सबै स्थानीय तहमा लागू भयो ‘सूत्र’, बेलायतद्वारा नेपाललाई हस्तान्तरण


काठमाडौँ — बेलायतको आर्थिक तथा प्राविधिक सहयोगमा तयार पारिएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ (सूत्र) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहका लागि तयार पारिएको वित्तीय व्यवस्थापनसम्बन्धी यो सफ्टवेयर प्रणालीलाई नेपालका लागि बेलायतका राजदूत निकोला पोटिलले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत हस्तान्तरण गरेकी हुन् ।



सूत्र प्रणालीले स्थानीय सरकारलाई उनीहरुको सार्वजनिक वित्त व्यवस्थापनमा सहयोग गर्छ । त्यस्तै, वित्तीय संघीयता सम्बन्धी कामहरु र जोखिम पहिचानसमेतका काम यो प्रणालीमार्फत भइरहेको छ । स्थानीय सरकारहरुले योजना बनाउने, रकम विनियोजन गर्ने, आय–व्ययको अभिलेख राख्ने र स्वचालित रुपमा वित्तीय प्रतिवेदनहरु तयार पार्नका लागि यसले मद्दत पुर्याउने ठानिएको छ । स्थानीय तहले सूत्रमार्फत नै राजस्व अनुमान गर्न, बजेट तयार गर्न, बजेट स्वीकृत गर्न, विभिन्न स्रोतबाट प्राप्त कोषको विवरण राख्न, खर्चको लेखा राख्नलगायत गतिविधि गर्न सक्नेछन् ।
सूत्र प्रणाली नेपाललाई हस्तान्तरण गर्दै बेलायती राजदूत निकोला पोटिलले स्थानीय सरकारहरुको सार्वजनिक वित्तीय व्यवस्थापनमा जवाफदेहिता र पारदर्शिता सुनिश्चत गर्ने एप्लिकेसन रहेको बताइन् । ‘यो प्रणालीले स्थानीय तहहरुको एकीकृत वित्तीय विवरण वास्तविक समय (रियल टाइम) मा उलपब्ध गराउन सक्छ । जसले पारदर्शिता कायम गर्न र वित्तीय जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ,’ राजदूत पोटिलले भनिन् ।
महालेखा नियन्त्रक सुमन अर्यालले सूत्र प्रणालीले सार्वजनिक वित्त व्यवस्थापनमा संघीय र स्थानीय सरकारको समय र लागत दुवै बचत गर्ने बताए । त्यस्तै यो प्रणालीबाट सबै स्थानीय तहको एकीकृत वित्तीय विवरण तयार पार्न सकिने पनि उनको भनाइ छ । ‘यो प्रणालीबाट मुख्यगरी तीनवटा कारणले महत्वपूर्ण छ । पहिलो, शासकिय प्रणालीमा प्रविधि प्रयोग । दोस्रो, स्थानीय सरकारको वित्तीय व्यवस्थापन र तेस्रो, डिजितल रुपान्तरणमार्फत् सार्वजनिक जवाफदेहिता,’ महालेखा नियन्त्रक अर्यालले भने ।
स्थानीय तहको पहिलो निर्वाचनका क्रममा सुरु भएको सुत्र प्रणालीमा अहिले ७५३ वटै स्थानीय तह आवद्ध भइसकेका छन् । यो प्रणालीले वित्तीय तथ्याङ्कको गुणस्तर सुधार गर्न सहयोग गर्ने ठानिएको छ ।
प्रकाशित : असार ९, २०७९ १४:५०