बजार लिँदै बुङको आलु

समुद्री सतहदेखि २५ सय मिटरभन्दा माथि परम्परागत तरिकाले उत्पादित स्वादको बुङ आलुको माग काठमाडौंदेखि तराईसम्म
भानुभक्त निरौला

सोलुखुम्बु — सोलु दूधकुण्ड नगरपालिका–७ का निमा शेर्पाले यस वर्ष हिउँ पर्नुअघि नै आलु रोप्ने ससाना खाल्डा खनिसकेका थिए । लछप्पै हिउँ परेर ती खाल्डा कैयौं दिन पुरिए । हिउँ त्यहीं बिलाएपछि उनले तिनै खाल्डामा झिक्रा बटुलेर आगो लगाए । ४–५ दिन माटो डढ्ने गरी पोलेपछि खरानी थुप्रियो । खाल्डोको माटो पनि मज्जाले पाक्यो । यसरी माटो पोलिएको खरानीसहितको खाल्डोमा निमाले आलुको बीउ रोपेर पुरपार पारे । अहिले यसरी रोपिएको आलु लहलह भएर फूल खेलिरहेको छ । आलुका नीला फूल हेर्दै निमा आलु खन्ने दिन कुरिरहेका छन् ।

बजार लिँदै बुङको आलु

समुद्री सतहदेखि २५ सय मिटरभन्दा माथिको जमिनमा परम्परागत रूपमा यसरी रोपिने आलु बुङ आलुका रूपमा चर्चित छ । बुङको आलु सोलुखुम्बुको पत्तालेका अतिरिक्त सल्लेरी, फाप्लु, लुक्ला, गोली, नाम्चे र खुम्जुङसम्म खेती हुने गरेको छ । आलु रोप्न खाल्डो खनेर थुपारिएको चपरालाई शेर्पा भाषामा थोङ्मा वा बुङ पनि भनिन्छ ।

‘यसरी आलु रोप्दा कुनै पनि मलको प्रयोग हुँदैन, लेकाली माटो र खरानीले नै मलको काम गर्ने हुनाले यहाँ फलेको आलु निकै स्वादिलो हुने गर्छ,’ निमाले भने । रोपेको ६ महिनाभित्र फल्ने बुङ आलुको खेती बर्सेनि एउटै बारीमा गरिँदैन । यस्तो जमिन एक पटक आलु खेती गरेपछि ३ वर्षपछि मात्रै नयाँ खेती गर्न सकिने कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गाबहादुर तिरुवाले बताए । ‘यो खेती प्रविधि धेरै नै मौलिक छ,’ उनले भने । एउटै थुप्रो (बुङ) बाट ५ पाथीभन्दा बढी उत्पादन लिन सकिने उनको भनाइ छ ।

मनोरम हिमशृंखला देखिने उच्च पहाडी गाउँ पत्तालेको परिचय हिजोआज यही बुङ आलुले बढाएको छ । किनकि नाम्चेदेखि सगरमाथा आधारशिविरतिर लम्किएका पर्यटकहरू पत्तालेमा बसेर बुङ आलु कि त उसिनेर, कि त पोलेर वा यसकै रैथाने परिकार रिल्दोकदेखि रोटीसम्म खाएरै अघि बढ्छन् । वर्षको एकफेर हिउँले नछोपिएको उच्च हिमाली भेगमा मात्रै यस्तो आलु फल्ने भएकाले यहाँको आलुको स्वाद फरक छ ।

बुङमा रोपिएको हरियो आलुमा खेलेको फूलले अहिले पत्ताले सुन्दर देखिएको छ । यस वरपरका कतिपय ठाउँमा अहिले बुङको आलु खन्ने तरखर सुरु भइसकेको छ । आलु यहाँ एक पाथीको २ सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय प्रकाश मगरले जानकारी दिए । ‘आलुलाई बजारको समस्या छैन । बारीबाट खन्नासाथ काठमाडौं र तराईका विभिन्न क्षेत्रबाट आलु किन्ने व्यापारी आइहाल्छन्,’ उनले भने, ‘काठमाडौं जानेहरूले कोसेलीका रूपमा ८–१० पाथीकै दरले लैजान्छन् । व्यापारीले पनि थोकमै किनेर लान्छन् ।’ आलुबाट सोचे जस्तै आम्दानी भएकाले घर खर्च चलाउन निकै सहज भएको पत्तालेका भाइचुङ शेर्पाले बुङको बताए ।

पत्ताले क्षेत्रमा एउटा परिवारले न्यूनतम १ देखि अधिकतम १५ रोपनी क्षेत्रफलसम्ममा आलु खेती गरेका छन् । यसबाट एउटै किसानले वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म कमाउँछन् । ‘हामीले वार्षिक सरदर २ लाखभन्दा माथिकै आलु बेच्ने गरेका छौं,’ पत्तालेका किसान गोविन्द मगरले भने । कतिपय किसानले उत्पादित आलु भण्डारण गरेर वर्षभर बेच्ने गरेको पनि उनले जनाए ।

आफूहरूकहाँ आउने धेरैजसो पाहुनाले बुङ आलुकै परिकार खोज्ने गरेको पत्तालेस्थित हिमाली होमस्टेका सञ्चालक राजकुमार मगरको भनाइ छ । ‘ग्राहकको मागले पनि हामी मुरीका मुरी आलु किनेरै राख्छौं,’ उनले भने ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर बर्खे आलु करिब ६ हजार हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । यसबाट १ लाख टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । अघिल्लो वर्षको बर्खे सिजनमा मात्रै ६ हजार ७ सय ६७ हेक्टर क्षेत्रफलमा रोपिएकामा १ लाख ६ हजार ४ सय ४० टन उत्पादन भएको थियो । ‘हामीले बुङमा खेती हुने मात्रै छुट्टै क्षेत्रफल भने निकालेका छैनौं,’ कृषि ज्ञान केन्द्र प्रमुख तिरुवाले भने, ‘पत्तालेदेखि खुम्जुङसम्म नै बुङमा खेती हुने गरेको पाइएको छ ।’

प्रकाशित : असार १४, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?