२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कर्णालीबाट अदुवाका चाना युरोप निर्यात, माग धान्न मुस्किल 

चाँदनी कठायत

वीरेन्द्रनगर — सल्यानको शारदा नगरपालिकाका ज्ञानदेव घर्ती केही वर्ष अगाडि आफूले उत्पादन गरेको अदुवाको मूल्य नपाएर हैरान थिए । तर अहिले आफ्नो घरकै आँगनबाट अदुवा बेच्न पाउँदा खुसी छन् । ‘पहिला बिक्री नै नभएर गाउँमै बाँडेर सक्थ्यौँ तर अहिले भने घरबाटै हाम्रो अदुवा बिक्री हुन्छ’ उनले भने । 

कर्णालीबाट अदुवाका चाना युरोप निर्यात, माग धान्न मुस्किल 

प्रतिकिलो ५–१० रुपैयाँमा बिक्री गर्दै आएका किसानले अहिले ३० देखि ३३ रुपैयाँसम्ममा घरबाटै अदुवा बिक्री वितरण गर्न पाएका छन् । कर्णालीका अदुवा किसानले आफ्नो उत्पादन बिक्री गर्नका लागि भारतीय बजार कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले बिक्रीवितरण गरिरहेका छन् । अदुवाले सहजै बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवा खेतीमा पनि बढ्न गएको छ । यसअघि परम्परागत रुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक रुपमा हुन थालेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं. २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्राली’ ले आव २०७१/०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । कम्पनीले किसानको अदुवालगायतका उत्पादन खरिद गर्न थालेपछि किसानलाई सहज भएको हो ।

उक्त उद्योगले सुर्खेतको अवलचिङ, रुकुम पश्चिम, सल्यान र डोटीबाट अदुवा संकलन गरिरहेको छ । लामो समय अर्गानिक कृषि प्रशिक्षकको रुपमा काम गरेका प्रेमबहादुर कठायतले दूर दराजका किसानको अदुवा तथा अन्य उत्पादन खरिद गरी सहज गरिदिएको बताए । ‘गाउँका किसानले बजार नै नपाएर अदुवा कुहाएरै फाल्ने अवस्था थियो,’ उनले भने, ‘तर अहिले अर्गानिक भ्यालिले घरबाट प्राङ्गारिक प्रमाणित गरी अदुवा खरिद गर्न थालेपछि किसान पनि खुसी भएका छन् ।’

सुर्खेतको चिंगाड गाउँपालिकाका डम्मर रानाले कम्पनीले अदुवा खरिद मात्र नभइ अर्गानिक कृषि सम्बन्धी तालिम समेत दिएपछि निकै सहज भएको बताए । ‘हामीलाई गाउँमै आएर अर्गानिक तालिम पनि दिनुहुन्छ,’ उनले भने, ‘यतिमात्रै नभएर हामीले उत्पादन गरेको अदुवाको राम्रो मूल्यसहित बेच्न पनि पाएका छौँ, न बजार पाइएन भन्ने चिन्ता छ न भाउको।’ द अर्गानिक भ्याली १ करोड ३ लाख लगानीमा सञ्चालनमा आएको कम्पनीकी कार्यकारी निर्देशक सुलोचना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार उद्योगले विभिन्न जिल्लाका करिब १३ सय किसानका ८ सय ४० हेक्टर जमिनबाट प्रांगारिक प्रमाणीकरण गरी अदुवा खरिद गरिरहेको छ ।

सुरुमा कम्पनीलाई नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभीएपी) ले ६२ लाख ८७ हजार लगानी गरेको थियो । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अदुवा प्रशोधनका लागि टहरो बनाउन १८ लाख रुपैयाँ खर्च गरेको थियो भने अदुवाको अर्गानिक प्रमाणीकरणका लागि ५ लाख ५० हजार रुपैयाँ तथा अन्य किसान समर्थनका अन्य गतिविधिहरुमा सहयोग गरेको थियो । ‘त्यसपश्चात् हामी आफ्नै लगानीमा प्राली अघि बढाएका छौँ,' कार्यकारी निर्देशक श्रेष्ठ भनिन् । उनका अनुसार कम्पनीले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । खासगरी उद्योग सञ्चालनपश्चात् आर्थिक वर्ष ०७५/७६ मा २६ टन अदुवाको चाना युरोपियन बजारमा पठाइको थियो । प्रतिकिलो अमेरिकन डलर ४.८५ मा बिक्री गर्दा १ लाख ४ हजार डलर आम्दानी गरेको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा ६८ मेट्रिक टन पठाउँदा ३ लाख ८५ हजार अमेरिकी डलर आम्दानी गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिइन् । कम्पनीले गत आर्थिक वर्षमा २ सय ११ मेट्रिक टन सुकेको अदुवाका चाना युरोप पठाएको छ । श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा २ सय ३० मेट्रिक टन अदुवा चाना पठाइएको छ । ‘आर्थिक वर्षको अन्त्यमा मात्रै कति आम्दानी भयो भन्ने थाहा हुन्छ,’ उनले भनिन्, ‘यसपटक सबैभन्दा राम्रो आम्दानी हुने आश गरेका छौँ ।’ युरोपेली बजारमा अदुवाको माग बढ्दै गएपनि उद्योगको क्षमताले धान्न नसकेको उनको भनाइ छ । ‘माग बढ्दै गएपछि हामीले खरिद गर्ने अदुवाको क्षेत्र बढाउने सोचमा छौं,’ श्रेष्ठले भनिन्, ‘अब हामीले बढी खरिद गरेपछि २ सय ३० टनभन्दा बढी पनि पठाउन सक्छौं ।’

कम्पनीले आफ्नो उत्पादन विशेषगरी जर्मनीमा पठाउने गर्दछ । युरोपियन देशले चिया, तेल, क्याण्डी ºल्याभर्ड, मसलाजन्य वस्तुका रुपमा अदुवा प्रयोग गर्ने गर्दछन् । त्यहाँ यसको माग बढी छ । त्यस्तै नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा पनि निर्यात हुँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले कर्णालीको अदुवालाई युरोप निर्यात गर्न १० चरण पार गर्नुपर्दछ । सुरुमा किसानबाट संकलन गरी त्यसलाई स्तरीकरण गर्ने, धुने, काट्ने, सुकाउने, गुणस्तर जाँच्ने, प्याकेजिङ गर्ने, स्याम्पलिङ, लेवलिङ र अन्त्यमा ‘डेलिभर’ गर्दै आएको छ । यसले आफैले प्राङ्गारिक प्रमाणीकरणसमेत गर्दै आएको छ ।

सङ्कलनपश्चात् व्यवस्थित भण्डारण गर्ने ठाउँ नहुँदा अदुवा कुहिने गरेको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै १ सय ९९ ट्रक (२४ लाख केजी) अदुवा प्रशोधन गरिएको उनले बताइन् । कम्पनीमा १ सय २० जना स्थानीयले रोजगारी पनि पाएका छन्, धेरैजसो महिला छन् । उनीहरुले सरकारले तोकेको ज्याला लिएर काम गरिरहेका श्रेष्ठले बताइन् । भेरीगंगा नगरपालिका–५ कालिदमारमा रहेका उक्त प्रालिले आफ्नै करिब ६ रोपनी जग्गामा कार्यालय खडा गरी सञ्चालन गरिरहेको छ । प्रालि परिसरमा करिब सय रोपनी जग्गा अदुवा बेसार सुकाउनलाई प्रयोग गरिरहेको छ ।

प्रकाशित : असार १०, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?