पोखरामा भारतीय पर्यटकको भरथेग- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा भारतीय पर्यटकको भरथेग

कोरोना महामारीले दुई वर्ष सुस्ताएको पोखराको पर्यटनमा पर्यटकको आगमनले राहत
दीपक परियार

पोखरा — भारतीय नम्बर प्लेटका सवारी अचेल लेकसाइडलगायत पोखराका अन्य बजारमा बग्रेल्ती भेटिन्छन् । कार, जिप, भ्यानजस्ता साना सवारी र ठूला बसमा समूहमा आउने भारतीय पर्यटकको चहलपहलले लेकसाइड गुल्जार छ ।

पोखराको फेवातालमा आइतबार देखिएका भारतीय पर्यटक । तस्बिर : दीपक/कान्तिपुर

कोरोना महामारीले झन्डै दुई वर्ष सुस्ताएको पोखराको पर्यटनमा हाल भारतीय पर्यटकको आगमनले राहत मिलेको व्यवसायीले बताएका छन् । गर्मी छल्न भारतका सीमावर्ती सहरबाट आउने पर्यटकको संख्या बढी छ । तेस्रो मुलुकका पर्यटकको आगमन कम हुने समयमा भारतीय पर्यटकको उपस्थितिले पर्यटन व्यवसायी उत्साहित छन् । ‘अफ सिजन’ मा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसाय भरथेग गरेको व्यवसायीको भनाइ छ ।

गत जेठमा भारतीय र आन्तरिक पर्यटकले पोखराका ८० प्रतिशत होटल भरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए । भारतका उत्तरप्रदेश र बिहारका सहरबाट धेरै पर्यटक पोखरा आएका छन् । पोखरा हुँदै मुक्तिनाथ जाने भारतीय पर्यटकले २–३ रात पोखरामा बिताउँछन् । ‘अहिले भारतीय पर्यटकको आगमन देख्दा आगामी सिजनमा पर्यटन पुनरुत्थान हुन्छ भन्ने आशा लिएका छौं,’ उनले भने, ‘युरोपेली पर्यटकको आगमन पनि सुरु भएकाले संकेत राम्रो छ ।’ पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा आएको पहिरोपछि भने असार पहिलो साता भारतीय पर्यटकको आगमनमा केही कमी आएको उनले बताए ।

पोखरा आउने भारतीय पर्यटक फेवातालमा डुंगा चढ्न, प्याराग्लाइडिङ गर्न, वरपरका पर्यटकीय स्थलको भ्रमण गर्न रुचाउँछन् । नयाँ गन्तव्यका रूपमा रहेको पुम्दीकोटको शिव मूर्ति र सराङकोट पुग्ने अन्नपूर्ण केबलकार पनि भारतीयको रोजाइमा पर्ने गरेको छ । पहिला जस्तो खर्च गर्ने भारतीय पर्यटक भने कम भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालको भनाइ छ । ‘संख्यामा वृद्धि भएको छ, जसले गर्दा होटल, रेस्टुरेन्ट र साहसिक गतिविधि चलायमान भएका छन्,’ उनले भने, ‘कोरोना महामारीको यो अवस्थालाई सुखद नै मान्नुपर्छ ।’

पोखराबाट हाल भैरहवा, नेपालगन्ज, धनगढी, सिमरा र जनकपुरमा सीधा हवाई सेवा सञ्चालनमा छ । सुनौली नाका हुँदै भैरहवाबाट हवाईमार्ग हुँदै पोखरा भित्रिने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराज अधिकारीले बताए । सीमा नजिकका विमानस्थलबाट हवाईमार्ग हुँदै पोखरा आउने यात्रुमध्ये ६० प्रतिशत भारतीय रहेको उनको भनाइ छ । ‘पहिरो गएर राजमार्ग अवरुद्ध भइरहँदा खर्च गर्ने पर्यटक आउन मान्दैनन्,’ उनले भने, ‘विराटनगर, सिमरा र जनकपुर नियमित हुने र भद्रपुरबाट पनि सीधा उडान सुरु हुने हो भने भारतीय पर्यटकको आगमनमा अझै वृद्धि हुन्छ ।’ तारा एयरको जहाज दुर्घटनापछि पोखरा–जोमसोम उडान रोकिएकाले पनि मुक्तिनाथ जान चाहने भारतीय पर्यटकले स्थलमार्ग रोजिरहेको उनले जानकारी दिए ।

होटल संघ पोखराले हरेक वर्ष भारतका सीमावर्ती सहरमा पुगेर प्रवर्द्धनात्मक कार्यक्रम ‘चलिए पोखरा’ गर्दै आएको छ । पोखरा पर्यटन परिषद्ले भारतमा हुने बंगाल ट्राभल मार्टलगायत विभिन्न पर्यटनसम्बन्धी मेलामा पोखराको प्रवर्द्धन गरेको छ । पोखराकै प्रवर्द्धन गर्न पर्यटन व्यवसायी युवाको समूह ‘डुलुवा’ एकमहिने भारत यात्रामा छ । जेठ २२ मा यात्रा थालेको डुलुवा समूहमा १९ युवा छन् । उक्त टोली नेपालको महेन्द्रनगरबाट भारतको अमृतसहर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिमला, देहरादुन, नैनीताल, हलपुर हुँदै बुटवलबाट फर्किनेछ । पोखराका साहसिक गतिविधिको प्रवर्द्धन भारतीय सहरमा गरिरहेको टोली प्रमुख एवं प्याराग्लाइडिङ पाइलट योगेश भट्टराईले बताए ।

प्रकाशित : असार ६, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

हेलम्बु–मेलम्चीमा छैन चैन

अघिल्लो वर्षको प्राकृतिक विपत्तिपछि घरजग्गा सर्वस्व बगरमा पुरिएका कैयन् स्थानीय निराश भएर काभ्रे र काठमाडौंतिर सरिसकेका छन्, बाँकी रहेकाहरु अर्को प्रकोपको त्रासमा छन्
अनिश तिवारी

सिन्धुपाल्चोक — जब लगातार वर्षा सुरु हुन्छ र मनसुन सक्रिय हुन थालेको खबर आउँछ, तब हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकाका बासिन्दा आलसतालस हुन्छन् । गत वर्ष असारको प्राकृतिक विपत्तिमा घरजग्गा गुमाएका कैयन् स्थानीय बासिन्दा सरकारबाट राहत पाइने आशामा महिनौं गुजारेपछि निराश भएर काभ्रे र काठमाडौंतिर सरिसकेका छन् । बाँकी रहेकाहरूलाई यसपटक पनि त्यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ताले छोपेको छ ।

सिन्धुपाल्चोक, हेलम्बुको शिरभेग भेमाथाङबाट उर्लिएर आएको बाढीले गत वर्ष क्षति पुर्‍याएको मेलम्ची बजार । तस्बिर : अनिश/कान्तिपुर

०७८ असार १ मा हेलम्बुको शिरभेग भेमाथाङबाट उर्लिएर आएको कालो लेदोसहितको बाढीमा परी ५ जनाले ज्यान गुमाएका थिए । २० जना अझै भेटिएका छैनन् । बाढीले हेलम्बुमा ३ सय ८ र मेलम्चीमा २४ घर बगायो । १७ मत्स्य फार्म, ६ होटल र रिसोर्ट, १ विद्यालय, २ सरकारी कार्यालय, ६ झोलुंगे पुल, ६ मोटरेबल पुल, एक कल्भर्ट र एक बेलिब्रिज बगाएपछि ६ महिना हेलम्बुवासी आफ्नै गाउँभेगमा थुनिए । हेलम्बुको तटभेगका ६ गाउँको नामोनिसान मेटियो । मेलम्ची तटीय क्षेत्रका बासिन्दालाई पुनर्निर्माणको सुस्त गतिले समेत चिन्तित बनाएको छ ।

गत वर्ष बाढीलगत्तै तत्कालीन प्रधानमन्त्रीदेखि सांसद र नेताहरूले घटनास्थल पुगेर राहत प्याकेज र पुनर्वासको योजना सुनाए । तर बाढीले ध्वस्त हेलम्बु र मेलम्ची क्षेत्रमा एक वर्षसम्म पनि तटबन्ध निर्माणको काम अघि बढ्न सकेन । केही समयअघि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु र मेलम्ची क्षेत्रमा तटबन्ध निर्माण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई ३० करोड रुपैयाँ दिएको थियो । हिउँदभर तटबन्ध बनाउन जल उत्पन्न प्रकोप काम गर्न इच्छुक देखिएन । यसअघिझैं बर्खा लागेपछि हतारमा टेन्डर आह्वान गरिएयो । मेलम्ची र हेलम्बुमा छुट्टाछुट्टै तटबन्ध बनाउने गरी टेन्डर भए पनि कोही आएनन् । अहिले फेरि सूचना निकालिएको छ । भौगर्भिक अध्ययन मूल प्रतिवेदन र केही भौतिक तयारी हुने आसमा कुरिरहेका जनप्रतिनिधि र स्थानीय अगुवा जल उत्पन्न प्रकोपको ढिलाइप्रति आक्रोशित छन् ।

स्थानीय र जनप्रतिनिधिको दबाबमा गृहमन्त्री बालकृष्ण खाँणले गत वर्ष मेलम्ची बाढीको उद्गमस्थल हेलम्बुको सेमिसिदाङ हिमालको काख भेमेथाङ चौरको भौगर्भिक अध्ययन गर्न तत्काल विज्ञ र भूगर्भविद्को टिम खटाएका थिए । विज्ञले अध्ययन सार्वजनिक गरे पनि पुनर्निर्माण र भौतिक तयारी केही भएको देखिँदैन । संघीय सरकारले बाढीपीडितलाई आवास बनाउन ५ लाख दिने र जग्गा नभएको प्रमाण भए ३ लाख दिने प्रक्रिया बल्ल सुरु भएको छ । हेलम्बुमा विस्थापितका लागि १ सय ३५ अस्थायी आवास बनाइएको छ । १ सय ९४ परिवारको स्थायी आवासका लागि सम्झौता भएर विपद् व्यवस्थापन प्राधिकरणले लाभग्राहीलाई पहिलो किस्ताबापतको १० प्रतिशत रकम पालिकाको खातामा पठाएको छ । जग्गा नभएका विस्थापित ६३ घरलाई जग्गा व्यवस्थापन गर्ने प्रक्रिया भर्खर अगाडि बढेको छ । सडक निर्माणको काम २५ करोड बजेटबाट सुरु भएको छ ।

मेलम्ची नगरपालिकाभरिका १ सय ८० बाढीपीडित आश्रयस्थल सामुदायिक विद्यालयबाट निस्किएपछि अरूको घरमा महँगो भाडा तिरेर बसिरहेका छन् । पालिकाले पूरै बेवास्ता गरेको उनीहरूको गुनासो छ । ‘संघीय सरकारले बाढीको क्षतिलाई गम्भीरतापूर्वक लिएन, बजेट अभावमा पुनर्निर्माण र अन्य भौतिक पूर्वाधारको कामले खासै गति लिन सकेको छैन,’ मेलम्चीका सागर श्रेष्ठले भने । मेलम्चीमा श्रेष्ठ र हेलम्बु इचोकमा हस्त पण्डितको अगुवाइमा तटबन्ध निर्माण समिति गठन भएको छ । आफ्नो बस्ती जोगाउन दुवै क्षेत्रका बासिन्दा सक्रियतापूर्वक सहयोग संकलनमा जुटेका छन् । सबै स्थानीय एक भएर बजारभर थुप्रिएका बालुवा, गेगर, कालो लेदो निकालेर फालिसकेको र बजारलाई सुरक्षित राख्न एक्स्काभेटर, दुई बुल्डोजरसहित दर्जन टिपर प्रयोग गरेर काम गरिरहेको श्रेष्ठको भनाइ छ । बाढीमा मेलम्ची बजारका ७० भन्दा बढी घरमा लेदो भरिएको थियो । हेलम्बुबाट पुनः बाढी आउन सक्ने विज्ञको चेतावनीपछि तटक्षेत्रका बासिन्दा झनै त्रसित देखिएका छन् ।

गएको हिउँदमा ६० लाख रुपैयाँ खर्चेर बनाइएको मेलम्ची चौतारा जाने इन्द्रावती नदीमा ह्युम पाइप राखेर बनाइएको अस्थायी बाटो केही दिनअघिको बाढीले बगाएपछि आउजाउ ठप्प भएको छ । आफ्नो स्रोतसाधनले मात्रै नभ्याउने उल्लेख गर्दै मेलम्चीका नगर प्रमुख आइतमान तामाङले नदी किनारको घरबस्ती संरक्षणका लागि भौतिक तयारी गरिरहेको जानकारी दिए । ‘दीर्घकालीन योजनाबिना काम गर्दा पैसा मात्र खर्च हुने अवस्था आउँछ । साबिक अवस्थामा खोला फर्किए पनि बाढीको जोखिम अझै छ, बाढीपूर्वको तयारीका लागि कस्सिरहेका छौं,’ उनले भने ।

यसअघि नगरले स्थापना गरेको उद्धार तथा पुनःस्थापना कोषमा चार करोड जम्मा भएको थियो । यसबाहेक नगरले आवास पूर्ण क्षति हुनेलाई ३० हजार र खोलाछेउ जोखिममा रहेकालाई २० हजार दिने नगरले निर्णय गरेको थियो । बाढीपीडितमा दीर्घरोगी, प्रसूतिलाई प्राथमिकतामा राखेर राहत प्याकेज दिने र अन्य सम्पूर्ण अवस्थाबारे सबै अपडेट राखेको उनले दाबी गरे ।

हेलम्बुको मुख्य बजार चनौटे जोड्ने रातो मोटरेबल पुल बाढीले बगाएपछि बेलिब्रिज जोडेयता जीवनशैली सहज भएको छ । मेलम्चीघ्याङ चोक्पु खोलामा तुइन हटाएर झोलुंगे पुल जोडिएको छ । हेलम्बुलाई पुरानै अवस्थामा फर्काउने जमर्कोमा रहेको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘केही विस्थापितले अस्थायी आवास पाइसकेका छन्, अब सबैलाई सुरक्षित आवास बनाउने काम धमाधम थालिँदै छ,’ उनले भने ।

प्रकाशित : असार ६, २०७९ ०६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×