भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीस्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । 

नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत् प्रवाह हुने छ ।

अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत् आपूर्ति हुने छ । ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत् खपत हुने गरेको छ । पुरानो १३२ केभी लाइनबाट कावासोती लगायतका क्षेत्रमा विद्युत् आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत् सिधै पठाउन सकिने छ । भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत् आपूर्ति गरी बाँकी विद्युत् बर्दघाटतर्फ प्रवाह हुन्थ्यो । हाल चालु रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत् पठाउन नसकिने बाध्यात्मक अवस्था थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोती लगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकोले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् आपूर्ति गर्न सकिने भएको छ ।

भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ करिब २५ मेगावाट विद्युत् थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘भरतपुरतर्फ विद्युतको माग बढी रहेको तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत् पठाउन सकिरहेका थिएनौं, अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकोले थप विद्युत् बर्दघाटतर्फ पठाउन सक्छौं यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ’,कार्यकारी निर्देशक घिसिङले भने । ‘पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिका लागि टनकपुरबाट बाध्यात्मक रुपमा गर्नु पर्ने आयात घट्नुको साथै भोल्टेजमा पनि सुधार हुने छ ।’

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वटा टावर बनाउन नसक्दा भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण पूरा हुन सकेको छैन । सर्वोच्च अदालतले आइतबार रिट खारेज गरिदिएकोले अब दुई वटा टावर निर्माणको बाटो खुलेको छ । प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतबाट रोकिएको थियो । सर्वोच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए ।


प्रकाशित : असार १४, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

पाँच वर्षमा १ हजार नाउर घटे

प्रकाश बराल

बागलुङ — हरेक पाँच वर्षमा गरिने गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको संख्या ह्वात्तै घटेको छ । अध्ययनले झारलको संख्या भने केही बढेको देखिएको हो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार गणनामा नाउर १ हजार २ सय ९० र झारल ७ सय ४४ वटा भेटिएका हुन् । पाँच वर्षअघि यहाँ २ हजार २ सय २ वटा नाउर र ३ सय ८८ वटा झारल भेटिएका थिए ।

पाँच वर्षमा नाउरको संख्या झन्डै १ हजारले घटेको हो । कँडेलले यति धेरै संख्या घटेर आउनु दु:खद् भएको बताए । ‘हामीले गरेको अध्ययनको समय र प्राविधिक फरक परेकाले पनि केही संख्या घटेको हुन सक्छ‚’ कँडेलले भने, ‘सामान्य अंक तलमाथी हुनु नौलो होइन तर यति धेरै घट्दा ठूलो समस्या भित्रिएको देखिन्छ ।’ यहाँ बढिरहेको चोरी-सिकारी र केही प्रकोप आएकाले कतिपय नाउर मारिएको आशंका उनले गरे । सहायक संरक्षण अधिकृत सूर्य खड्काका अनुसार ढोरपाटनमा चोरी सिकारसमेत बढेको छ ।

‘व्यवसायिक चोरी सिकारी कम छ तर स्थानीयले सिकार गरेर खाने क्रम बढी छ‚’ खड्काले भने, ‘पटक पटक आरक्ष र सेनाले गर्ने सर्चमा अवैध हतियारसहित मानिस पक्राउ परिरहेका छन् ।’ बरामद भएका अधिकांश हतियार सेनाले प्रयोग गर्ने खालका भेटिएकाले लामो दूरीबाट चोरी सिकार भएको हुन सक्ने उनले बताए ।

यसअघि सन् २०१६ को असोज-कात्तिकमा यहाँ नाउर गणना भएको थियो । उक्त गणनाको समयमा चिसो बढ्दै गरेकाले नाउर पहाडको तल्लो खण्डमा भेटिएका थिए । यो पटक गत चैत-वैशाखमा गणना गर्दा गर्मीले गर्दा हिमालमा चढेको भेटिएको हो । पहिलो पटक आरक्षकै नेतृत्वमा गणना भएकोमा यो पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा भएको हो । ‘नाउरहरू हिमालमा चढ्दा र गणकहरू पुग्न नसक्दा कतिपय गणना अन्दाजको भरमा भएको छ‚’ कँडेलले भने, ‘मौसमको खराबीले यो पटकको गणनासमेत प्रभावित भएको थियो ।’ ढोरपाटनको हिमाली क्षेत्रमा हावाहुरी र हिमपहिरो समेत खसेको थियो । हिमपहिरोमा केही नाउर पुरिएको उनले बताए ।

आरक्ष कार्यालय र यहाँस्थित नेपाली सेनाको देवीबक्स गुल्मले गरेको गस्तीको क्रममा केही नाउर रोग लागेर दुब्लाएको देखिएको र त्यसकै कारण पनि ती नाउर मरेको हुन सक्ने अनुमान टोलीले गरेको थियो । हिमपहिरोमा कति नाउर मरे भन्ने यकिन नभएपनि उद्धारको क्रममा २० वटाभन्दा बढी नाउर हिमपहिरोमा पुरिएको भेटिएको कँडेलले जानकारी दिए ।

‘हामीले यहाँ सेनाको गण चाहिन्छ भनेर मागेका छौं तर पाइएको छैन‚’ कँडेलले भने, ‘गण भयो भने सबै ब्लकमा सुरक्षा व्यवस्था गर्न सकिन्छ ।’ आरक्ष कार्यालयमा समेत दरबन्दी अभाव छ । ७२ जनाको दरबन्दी रहेको आरक्षमा करारका केही कर्मचारीसमेत गरी ४७ जनाले मात्रै काम गरेका छन् । ‘आफ्नै ब्लकमा कर्मचारी पुगेका छैनन्, कसरी सुरक्षा गर्ने ?’ कँडेलले भने, ‘ठूलो भूगोलको सुरक्षा गर्न जनशक्ति पनि उत्तिकै चाहिन्छ ।’

ढोरपाटनमा बर्सेनि १९ देखि २४ वटा नाउर र १४ देखि १९ वटा झारल सिकार गर्न अनुमति दिइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गरेर टेन्डर खुलाउने गर्छ ।

तस्बिर क्याप्सन : बागलुङको सुदूरपश्चिममा रहेको ढोरपाटन सिकार आरक्ष । यहाँ गरिएको गणनामा ठूलो संख्यामा नाउर घटेका छन् । तस्बिर : प्रकाश बराल/कान्तिपुर

प्रकाशित : असार १४, २०७९ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×