२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

निजी सवारीसाधन आयातको प्रतिबन्ध खुलाउन नाडाको माग    

साउन १ गते देखि सो प्रतिबन्ध फुकुवा हुने मन्त्रीको आस्वासन

काठमाडौँ — नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले निजी सवारीसाधनमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । अध्यक्ष ध्रुब थापा नेतृत्वकाे एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी सरकारले कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लगाएको प्रतिबन्ध खुला गर्न माग गरेको हो । 

निजी सवारीसाधन आयातको प्रतिबन्ध खुलाउन नाडाको माग    

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले प्रतिबन्ध तत्काल खारेज गरी अटोमोबाइल व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरे । सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जिप र भ्यानलाई असार मसान्तसम्म प्रतिबन्ध लगाएको हो । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको असहजता, एलसी मार्जिनमा गरिएको वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएको वृद्धि जस्ता विषयले अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको थापाले बताए ।

परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउँदै आएको अटो क्षेत्रले देशको कुल राजस्वमा झण्डै २५ प्रतिशत योगदान पुर्‍याएको उनले बताए । भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो गर्ने निर्णय भइसकेकाले निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध खोल्न जरुरी भएको बताए । सो भेटघाटको क्रममा मन्त्री बडूले कार, जिप र भ्यान जस्ता निजी सवारीको आयातमा लागेको प्रतिबन्ध यो असार मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गरे । साउन १ गतेदेखि सो प्रतिबन्ध फुकुवा हुने उनले आश्वासन दिए । उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य आकाश गोल्छा तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानको उपस्थिति थियो ।

प्रकाशित : असार ७, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?