कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बस्तीभर ड्रागन फ्रुटको खेती

हरिहरसिंह राठौर

सुर्खेत — सुर्खेतको गुर्भाकोटस्थित भेरीनदी किनारमा प्राय: उखरमाउलो गर्मी हुन्छ । नदी किनार भए पनि सिँचाइको सुविधा छैन । रातोमाटो भएकाले बालीनाली पनि हुँदैन । भट्टेझारको झाडी फाँडेर बसाइएको मगरबस्तीमा अहिले सामूहिक रुपमा ड्रागन फलको खेती गर्न थालिएको छ । गुर्भाकोट नगरपालिका १२ भट्टेचौरका २० घरधुरी मिलेर ५ विघा भन्दा बढी जग्गामा करिब ९ हजार बिरुवा रोपेर ड्रागन फलको व्यवसायिक खेती थालेका हुन् ।

बस्तीभर ड्रागन फ्रुटको खेती

कर्णाली प्रदेशमा यो नै सबैभन्दा ठूलो ड्रागन फल उत्पादन फर्म भएको स्थानीय कृषक शेरबहादुर घर्तीले दावी गरे । ८ हजार ५ सय बिरुवाको लागि २ हजार ७५ वटा सिमेन्टको पिल्लर गाडेर बिरुवा मौलाइसकेका छन् । पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाइएको बिरुवा राम्रो हुँदै गएको घर्तीले बताए । नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने स्थानीय किसानको भनाइ छ ।

एकपटक रोपेपछि यसले वर्षौंसम्म फल दिन्छ । फल र स्वाद दुवै नेपालका लागि नौलो भएकाले पनि उत्पादन गर्नसकेमा बजारीकरणको कुनै समस्या नहुने किसान धनबहादुर घर्तीले बताए । विगत २ वर्षयता सुर्खेतमा करिब १० बिघा जमिनमा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती हुँदै आएको प्रदेशस्थित कृषि मन्त्रालयका सचिव डा.लेखराजन दाहालले बताए । अनुगमनमा पुगेका कृषि मन्त्री चन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारले सुर्खेतको भेरी किनारलाई विशेष प्राथमिकता राखेर ड्रागन फ्रुटको खेती गरेको बताए । सरकारले ‘बगैंचा एक : स्वामित्व अनेक’ को धारणा अनुरुप हरेक बस्ती हरेक फलफूलको स्रोत केन्द्रका रुपमा विकास गर्न आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशमा १५ लाख फलफूलका विरुवा वितरण गर्ने कार्यक्रम रहेको बताए ।

ड्रागन फल स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायी रहेको र एक पटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकिने भएकाले आफूहरू यसको खेतीमा लागेको कृषि सचिव दाहालको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म छ । ‘खेर गएको जमिनको सदुपयोग हुने र ड्रागन फ्रुटको बोटका बीचमा अरु बाली लगाउन समेत मिल्ने भएकाले आफूले परीक्षणका रूपमा यसको खेती गरेको कृषि विकास निर्देशक चित्र रोकायले बताए । सुर्खेतका भेरी नदी किनारमा ड्रागन फ्रुटका लागि उपयुक्त हावापानी तथा माटो रहेको र यसको माग उच्च भएकाले पनि यस खेतीमा किसान आकर्षित भएको उनको भनाइ छ । यो खेतीको लागि प्रदेश सरकारले ३६ लाख रकम अनुदान सहयोग गरेकोछ भने किसानहरुले ७ लाख ६१ हजार लगानी गरेका छन् । सुर्खेतमा ड्रागन फ्रुटको खेती अहिलेसम्म परीक्षणमै भएको प्रदेश कृषि मन्त्रालयका सचिव दाहालले बताए । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने उनको भनाइ छ ।

प्रकाशित : असार १२, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?