३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रामायण सर्किट रेल पहिलो पटक जनकपुरमा

भगवान् राम र सीतासँग सम्बन्धित स्थल जोड्ने ६५० किमि लामो सर्किटको यात्रामा ५ सय भारतीय पर्यटक
सन्तोष सिंह

धनुषा — भारतको नयाँदिल्लीबाट रामायण सर्किट यात्रामा निस्किएको ‘भारत गौरव टुरिस्ट रेल’ बिहीबार अपराह्न जनकपुर आइपुगेको छ । करिब ५ सय धार्मिक पर्यटक बोकेको उक्त रेल जनकपुर आइपुग्दा भव्य स्वागत गरिएको थियो । भारतको रहनसहन, खानपान र संस्कृति झल्काउने गरी सजाइएको उक्त रेलमा आएका पर्यटकलाई जनकपुरस्थित रेलवे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र जनकपुरधाम उपमहानगर प्रमुख मनोज साहलगायतले स्वागत गरे ।

रामायण सर्किट रेल पहिलो पटक जनकपुरमा

वातानुकूलित प्रविधियुक्त रेल प्लेटफर्ममा रोकिनेबित्तिकै एकै प्रकारका छाता ओढेर भारतीय पर्यटक उत्रिए । असारको हप्प गर्मीमा नेपाल भित्रिएका भारतीयलाई विद्यार्थीहरूले नेपालको झन्डा प्रदान गर्दै आतिथ्य प्रदान गरे । यहाँका साधुसन्त तथा सांस्कृतिक समूहले पर्यटकलाई फूलको गुच्छा दिए । धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर रेल आइपुगेको यो नै पहिलो अवसर हो ।

स्वागतपछि भारतीय पर्यटकले सीताको माइती जनकपुरमा आएको र जन्तीजस्तै स्वागत गरिएको प्रतिक्रिया दिए । त्रेतायुगमा भारत अयोध्याका राम र जनकपुरकी सीताको विवाह भएको थियो । जन्तीका रूपमा स्वागत गर्ने गरी नेपाली पक्षले पनि तयारी गरेको थियो । प्लेटफर्ममै ठूलो अक्षरमा लेखिएको थियो, ‘तपाईंहरूलाई ननिहाल (सीताको माइत) मा स्वागत छ ।’

पर्यटकलाई फूलमाला लगाएर स्वागत गर्दै मधेस प्रदेशका मुख्यमन्त्री राउतले यस्तो विशेष रेल सिधै जनकपुर आउनुले नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ भएको बताए । ‘पर्यटकको आगमनले दुवै देशको सम्बन्ध थप सुमधुर हुनेछ,’ उनले भने, ‘यसबाट मधेस प्रदेश र समग्र मुलुककै पर्यटन प्रवर्द्धन हुने सम्भावना बढेको छ ।’ दुवै मुलुकका सम्बन्धित निकायले छलफल गरेर रामायण सर्किटमा जनकपुरलाई जोडेर भारतीय पर्यटकलाई नेपाल ल्याउन पहल गर्नुपर्नेमा उनले जोड दिए । ‘सीताको जन्मभूमि जनकपुरको विश्वभर प्रचारप्रसार गरी पर्यटक आउने वातावरण प्रदेश सरकारले बनाउँछ,’ उनले भने ।

भारत सरकारले रामायण सर्किटलाई जोड्न पहिलो पटक धार्मिक रेल सेवा सुरु गरेको हो । राम र सीतासँग जोडिएका सबै स्थलमा पुग्ने गरी यो रेलयात्रा थालिएको हो । त्यहीक्रममा बिहीबार रामायण सर्किटको रेल जनकपुर आइपुगेको हो । इन्जिनसहित १४ वटा बोगीमा जनकपुर आएका करिब ५ सय भारतीय पर्यटकलाई झारेर रेल बिहीबार नै भारत फर्किएको छ । भारतीय पर्यटक एक रात जनकपुर बस्नेछन् । शुक्रबार उनीहरू बसमा जनकपुरबाट भारतको सीतामढी पुग्नेछन् । त्यहाँबाट पुनः उनीहरू रेलयात्रा गर्दै फर्कनेछन् ।

भारतीय पर्यटकको सम्मानमा बिहीबार साँझ जानकी मन्दिरमा विशेष कार्यक्रम आयोजना गरियो । पर्यटक जनकपुरमा दैनिक हुने सन्ध्याकालीन गंगा आरतीमा पनि सहभागी भए । शुक्रबार बिहान धनुषाधाम दर्शन गर्ने कार्यक्रम छ । जहाँ, त्रेतायुगमा रामले धनुषा भाँच्दा मध्यभाग खसेको जनविश्वास छ ।

भारत गौरव टुरिस्ट रेल हरेक २ महिना वा ६ महिनाको अन्तरमा नेपाल आउने इन्डियन रेलवे क्रियटिङ एन्ड टुरिज्म कोपरेसन लिमिटेडका टुरिजम म्यानेजर अच्युत सिंहले जानकारी दिए । ‘यात्रुवाहक रेलजस्तो नियमित रूपमा यो रेल सञ्चालन हुँदैन,’ उनले भने, ‘यो रेलमा जोकोही पर्यटकले यात्रा गर्न पाउनेछन् । भारतीयका लागि मात्रै होइन । पहिलो पटक भारतीय पर्यटक मात्रै आएका हुन् । यसपछि अनलाइन बुकिङ गरेर निर्धारित समयमा फेरि पनि यो यात्रा हुनेछ ।’

उनका अनुसार रामायण सर्किट १८ दिनको यात्रा हो । जसका लागि ६२ हजार ३ सय ७० भारतीय रुपैयाँ भाडा तोकिएको छ । यात्राको क्रममा बस्ने–खाने सबै व्यवस्था रेलवेकै हुन्छ । नयाँदिल्लीबाट छुटेको रेल अयोध्या, चित्रकोट हुँदै जयनगरबाट नेपाल प्रवेश गरेको थियो । यो रुटमा अहिले नेपालको रेल पनि गुडिरहेको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो । सोही सम्झौताअनुसार नै रामायण सर्किट जोड्न यो रेलयात्रा दिल्लीबाट सुरु भएको हो । जनकपुरमा पनि ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो ।

भारत सरकारले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरूलाई स्थलमार्गबाट जोडेर रामायण सर्किट नामकरण गरेको छ । जानकीलाई विवाह गरेर लैजान राम अयोध्याबाट आएको बाटो र जनकपुरमा स्वयम्बरपछि सीतालाई लिएर गएको बाटो तथा धार्मिक भूमिलाई रामायण सर्किटले जोड्ने लक्ष्यअनुरूप भारत सरकारले सन् २०१४/१५ को बजेटमै यसको अवधारणा अघि सारेको थियो ।

सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरूलाई जोड्ने लक्ष्य लिएको छ । रामायण सर्किटमा श्रीलंकासमेत जोडिनेछ । ६ सय ५० किलोमिटर लामो सर्किटले भारत उत्तरप्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरका विभिन्न धार्मिक स्थललाई जोड्नेछ ।

प्रकाशित : असार १०, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?