१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओरालोतिर विश्वका सेयर बजार

कोभिडको असर कम भए पनि ब्याजदर र मूल्यवृद्धिले नयाँ रेकर्ड कायम गरिरहेकाले सेयर बजारमा उच्च गिरावट

काठमाडौँ — पछिल्ला केही महिनायता विश्वका प्रायः सेयर बजार ओरालो लागेका छन् । कोभिडको असर कम भए पनि ब्याजदर र मूल्यवृद्धिले नयाँ रेकर्ड कायम गरिरहेकाले सेयर बजारमा उच्च गिरावट आएको विश्लेषण गरिएको छ । पछिल्ला महिनामा अमेरिका, युरोप र एसिया क्षेत्रका सेयर बजारमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ओरालोतिर विश्वका सेयर बजार

अमेरिका

अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक बुधबार घटेर बन्द भए । वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको ‘एस एन्ड पी ५००’ सूचक ०.१३ र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको ‘नास्डाक’ कम्पोजिट ०.१५ प्रतिशत घटेर बन्द भए । मासिक रूपमा ‘एस एन्ड पी ५००’ सूचक ५.३८ र वार्षिक रूपमा ११.३६ प्रतिशत घटेको देखिन्छ । यस्तै मासिक रूपमा ‘नास्डाक’ मा ४.१८ र वार्षिक रूपमा २२.५५ प्रतिशत गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ । एक वर्षअघिको तुलनामा गत सातासम्म ‘डाउजोन्स’ सूचक १० प्रतिशत घटिसकेको छ । एक वर्षको अवधिमा अमेरिकाका सबै सेयर बजार कम्तीमा ५ प्रतिशतभन्दा धेरैले घटेको देखिन्छ ।

युरोप

अमेरिका जस्तै युरोप क्षेत्रका सेयर बजारमा पनि भारी अंकले गिरावट भएको छ । बुधबारको कारोबारमा पेरिसस्थित ‘क्याक ४०’ सूचक ०.२४ र फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ सूचक १.१३ प्रतिशत घटेर बन्द भएका छन् । मासिक र वार्षिक रूपमा पनि ती सूचकमा भारी गिरावट भएको देखिन्छ । यसअनुसार ‘क्याक ४०’ सूचक मासिक ७.१५ र वार्षिक १०.९५ प्रतिशत घटिसकेका छन् । ‘ड्याक्स’ सूचकमा मासिक र वार्षिक रूपमा क्रमशः ८.३२ र १५.९२ प्रतिशतको गिरावट आएको छ । लन्डनस्थित ‘फुट्सी १००’ पनि ०.४६ प्रतिशत घटेर बन्द भएको छ । मासिक रूपमा यो सूचकमा ६.०८ प्रतिशतको गिरावट आएको छ । तर वार्षिक रूपमा भने यो सूचक ०.०४ प्रतिशत बढेको देखिन्छ । यो सूचकबाहेक युरोप र अप्रिका क्षेत्रका सबै सेयरबजार मासिक र वार्षिक रुपमा पनि घटेका छन् ।

एसिया

एसिया क्षेत्रका प्रमुख सेयर बजारले पनि मासिक र वार्षिक रूपमा उच्च गिरावटको मार खेपिरहेका छन् । यद्यपि बुधबारको कारोबार बन्द हुँदा भने केही सेयर बजार बढेर बन्द भए । यसअनुसार बुधबार बजार बन्द जापानको ‘निक्केई’ ०.०८ प्रतिशत बढे पनि मासिक २.१६ प्रतिशत र वार्षिक रूपमा ९.३६ प्रतिशत घटेको छ । हङकङको ‘हेङसेङ’ १.२६ बढेर बन्द भएको छ भने मासिक रूपमा पनि ३.९३ प्रतिशत बढेको छ । तर वार्षिक रूपमा यो सूचकमा २६.१८ प्रतिशतको गिरावट आएको छ । चीनको ‘सांघाई कम्पोजिट’ वार्षिक १५.६१ प्रतिशत घटे पनि मासिक र दैनिक भने बढेर बन्द भएको छ ।

दक्षिण एसिया

भारतको सेयर बजारमा पनि भारी गिरावट आएको छ । आर्थिक रूपले टाट पल्टेको श्रीलंकाको सेयर बजारमा पनि भारी गिरावट आएको छ । बिहीबार बजार बन्द हुने अवस्था सकारात्मक देखिए पनि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा तुलना गर्दा सेयर बजारमा भारी गिरावट आएको देखिन्छ ।

नेपाल

सेयर बजारका सबै सूचक बिहीबार घटे । नेप्से परिसूचक १ हजार ८ सय ४८ अंकमा झरेको छ । यस दिन नेप्से ४५.२५ अंकले घट्यो । कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् । यसअनुसार बैंकिङ २१, विकास बैंक ११९, फाइनान्स ४७, होटल तथा पर्यटन ६७, जलविद्युत् ८६, जीवन बिमा १४३, उत्पादन ९५, माइक्रोफाइनान्स १०२, निर्जीवन बिमा २१८, अन्य ३३ र व्यापार उपसमूह ३९ अंक घटे । १५ कम्पनीको मूल्य बढ्दा २ को स्थिर रह्यो भने १७८ को घट्यो । हालसम्मको उच्च बिन्दु (करिब ३२०० अंक) को तुलनामा बिहीबारसम्म नेप्से परिसूचक औसतमा ४० प्रतिशतभन्दा बढीले घटिसकेको छ ।

प्रकाशित : असार १०, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?