२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

साल्ट ट्रेडिङको युरिया मल वीरगन्ज आइपुग्यो 

शंकर आचार्य

पर्सा — युरिया मलको हाहाकार रहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको मल वीरगन्ज आइपुगेको छ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा शुक्रबारदेखि भारतको रक्सौलस्थित रेल्वे स्टेसनबाट ढुवानी गरी युरिया मल भित्रिन थालेको हो । 

साल्ट ट्रेडिङको युरिया मल वीरगन्ज आइपुग्यो 

कार्यालय प्रमुख अमोज लामिछानेका अनुसार शुक्रबारदेखि गोदाममा मल भित्रिन थालेको र हालसम्म १२ हजार ५ सय बोरा मल भित्रिइसकेको छ । ‘रक्सौलमा आइपुगेको १ रेल्वे र्‍याक युरिया मल ट्रकबाट ढुवानी गरी कर्पोरेसनको वीरगन्जथित गोदामसम्म ल्याइँदै छ,’ उनले भने, ‘एक रेल्वे र्‍याकमा २ हजार ५ सय मेट्रिक टन अर्थात ५० हजार बोरा मल हुन्छ, अर्को एक र्‍याक युरिया मल पनि रक्सौल रेल्वे स्टेसन हुँदै वीरगन्जसम्म आउने छ ।’

साल्टले ग्लोबल टेन्डरबाट खरिद गरेको २२ हजार मेटन युरिया मलमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले पाउने ५ हजार मेट्रिक टन मल रक्सौल हुँदै आइरहेको उनले बताए । आपूर्तिकर्ता स्विस सिंगापुर कम्पनीले युरिया मल कोलकाता बन्दरगाहसम्म ल्याएर त्यहा प्याकिङ गरी नेपालतर्फ मल पठाउँदै छ ।

बाँकी युरिया मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयहरुमा तीनै कार्यालयको नजिकको भारतीय सहरहरुमा रहेको रेल्वे स्टेसन हुँदै पुगिरहेको उनले बताए । वीरगन्जमा प्राप्त युरिया मलमध्ये माग भएका मातहतका कार्यालयहरु हेटौंडा, जनकपुर, गौर, मलंगवा, बनेपा, काठमाडौं, त्रिशूली, नारायणघाट, पोखरा, बाग्लुङलगायतका ठाउँमा पठाइने उनले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?