कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अब ब्रोकरले कारोबार प्रणाली आफैं बनाउनुपर्ने

अनलाइन कारोबारका लागि ‘युजरनेम पासवर्ड’ दिएबापत ब्रोकरले हरेक लगानीकर्ताबाट वार्षिक १ सय रूपैयाँ शुल्क उठाउन पाउने 
यज्ञ बञ्जाडे

काठमाडौँ — अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ब्रोकरले आफैं बनाउनुपर्ने व्यवस्था असार १ देखि लागू हुने भएको छ ।

अब ब्रोकरले कारोबार प्रणाली आफैं बनाउनुपर्ने

टीएमएससम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनका लागि नेप्से सञ्चालक समितिले स्वीकृत गरेसँगै उक्त व्यवस्था लागु हुने भएको हो । नेप्से सञ्चालक समिति बैठकले सोमबार टीएमएससम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको स्रोतले बताएको छ । ‘बैठकमा टीएमएससम्बन्धी विनियमावलीमा भएको व्यवस्थामा केही कानुनी भाषा मिलाएर लागू गर्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः मंगलबारसम्म कार्यविधिमा केही कानुनी भाषा मिलाइसक्ने र बुधबार (असार १) देखि लागू गर्ने तयारी छ ।’

गत वैशाखमा धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५’ को संशोधित व्यवस्था पारित गरेर आवश्यक कार्यविधि निर्माण गरेर लागु गर्न नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नेप्सेले कार्यविधि निर्माण गरेको थियो । त्यही कार्यविधि सोमबार बिहान नेप्से सञ्चालक समितिको बैठकबाट पारित भएको हो । कार्यविधि पारित भएसँगै असारदेखि टीएमएससम्बन्धी नयाँ व्यवस्था लागू हुनेछ । यसअनुसार ब्रोकरले आफैं आफ्नो कारोबार प्रणाली निर्माण तथा व्यवस्थापन गर्नुपर्नेछ । उनीहरूले आफैं निर्माण नगरेर आउटसोर्सिङ पनि गर्न सक्छन् । तर, त्यसो गर्दा पनि अहिलेको जस्तो सामूहिक रूपमा व्यवस्थापन गर्न पाउने छैनन् । आउटसोर्सिङ गर्दा पनि कारोबार प्रणाली सञ्चालन तथा व्यवस्थापन गर्ने निकाय फरकफरक हुनुपर्नेछ । एउटै सेवा प्रदायक (भेन्डर) मार्फत आउटसोर्सिङ गर्दा पनि हरेक ब्रोकरका लागि फरकफरक कर्मचारीले कारोबार प्रणाली व्यवस्थापन गर्नुपर्ने व्यवस्था विनियमावलीमा छ । हाल ब्रोकरहरूले वाइको प्रालिमार्फत टीएमएस सिस्टम सामूहिक रूपमा व्यवस्थापन गर्दै आएका छन् । त्यो व्यवस्थापनका लागि वाइकोले निश्चित कर्मचारी छुट्याइदिएको छ । ती कर्मचारीमार्फत ५० वटै ब्रोकरको कारोबार प्रणाली व्यवस्थापन हुँदै आएको छ । टीएमएससम्बन्धी नीतिगत व्यवस्था लागू भएपछि एउटा व्यक्ति (कर्मचारी) ले एकभन्दा बढी ब्रोकरको कारोबार प्रणालीमा हेर्न नपाउने स्रोतले बताएको छ । ‘नेप्सेले तयार पारेको कार्यविधिमा पनि ब्रोकर आफैंले सूचना प्रविधिको जनशक्ति व्यवस्था गर्नुपर्नेछ,’ नेप्सेले तयार पारेको कार्यविधिमा भनिएको छ, ‘जसमा सिस्टम एन्ड नेटर्वक एडमिनिस्ट्रेसन/डाटाबेस एडमिनिस्ट्रेसन र एक जना सहायक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ ।’

हाल ब्रोकरहरूलाई नेप्सेले निःशुल्क रूपमा कारोबार प्रणाली (सफ्टवेयर) प्रदान गरिरहेको छ । त्यो सञ्चालनका लागि ब्रोकरहरूले हार्डवेयर जडान गरेर कारोबार प्रणाली निर्माण गरेका छन् । टीएमएससम्बन्धी नीतिगत व्यवस्था लागू भएपछि हाल नेप्सेबाट निःशुल्क रूपमा पाइरहेको सफ्टवेयरको पनि ब्रोकरले शुल्क तिर्नुपर्नेछ । ब्रोकरहरूले आफैं सिस्टम निर्माण गर्ने वा शुल्क तिरेर नेप्सेको सफ्टवेयर प्रयोग गर्ने वा अर्को भेन्डरमार्फत व्यवस्थापन गर्ने तीनवटै विकल्प उपलब्ध हुने बताइएको छ । असारदेखि नेप्सेको सिस्टम प्रयोग गर्ने ब्रोकरहरूले पनि तोकिएअनुसारको शुल्क भुक्तानी गरी एक महिनाभित्र सेवाका लागि नेप्सेसँग सम्झौता गर्नुपर्ने प्रावधान विनियमावलीमा छ ।

नेपालका ब्रोकरहरूले सेयर कारोबारका लागि नेप्सेबाट र राफसाफका लागि सीडीएसबाट लाइसेन्स पाएका छन् । यसकारण अहिले उनीहरूले दोहोरो भूमिका निर्वाह गरिरहेका छन् । अब उनीहरूले निर्माण गर्ने कारोबार प्रणालीमा ट्रेडिङ, क्लियरिङ र जोखिम व्यवस्थापन गरी तीन प्रकारका विशेषता हुनुपर्नेछ । यो कारोबार प्रणाली निर्माणका लागि हरेक ब्रोकरले सफ्टवेयर तथा हार्डवेयर निर्माणका लागि कम्तीमा एकदेखि सवा एक करोड रुपैयाँ आवश्यक पर्ने जानकारहरू बताउँछन् ।

टीएमएस र त्यससँगै एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) नीति जारी भएपछि हरेक ब्रोकरले छुट्टाछुट्टै डाटा सेन्टर राख्नुपर्ने व्यवस्था लागू हुने नेप्से स्रोतले बताएको छ । हाल ब्रोकरहरूले वाइको प्रालिमार्फत डाटा सेन्टर व्यवस्थापन गरिरहेका छन् । वाइकोले ५० वटा ब्रोकरलाई दुई समूहमा विभाजन गरेर सामूहिक रूपमा डाटा सेन्टर व्यवस्थापन गर्दै आएको छ ।

अब ब्रोकरले नेप्सेले सञ्चालनमा ल्याएको कारोबार व्यवस्थापन प्रणाली वा आफैंले छुट्टै कारोबार व्यवस्थापन प्रणाली स्थापना गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था छ । ‘कारोबार व्यवस्थापन प्रणाली एक दिनमा कम्तीमा ५ लाख आदेशको व्यवस्थापन गर्ने क्षमता रहेको हुनुपर्नेछ,’ विनियमावलीमा भनिएको छ, ‘यस्तो कारोबार व्यवस्थापन प्रणालीको क्षमता आवश्यकताअनुसार वृद्धि गर्न सकिने हुनुपर्नेछ ।’

स्वदेशी वा विदेशी राष्ट्रियस्तरको कम्तीमा कुनै एउटा स्टक एक्सचेन्जमा आबद्ध र कम्तीमा १० वटा कारोबार सदस्य वा स्टक ब्रोकरले कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेको हुनुपर्नेछ । यसअघि नेप्सेले संशोधन गरेर स्वीकृतिका लागि पठाएको प्रस्तावित विनियमावलीमा कम्तीमा कुनै ३ वटा स्टक एक्सचेन्जमा प्रयोग भइरहेको स्वदेशी वा विदेशी राष्ट्रियस्तरको हुनुपर्ने व्यवस्था थियो । ‘कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) विकासकर्ता कम्पनी कम्तीमा ५ वर्षको अनुभव भएको र उक्त कम्पनीको ३ वर्षको औसत वार्षिक कारोबार कम्तीमा ७ करोड रहेको हुनुपर्नेछ,’ विनियमावलीमा भनिएको छ, ‘प्रस्तावित विनियमावलीमा ३ वर्षको औसत कारोबार कम्तीमा ३० करोड रहेको हुनुपर्ने व्यवस्था थियो ।’

प्रकाशित : असार १, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?