कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ङादीले थाल्यो उत्पादन

आश गुरुङ

लमजुङ — निर्माण सुरु भएको ५ वर्षपछि ३० मेगावाटको ङादी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ । उत्तरी लमजुङको ङादी खोलामा निर्मित आयोजनाले अहिले २६ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर व्यावसायिक उत्पादन थालेको जानकारी नेपाल विद्युत् प्राधिकरणले करिब डेढ महिनापछि मात्रै सार्वजनिक गरेको हो ।

ङादीले थाल्यो उत्पादन

गत वैशाख ९ को बेलुका ८ बजेबाट परीक्षण उत्पादन थालिएकामा चलनचल्तीअनुसार त्यसको १५ दिन प्राधिकरणले निःशुल्क विद्युत् लिने गर्छ । त्यसपछि व्यावसायिक रूपमा उत्पादन हुन्छ । तर त्यसबारे प्राधिकरणले सूचना दिन नै उपयुक्त नसम्झेको आयोजनाका कर्मचारी बताउँछन् । प्राधिकरणले गत वैशाख २७ मध्यरात १२ बजेदेखि व्यावसायिक उत्पादनसँगै ‘मिटरिङ’ भएको जानकारी हालै मात्र दिएको आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाको भनाइ छ । ‘अहिले अधिकतम २६ मेगावाटसम्म उत्पादन भइरहेको छ । प्राधिकरणको भारप्रेषण केन्द्रको निर्देशनअनुसार उत्पादनमा थपघट गर्ने गरिएको छ,’ उनले भने ।

परीक्षण उत्पादनको २ महिनाअगावै विद्युत् उत्पादनको तयारीमा रहेको आयोजनाले प्रसारण लाइनमा समस्याका कारण उत्पादन गर्न सकेको थिएन । प्राधिकरणले निर्माण गरिरहेको २२० केभीएको राष्ट्रिय प्रसारण लाइन नबन्दा यहाँ उत्पादित विद्युत् खुदीको टारीकुना सबस्टेसनमा जोड्ने भनिए पनि काम हुन सकेको थिएन । उत्पादित विद्युत् खेर जाने भएपछि हाललाई चिनियाँ कम्पनीले निर्माण गरेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रसारण लाइनमा ‘स्विचयाड’ गरिएको ङादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।

स्रोतका अनुसार प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट’ भइसकेको अवस्थामा माथिल्लो मर्स्याङ्दी ‘ए’ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा २ महिना उत्पादनमा ढिलाइ भएको हो । बुटवल पावर कम्पनी (बीपीसी) को सहायक ङादी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाले खुदी सबस्टेसनसम्मको ६ किलोमिटर प्रसारण लाइन आफैं बनाएको छ । चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजना निर्माण गरेको हो । कम्पनीले आयोजनाको अध्ययन, खरिद र निर्माण ईपीसी मोडलमा गरेको छ । कम्पनीसँग २०७३ माघ ३ मा ठेक्का सम्झौता भई चैत ३० बाट निर्माण सुरु भएको थियो ।

मर्स्याङ्दी गाउँपालिका–६ र ७ को बीचमा पर्ने ङादीखोलामा बनेको आयोजनामा बीपीसीको ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानी छ । करिब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिए पनि आयोजना निर्माणमा ब्याजसहित ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।

प्रकाशित : असार १२, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?