डलर भाउ १२५.७२ रुपैयाँ- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डलर भाउ १२५.७२ रुपैयाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५.७२ रुपैयाँ (बिक्री दर) तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । यसै क्रममा बिहीबार हालसम्मै उच्च बिन्दुमा पुगेको हो ।

करिब एक साताअघि एक अमेरिकी डलरको विनिमय दर १२५.१६ रुपैयाँ थियो । त्यसपछिका ५ दिन १२५.२२ रुपैयाँ कायम रह्यो । गत मंगलबार केही घटेर १२५.०७ रुपैयाँ कायम भयो । तर, बुधबार फेरि उकालो लाग्दै १२५.२२ रुपैयाँमा पुगेकोमा बिहीबार रेकर्ड नै बनाएको हो । गत वर्षको असार मसान्तको तुलनामा वैशाखसम्म अमेरिकी डलरसँग रुपैयाँ ३.७१ प्रतिशतले कमजोर (अवमूल्यन) रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रुपैयाँ २.७२ प्रतिशतले बलियो (अधिमूल्यन) थियो । ‘२०७९ वैशाख मसान्तमा अमेरिकी डलर १ को खरिद विनिमय दर १२३.६३ रुपैयाँ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘२०७८ असार मसान्तमा उक्त विनिमय दर ११९.०४ रुपैयाँ थियो ।’

पछिल्ला साढे ४ वर्षमा डलर भाउ करिब २३ रुपैयाँले बढेको छ । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढेको हो । पछिल्लो पटक गत वैशाख २७ देखि हरेक दिनजसो नयाँ उचाइमा पुगेको डलर भाउ जेठ ६ मा १२४.६७ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा १२३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १२३.२४ रुपैयाँसम्म पुगेको थियो ।

पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । बुधबार साँझ एक अमेरिकी डलरको विनिमय दर भारु ७८.३१ छ । जुन ६ तारिखमा यस्तो विनिमय दर भारु ७८.०६ थियो । त्यसयता भारतमा पनि निरन्तर जसो भारु कमजोर बन्दै गएको हो ।

प्रकाशित : असार ९, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

साइकलमै बेहुली

महँगो पेट्रोलियम खपत घटाउने सन्देश दिन १२ किमि लामो यात्रा जन्तीहरुसमेत साइकलमै
सम्झना रसाइली

तनहुँ — कोट–पाइन्ट, दुबोको मालामा बेहुला ठाँटिए । घरबाट निस्कने बेला भयो तर बेहुला–बेहुली चढ्न सिंगारिएको गाडी कतै देखिएन । व्यास नगरपालिका–१० कुमलटारीका २६ वर्षीय बेहुला विनोद सापकोटाले आफ्नो साइकल निकाले । उनका ६ जना साथीहरू पनि आआफ्नो साइकलमा देखा परे । जन्ती हिँड्यो साइकलमै । 

घरभन्दा करिब ६ किलोमिटर परको एक होटलमा बेहुली पक्ष बेहुला र जन्तीको स्वागतका लागि पर्खिरहेका थिए । साइकलमा सवार बेहुला देखेर केहीबेर अचम्म माने । ‘नयाँ आइडिया’ भन्दै हँस्यौली पनि चल्यो । हँसिलो मुहारका साथ बेहुला पक्षको स्वागत गरे । बिहेको विधि सकिएपछि बेहुलाले बेहुली संगीता भुजेललाई पनि साइकलमै चढाएर घर ल्याए ।

मितव्ययिताको नारा चर्को भए पनि तडकभडक तरिकाले विवाह गर्ने चलन समाजबाट हट्न सकेको छैन । विवाहमा बेहुला बग्गी, सजावटसहित महँगा कार र वरियात गाडीमा बेहुली लिन जाने चलन रहेको समयमा सापकोटाले भने साइकलमै आफ्नी बेहुलीलाई अन्माएर ल्याए । मितव्ययी तरिकाले विवाह गर्नुपर्छ र पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै विहे गरेको उनले बताए । उनको यही सोचलाई साथ दिँदै साथीहरू पनि साइकलमै जन्ती गएका हुन् ।

यो दृश्य देखिरहेका छरछिमेक भने अचम्म मानेर हेर्दै थिए । पैदलयात्री पनि एकछिन रोक्किएर साइकलमा सवार बेहुला–बेहुली र तिनका साथीलाई हेर्थे । ‘म एक साइकलप्रेमी हुँ, स्वास्थ्यको हिसाबले पनि साइकल महत्त्वपूर्ण साधन हो’, बेहुला सापकोटाले भने, ‘महँगो पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन पनि विवाहमा साइकलको सवारी रोजेको हुँ ।’ नेपाल साइकल उत्सवका क्रममा उनले इलामदेखि मुगुको रारासम्म साइकल यात्रामा पनि गरेका थिए ।

प्रकाशित : असार ९, २०७९ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×