेका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बताए पनि नाम खुलाएको छैन ।

प्रकाशित : असार १४, २०७९ १८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×