३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सरकारका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको होइन : अर्थमन्त्री शर्मा

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारका कारण नभई अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्याले सिर्जित भएकाे बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा भएका युद्धको प्रभावका कारण मूल्य बढेको उनले बताए । खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरुको प्रभावकै कारणले बढेको उनले बताए ।

सरकारका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको होइन : अर्थमन्त्री शर्मा

प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले रसियाबाट कच्चा पदार्थ आयात बन्द भएकाले खाने तेलको मूल्य बढेको उल्लेख गरे । उनले भने, 'तेलको मूल्य बढ्यो भन्नेछ । यो हामीले बढाएको हो र ? हामी त चिन्तित छौँ, यसले डलर (सञ्चिति) घटिरहेको छ । हाम्रो पैसा बाहिर गइरहेको छ, अन्तर्राष्ट्रिय स्तरमा आएका युद्धहरुको प्रभावका कारण मूल्य बढिरहेको छ । खाने तेलको मूल्यको कुरा पनि त्यही नै हो ।'

सरकारले आगामी वर्ष धानमा आत्मनिर्भर हुनको लागि बिउ, प्रविधि र रकम छुट्याएको उनको भनाइ छ । सरकारले फलफूलजन्य वस्तु केरा र स्याउको आयातलाई तीन वर्षभित्रमा घटाउँदै जाने नीति लिएको बताए । उनले भने 'तोरी आउने युक्रेन, रसियाबाट रहेछ । आउन बन्द भएपछि तेलको मूल्य बढ्यो । त्यसैले युक्रेनको तोरी होइन हाम्रो तोरी हिमालदेखि तराइसम्म जताततै फल्छ । अहिले कृषिलाई प्राथमिकता किन दिएको त भन्दा हामीले आत्मनिर्भर हुनका लागि हो ।'

स्पञ्ज आइरनमा दिएको भन्सार छुटले प्लेट बनाउने १५ देखि २० वटा उद्योगले करोडाैं लगानी थपेको उनकाे दावी छ । यसले नेपाल फलामजन्य सामग्रीमा आत्मनिर्भर मात्रै नभएर निकासी गरी व्यापार घाटा कम गर्ने अवस्थामा पुग्ने शर्माले बताए । आगामी आर्थिक वर्षदेखि निकासी गर्ने उद्योगका लागि ८ प्रतिशत अनुदान दिने व्यवस्था भएकाले सरकारले उद्योगमैत्री नीति अगाडि ल्याएको उनको दाबी छ । उनले भने '२ सय बराबर ठूला उद्योगहरु जसले वार्षिक १० करोडसम्मको विद्युत् खपत गर्छन्, त्यसको उत्पादन निर्यात हेरेर हामीले २ देखि १५ प्रतिशतसम्म विद्युत् छुट दिने नीति ल्याएका छौँ । त्यसले नेपालमा ठूला उद्योगहरु अरु आउनेवाला छन् ।' अर्थमन्त्री शर्माले सरकारले दिनुपर्ने मल किसानले ल्याउँदा सहज रुपमा ल्याउन पाउनुपर्ने बताए । उनले कुनै पनि किसानले जोहो गरेर मल ल्याएको भएमा र भन्सारमा रोकिएको भए तत्काल सहजीकरण गर्न भन्सार विभागका महानिर्देशकलाई निर्देशन दिए । उनले भने ‘किसानले आफ्नो जोहो गरेर ल्याएको मल ल्याउन पाउनुपर्छ । किसानले ल्याएको मल भन्सारमा रोकिएको छ भने भन्सारका महानिर्देशकले सुन्नुहोला । किसानले ल्याएको मल कसैले लिलाम गर्न पाइँदैन ।'

प्रकाशित : असार ६, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?