

बर्दिया — असारको दोस्रो साता बितिसक्दा पनि मनसुन सक्रिय नहुँदा बर्दियाका किसानले खेत रोप्न पाएका छैनन् । किसान एकातिर मल र बीउको समस्याले पीडित छन् भने अर्कोतर्फ समयमा वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनन् । ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने जिल्लामा शनिबारसम्म १० प्रतिशत मात्रै रोपाइँ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख कृष्ण धितालले बताए ।


वर्षा सक्रिय भए साउन पहिलो सातासम्म धान रोपाइँ सम्पन्न हुने परियोजनाका धितालले जनाए । हरेक वर्ष अनुकूल वर्षा भए २ लाख १० हजार टनभन्दा बढी धान उत्पादन हुने गर्छ । अनुकूल वर्षा भए प्रतिकट्ठा २ देखि ३ क्विन्टल धान उत्पादन हुने गरेको छ ।
जिल्लामा २५ प्रतिशतभन्दा बढी खेतमा सिँचाइ सुविधा भए पनि पर्याप्त पानीको अभावमा ती खेतमा पनि रोपाइँ हुन नसकेको स्थानीय किसानको भनाइ छ । हरेक वर्ष असार १५ मा धान महोत्सव मनाउने गरिन्छ । तर पानी नपर्दा किसान निराश हुँदै छन् । बबई डाइभर्सन, राजापुर सिँचाइ आयोजना र बबई सिँचाइको काम ढिलासुस्ती भएका कारण किसानले समयमा सिँचाइ गर्न नपाएको गुलरिया–१० का हरिराम लोधले गुनासो पोखे । ‘पेट्रोलियम पदार्थ महँगो भएका कारण पम्पसेटबाट सिँचाइ गर्दा लागत नउठ्ने भएकाले अकाशे पानीको भर परेका छौं,’ उनले भने, ‘समयमा मल र बीउ नपाउँदा किसान खेती छाडेर अन्य काम गर्न बाध्य भएका छन् ।’ रोपाइँ भएको खेत पनि पानी नपर्दा सुक्दै गएको किसानको गुनासो छ । बर्दियामा ट्र्याक्टरका अतिरिक्त हलोले जोतेर खेती गर्ने किसान पनि प्रशस्त छन् ।
कृषिमा सरकारको ठूलो धनराशि खर्च भएको भए पनि त्यो रकम बिचौलियाको हातमा पुगेकाले खास किसान सधैं मर्कामा पर्ने गरेको बारबर्दियाका नगरपालिका–४ का किसान गोपाल थारूको दाबी छ । ‘अनुदानको रकम वास्तविक किसानले पाउँदैनन्,’ उनले भने, ‘अनुदानको रकम पाएको भए अहिले खेतमा सिँचाइ गरेर खेती लगाइसकिन्थ्यो ।’ गत वर्षको कात्तिक २ गते बेमौसमी वर्षासँगै आएको बाढीले घर भित्र्याउन ठिक्क पारेको करिब २ हजार ५ सय हेक्टरमा लगाइएको धानबालीमा क्षति पुर्याएको थियो । सरकारले किसानलाई क्षतिपूर्ति दिने भने पनि हालसम्म उपलब्ध गराउन नसकेको उनले सुनाए ।
प्रकाशित : असार १२, २०७९ ०७:२९