कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ढलान गर्न नपाउँदै भाँचियो पुल

केदार शिवाकोटी

दोलखा — दोलखाको बिगु गाउँपालिका– ४ झोरुङ खोलामा बन्दै गरेको मोटरेबल पुल भाँचिएको छ । जेठ मसान्तमा निर्माण सकिएपछि हस्तान्तरण गर्नुपर्ने पुलको हाल ढलान गर्ने तयारी थियो । पुलको एक भाग दबिएको आशंकामा बिगु गाउँपालिकाले २ साताअघि नै निर्माण रोक्न सम्बन्धित कम्पनीलाई भनेको थियो ।

ढलान गर्न नपाउँदै भाँचियो पुल

पुलको एक भाग १०/१२ सेन्टिमिटर दबिएको आशंकामा निर्माणको काम रोक्न भनिएको पालिकाका प्राविधिक शाखा प्रमुख सब इन्जिनियर सरोज खड्काले बताए । ‘हामीले अनुगमनको बेलामा पुलको एक भाग दबिएको आशंका गरेका थियौं,’ उनले भने, ‘विज्ञलाई ल्याउने तयारी हुँदा आशंका गरिएकै भागमा बाढी पसेर पुल भाँचियो ।’

पुल बनाउनका लागि २०७७ सालमा बोलपत्र आह्वान गरिएको थियो । त्रिवेणी–बाँनिया–लाफा जेभीले २ करोड १६ लाखमा निर्माण गर्नेगरी ठेक्काको कबोल गरेर जिम्मा लिएको उनले बताए । असार मसान्तमा हस्तान्तरण गर्नेगरी हतारमा उक्त निर्माण कम्पनीले पुल ढलानको तयारी थालेको हो । जेठ मसान्तमै प्राविधिक त्रुटिको आशंकामा काम रोक्न दिएको आदेश पुल ढलानका लागि फर्मा कसेर टेको लगाइएको थियो ।

ढलानका लागि छड बाँध्ने काम भइरहेको थियो । स्थानीयका अनुसार निर्माण कम्पनीले पालिकाको आदेश नमानेर काम गरिरहेको थियो । शनिबार झोरुङ खोलामा आएको बाढीले पुल भाँचिएको पालिकाले जनाएको छ । बिगु गाउँपालिकाको ५,६,७ र ८ का झण्डै ३० हजार स्थानीयको यातायात सहज बनाउन यहाँको पुल अति महत्वपूर्ण छ । सिंगटी खोला जलविद्युत् आयोजनाको ८० प्रतिशत र पालिकाको २० प्रतिशत लागतमा झोरुङ खोलामा पुल निर्माण हुन लागेको थियो ।


प्रकाशित : असार १२, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?