सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलाम बिक्रीमा

काठमाडौँ — व्यवसायी सुधिर बस्नेतको ललितपुरस्थित कोहिनुर हिल हाउजिङ लिलाम बिक्री गर्न कर्मचारी संचय कोषले पुन: बोलकबोलका लागि सूचना जारी गरेको छ । पटक पटक म्याद दिँदा पनि भुक्तानी गर्न नआएपछि लिलाम बिक्रीका लागि सूचना निकालिएको कोषले जनाएको छ ।

सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलाम बिक्रीमा

बोलकबोलका लागि कोषले २१ दिनको म्याद दिएको छ । कोहिनुर हिल हाउजिङ प्रालिको नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नम्बर ४ रहेको कुल क्षेत्रफल १०–९–२–० जग्गा र सोमा निर्माणाधिन आवासीय भवनहरु खरिदका लागि कोषले शिलबन्दी आह्वान गरेको छ । कोहिनुर हिल हाउजिङ कर्मचारी संचय कोषले बन्धक राखेको छ ।

कोषका अनुसार बस्नेतले परियोजनाका लागि २३ करोड ७० लाख रुपैयाँ कर्जा लिएका थिए । करिब डेढ अर्ब रुपैयाँका लागि कर्जा प्रस्ताव गरे पनि बस्नेतले सबै कर्जा लिन पाएका थिएनन् । उनले लिएको २३ करोड ७० लाख रुपैयाँको साँवा, ब्याज लगायत गरेर अहिले करिब ९० करोड रुपैयाँभन्दा बढी पुगेको छ । सोही रकम असुलउपर गर्नका लागि कोषले लिलामी सूचना जारी गरेको हो । उक्त हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरेपनि बिक्री हुन सकेको थिएन ।

उक्त हाउजिङ लिलामी गर्न बोलकबोल आह्वान गरिए पनि ऋणीले भुक्तानी गर्न बाँकी रकम भुक्तानी गरेमा लिलामी प्रक्रिया खारेज गरिने सूचनामा उल्लेख छ । ‘ऋणीले कोषलाई बुझाउनु पर्ने रकम लिलाम बिक्रीको यस सूचना बमोजिमको म्यादभित्र बुझाएमा लिलाम बिक्रीको प्रक्रिया अन्त्य गर्न सकिनेछ,’ सूचनामा भनिएको छ ।


प्रकाशित : असार १४, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?